वेबटिभी खबर
त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गेखोलामा पुल निर्माण अलपत्र परेको छ ।
तीन वर्षदेखि उक्त पुलको काम अलपत्र अवस्थामा छ । कावासोती नगरपालिका-३ र ४ लाई जोड्ने गरी केरुङ्गेखोलामा निर्माणाधीन पुल अलपत्र परेको हो ।
विसं २०७७ असारसम्ममा पुल निर्माण सम्पन्न गर्नुपर्नेमा यसै अलपत्र पारी ठेकेदार सम्पर्कविहीन भएपछि समस्या भएको कावासोती -४ का वडाध्यक्ष नारायणप्रसाद लोहनीले बताए ।
पुल काम विसं २०७५ मा सुरु भएको थियो । पुलको केही भाग निर्माण सकिएको छ । बीच खण्डमा ढलानको काम बाँकी रहेको छ । आफूले पटक-पटक फोन गर्दा ठेकेदार सम्पर्कमा नआएको र कामसमेत अघि नबढाएको उनले बताए ।
उनले भने, ‘वडा, पालिकास्तरबाट पटक-पटक ताकेता गर्यौँ तर निर्माणको काम अघि बढाउन ठेकेदारले आलटाल गर्दै आएको छ ।’
पुल निर्माण नहुँदा पानी पर्ने बित्तिकै आवतजावतमा समस्या हुने गरेको उनले बताए एक सय ४० मिटर लम्बाइको पुल करिब १० करोड ५० लाखमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएको थियो । तर पटक-पटक म्याद थप गर्दासमेत निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।
पछिल्लोपटक विसं २०८० असारसम्म पुल निर्माण गर्ने गरी म्याद थप गरिएको थियो । यस अवधिमा समेत काम नसकेपछि पुलको काम झनै अन्योल अवस्थामा पुगेको वडाध्यक्ष लोहनीले बताए ।
कावासोती ३ र ४ लाई जोड्ने मात्रै नभएर हुप्सेकोट गाउँपालिकालाई सहजरूपमा सदरमुकाम कावासोती आउने सडकखण्डको पुलसमेत भएकाले यसको निर्माणमा ढिलाइ हुँदा जनताले धेरै सास्ती खेप्नुपरेको उनको भनाइ छ ।
निर्माणधीन पुल अलपत्र पारेर ठेकेदार बेपत्ता भएपछि कावासोती नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नवलपुरलाई पत्राचार गरी ठेकेदारलाई झिकाई आवश्यक कारबाही र निर्माणको काम अघि बढाउन यसअघि पत्राचारसमेत गरेको थियो ।
गत असारमा निर्माण कम्पनीले असारभित्र ढलान गरी काम सक्ने प्रतिबद्धतासमेत जनाएकामा सो समयमा कुनै काम नगरी अहिलेसम्म अलपत्र पारेको वडाध्यक्ष लोहनीले बताए ।
सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजेन्द्र महर्जनका अनुसार पुल निर्माणको म्याद सकिएकाले केन्द्रबाट म्याद थप भएमा काम अघि बढ्ने जानकारी दिए ।
नियमित प्रक्रियामा पुलको म्याद थप नहुने र पुराना ठेक्काको म्याद थप गर्ने मन्त्रिपरिषद्को निर्णय आएमात्र म्याद थप हुने उनले बताए ।
विकल्पमा सोही ठेकेदारबाट काम गराउनका लागि १० प्रतिशत क्षतिपूर्ति तिराएर काम लगाउन सकिने उनको भनाइ छ ।
उनले भने, ‘पुल निर्माण यसअघि नै सक्नुपर्नेमा ढिलो भयो, म्याद थप भएको छैन, केन्द्र सरकारले म्याद थप गरेमात्रै काम अघि बढ्ने हो वा क्षतिपूर्ति तिरेर काम गर्न सक्छ । अब वर्षा पनि कम हुन लागेको छ, ठेकेदारलाई चिठ्ठी काट्नुपर्ला ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij