Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

आलु भण्डारणको क्षमता नहुँदा किसानलाई समस्या

आलु भण्डारणको क्षमता नहुँदा किसानलाई समस्या

  • 189
    SHARES
  • आलु भण्डारणको क्षमता नहुँदा किसानलाई समस्या

    बाग्लुङ । पछिल्लो समय बाग्लुङमा आलु उत्पादनमा वृद्धि भएको छ । उत्पादन वृद्धि भए पनि आलु पर्याप्त मात्रामा भण्डारण गर्ने सुविधा नहुँदा किसान समस्या भएको छ ।

    भण्डारणको सुविधा नहुँदा यहाँका किसानले बारीबाटै आलु बेच्ने गरेका छन । विशेषगरी ताराखोला र ढोरपाटनका किसानले भण्डारण गर्न आलु सस्तोमै बिक्री गर्नुपरिरहेको छ ।

    ‘आलु पर्याप्त मात्रामा फल्छ, तर राख्ने ठाउँ छैन’, ढोरपाटन नगरपालिका-८ की थमसरा विकले भनिन्, ‘बारीबाटै बेच्दा सस्तोमा दिनुपर्छ ।’ भण्डारणको सुविधा भएको भए आलु बिक्री गरी दोब्बर फाइदा लिन सकिने उनले बताइन् ।

    ढोरपाटनकै इन्द्रबहादुर सुनारले पनि वर्षको ५० क्विन्टल आलु बेच्ने गरेको बताए । भदौ अन्तिम सातादेखि उनीहरुले आलु खन्ने गर्छन् । सडकको पहुँच नभएकाले बजारमा आलु पठाउन नसक्दा कुहिने गरेको सुनारले गुनासो गरे ।

    भण्डारण अभावमा वर्षातमै आलु बेच्नुपर्ने बाध्यता छ । ढोरपाटनको पाटक क्षेत्रमा सयौँ क्विन्टल आलु उत्पादन हुने गरेको छ । तर बजारीकरणमा समस्या भएको किसानको गुनासो छ ।

    कृषि ज्ञान केन्द्र बागलुङको तथ्यांकअनुसार जिल्लाभर तीन हजार ५० हेक्टरमा आलु खेती गरिन्छ । सो जग्गामा ५४ हजार आठ सय १० मेट्रिक टन आलु फलेको तथ्यांक छ ।

    जिल्लामा आलुको बीउ पर्याप्त मात्रामा भण्डारण गर्न समस्या छ । गत आर्थिक वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई बीउ भण्डार बनाउन सहयोग गरेको छ ।

    परियोजनाको बाग्लुङ कार्यालयका प्रमुख सुजित पौडेलका अनुसार चार लाख अनुदान सहयोगमा किसानले सात लाखमा भवन बनाएका थिए ।

    ढोरपाटन-९ को नवी र फलेघरमा १३ मेट्रिक टन आलु भण्डारण गर्न सकिने गरी भवन निर्माण गरिएको छ । रुद्रताल कृषि समूह र नवी कृषि समूहका किसानले श्रमदान गरी भवन निर्माण गरेका हुन ।

    परियोजनाले ताराखोलामा २१ लाख तथा स्थानीयवासीको चार लाखमा शीत भण्डार केन्द्र निर्माण गरी आलु राख्न थालेका स्थानीय ओमप्रसाद कँडेलले बताए । परियोजनाले निसीखोला र निसेल ढोरमा १०/१० मेट्रिक टन क्षमताका तीन बीउ भण्डार केन्द्र निर्माण गरेको छ ।

    त्यसबाहेक गण्डकी प्रदेश सरकारको सहयोगमा काठेखोलामा ५० मेट्रिक टनको आलु भण्डार केन्द्र तथा बाग्लुङ नगरपालिका र जैमिनी नगरपालिकामा ५०/५० मेट्रिकटन क्षमताका दुई भण्डारण केन्द्र निर्माण गरिएका छन ।

    गलकोटमा भने स्याउलगायत फलफूलसमेत भण्डारण गर्ने गरी स्थानीय व्यवसायीले दुई सय मेट्रिक टन क्षमताको भवन निर्माण गरेका छन ।

    गलकोट नगरपालिका-३ मा सिद्धभैरव समूहले दुई करोड लगानीमा एक सय मेट्रिकटन क्षमतको शीत भण्डारण केन्द्र तथा एक सय मेट्रिक टन क्षमताको भवन निर्माण गरेको छ। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij