Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

  • 564
    SHARES
  • पहिरोले मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

    सिन्धुपाल्चोक । गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ ।

    अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार मंगलबार आयोजनाका डिभिजनल इन्जिनीयर लगायतको टोली चनौटेबाट झण्डै सातआठ घण्टा पैदल हिँडेर गएको थियो । त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ ।

    निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ । त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ ।  निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताए  । 

    निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने प्रवक्ता पन्तले बताए । उनका अनुसार त्यहाँको मर्मत र बाँकी काम सम्पन्न गर्न खानेपानी मन्त्रालयले सहजीकरण गरिरहेको छ ।

    प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायमा निर्देशन भएमा तत्काल बेलिब्रिज राखेर काम अघि बढाउन सकिन्छ । आयोजनाले त्यहाँका पालिकाहरू र वडासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ । 

    मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवा पसेकाले तत्काल त्यो सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ । सुरुङको परीक्षणका लागि पहिले प्रवेशमार्ग (सडक) बनाउन आवश्यक रहेको उनले बताए । आयोजनाको सुन्दरीजलमा रहेका संरचनामा कुनै क्षति पुगेको छैन भने अम्बाथानमा समस्या रहेको छ । अडिट सुरुङ टालिएकामा त्यो सफा गर्न प्रवेशमार्ग र पुल आवश्यक छ । 

    सुरुङको परीक्षण सम्पन्न गरेर पहिले जसरी नै वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने सूचना अधिकारी पन्तले बताए । त्यसका लागि पनि अम्बाथानको अडिट सुरुङ खोल्नुपर्छ । अडिट सुरुङमा रहेको अवरोध हटाएपछि मुख्य सुरुङ चलाउन सकिन्छ । हेडवर्कमा कति क्षति भएको छ र सुधार गर्न कति समय लाग्छ त्यसैका आधारमा काठमाडौंमा कहिलेसम्म पानी आउने भन्ने निर्धारण हुने देखिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij