वेबटिभी खबर
धुलिखेल । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गरिने मूल्यांकनमा यहाँका पालिकामध्ये पहिलो हुन सफल चार पालिकालाई सम्मान गरेको छ ।
समन्वय समितिको सातौँ जिल्ला सभाको अवसरमा गाउँपालिकाको तर्फबाट महाभारत र खानीखोला गाउँपालिका तथा नगरपालिकाको तर्फबाट धुलिखेल र बनेपा नगरपालिकालाई सम्मानपत्रद्वारा सम्मान गरिएको हो ।
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा आर्थिक वर्ष २०७८/०७९ को नतिजामा जिल्लाका गाउँपालिकामध्य डाँडापारिस्थित महाभारत गाउँपालिका प्रथम र नगरपालिकामध्येमा धुलिखेल नगरपालिका प्रथम भएका थिए ।
त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तयार पारिएको स्थानीय तह संस्थागत क्षमता मूल्यांकनमा आव २०७८/०७९ मा गाउँपालिकामा डाँडापारिस्थित खानीखोला गाउँपालिका र नगरपालिकामा बनेपा नगरपालिका प्रथम भएका थिए ।
सम्मानप्राप्त गर्ने पालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको टोलीलाई अर्थमन्त्री डा.प्रकाशशरण महतले संयुक्तरुपमा सम्मानपत्र प्रदान गरेका हुन् । जिल्लामा छ वटा नगरपालिका र सात वटा गाउँपालिका छन् ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जिल्ला समन्वय समितिले सम्मान गरेर जनसेवाको काममा थप ऊर्जा मिलेको बताए ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सातौँ जिल्लासभामा आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
जसमा जिल्ला समन्वय समितिबाट आव २०७९/८० मा सम्पादित १८ बुँदे महत्वपूर्ण कार्य, आव २०८०/८१ को लागि ५५ वटा प्रस्ताविक नीति कार्यक्रमका साथै २०७८/७९ को वित्तीय प्रगतिलगायतका प्रतिवेदन पेस गरेका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij