वेबटिभी खबर
काठमाडौं । मेलम्ची नदीका बाढीपीडितको उद्धारमा खट्दै आएका २८ वर्षीय धर्म दुलालको सोमबार करेन्ट लगेर निधन भएको छ । नदीकाे कटानबाट हाइ भोल्टेज तार रहेको पोल ढल्दा करेन्ट लागेर मेलम्ची नगरपालिका-११ का दुलालको घटनास्थलमै निधन भएको हो ।
मंगलबार साँझदेखि मेलम्ची नदीमा आएको बाढीले घर जग्गा कटान गरेपछि बाँध बनाउन एक्साभेटर लिन गएका दुलाललाई बाटैमा पोल ढलेर करेन्ट लागेको हो । सोही नगरपालिका वडा नम्बर १० स्थित मेलम्ची नदीको बगरमा हिँडिराखेका दुलालको हातमा करेन्ट लागेको स्थानीयको भनाइ छ ।
‘विजुलीको पोल ढलेर उहाँलाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको खबर आएको छ,' जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले भने ।
स्थानीय बासिन्दासँग छलफल गरेपछि शव पोस्टमार्टमका लागि पठाइने प्रहरीले बताएको छ । उनी गत मंगलबार रातिदेखि नै बाढीपीडितको उद्धार र राहतलगायत काममा व्यस्त थिए । मेलम्ची बजारमा तरकारी पसल गर्दै आएका उनकी श्रीमती, एक छोरा र एक छोरी छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij