वेबटिभी खबर
चितवन । चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा सोमबार महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएपछि थप उपचारका लागि आइतबार मेडिकल कलेजमा भर्ना भएको उनले बताए । सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
जिल्लामा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । ६ सय ९५ जनाको परीक्षण गर्दा ६७ मा स्क्रब टाइफस पुष्टि भएको सूचना अधिकारी केसीले जानकारी दिए । केसीका अनुसार संक्रमितमध्ये २५ जना चितवनका छन् भने बाँकी अन्य जिल्लाका छन् ।
‘यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाइबाट मान्छेमा सर्दछ,’ केसीले भने, ‘माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट मानिसमा यो रोग लाग्ने गर्दछ ।’
यो जिवाणु झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडी वा घुरानमा बढी देखिने केसीको भनाइ थियो । उनका अनुसार यो रोग मानिसबाट मानिसमा सर्दैन ।
कस्तो हुन्छ रोगको लक्षण ?
स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, शरीरका मुख्य अङ्गहरुले काम गर्न छाड्नुलगायत लक्षण देखिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी केसीले बताए । संक्रमण भएका बिरामीको समयमा उपचार नगराएमा श्वासप्रश्वासमा समस्या आई सिकिस्त हुने उनले बताए ।
यसको संक्रमणबाट बच्नका लागि खेतबारीमा काम गर्दा वा वनजङ्गल तथा झाडीमा जाँदा लामो कपडा लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री/दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्नेलगायत कार्य गर्नुपर्ने केसीले सुझाव दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij