वेबटिभी खबर
चितवन । चितवनको भरतपुर महानगरपालिका-२९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।
महानगरपालिकाको ७१ लाखको लागतमा निर्माण भएको योजनाको सोमबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गरिन् । महानगरपालिकाका प्रमुख दाहालले सिँचाइ सुविधा पुगेपछि गाउँ हराभरा भएको बताइन् ।
उनले महानगरपालिकाले सिँचाइलाई प्राथमिकतामा राख्दै काम गर्दैआएको जनाइन् । ‘कृषि क्षेत्रलाई प्राथमिकतामा राखेका छौँ । सबै क्षेत्रमा सिँचाई सुविधा पुर्याउन महानगरपालिका लागिपरेको छ,’ प्रमुख दाहालले भनिन् ।
महानगरपालिकाले भूमिगत सिँचाइलाई पनि प्राथमिकता दिइरहेको छ । पाँच वर्षको अवधिमा विभिन्न अयोजनामार्फत समन्वय गरेर सात हजार बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरिएको प्रमुख दाहालले बताइन् ।
उक्त आयोजनाका इन्जिनियर विजयराज न्यौपानेले सिँचाइ योजनामार्फत जुगेडी, लामा गाउँ, सिमलडाँडा, नेवार गाउँ, चेपाङ टोलदेखि चौतारासम्मका नागरिक लाभान्वित भएको जानकारी दिए ।
मुख्य पाइप लाईन विस्तारमा ४३ लाख, ट्यांकी निर्माणमा २० लाख र शाखा पाइपलाईन विस्तारमा आठ लाख खर्च भएको छ । आयोजनाको काम २०७८ सालदेखि सुरु भएको हो। भार्लाङका चित्रबहादुर गुरुङ सिँचाइ सुविधा पुगेपछि व्यवसायीकरुपमा कृषि कर्म थालिएकोले बताए ।
उनी आफैँ पनि व्यावसायिक रुपमा तरकारी खेती गर्न थालेका छन । विगतमा जेततेन दुई कठ्ठामा मात्र धान रोप्दै आएका गुरुङले अहिले नौँ कठ्ठामा रोपेका छन ।
‘सिँचाईको अभाव थियो । यहाँ कोदो, मकै, गहत, मास मात्र उब्जनी हुन्थ्यो,’ गुरुङले भने, ‘अहिले मकै भाँचेर धान रोपेको छु । धान काटेपछि तरकारी खेती गर्ने योजना छ ।’
सिँचाइ कुलो नहुँदा हिँउदे खेती लगाउन नपाएर पुरै जमिन बाँझो राख्नुपर्ने बाध्यताको अन्त्य भएको स्थानीय भार्लाङ टोल विकास संस्थाका अध्यक्ष मिलन श्रेष्ठले बताए ।
‘मकै, कोदो लगाउँथ्यौँ । तरकारी र धान रोप्न पानी नहुने, संस्थाका अध्यक्ष श्रेष्ठले भने, ‘यस वर्ष आठ कठ्ठामा धानसमेत रोपेको छु । अहिलेसम्म राम्रो देखिएको छ ।’
उनले तरकारी खेतीकोसमेत विस्तार गर्ने योजना रहेको सुनाए । भरतपुर महानगरपालिकाको सहयोगमा करिब तीन किलोमिटर दुरीमा रहेको भार्लाङ खोलाबाट बस्तीमा सिँचाइका लागि पानी ल्याइएको छ ।
खोलाको पानी ट्यांकीमा संकलन हुन्छ । ट्याङकीको क्षमता डेढ लाख लिटरको छ । त्यहाँबाट पाईमार्फत किसानको खेत खेतमा पानी पुर्याइएको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
भरतपुर-२९ का वडा सदस्य डिल कुमार श्रेष्ठले कोदो र मकै मात्र हुने गाउँमा सिचाइँको सुविधापछि धान र बाह्रै मास तरकारी फल्ने गरेको बताए । उनले हरेक महिना गाउँघर हरियाली भएको भन्दै सबै स्थानिय व्यवासायिक रुपमा तरकारी खेतीमा लागेको जानकारी दिए ।
भरतपुर-२९ का वडाध्यक्ष सूर्यबहादुर गुरुङले भैगोलिक रुपमा विकट रहेको वडालाई कृषि र पर्यटन मार्फत संमृद्ध बनाइने बताए । उनले आवश्यकताका आधारमा वडाका अन्य क्षेत्रमा पनि सिचाइँ सुविधा पुर्याउने प्रतिबद्धता जनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij