Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

अर्थतन्त्र सुधारका लागि हाम्रा प्रयास पर्याप्त छैनन् : प्रधानमन्त्री दाहाल

अर्थतन्त्र सुधारका लागि हाम्रा प्रयास पर्याप्त छैनन् : प्रधानमन्त्री दाहाल

  • 462
    SHARES
  • अर्थतन्त्र सुधारका लागि हाम्रा प्रयास पर्याप्त छैनन् : प्रधानमन्त्री दाहाल

    काठमाडौ‌ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि अहिले भइरहेका प्रयास पर्याप्त नरहेको र तत्काल थप सुधारका काम नगरे अर्थतन्त्रमा गम्भीर स‌कटको स्थिति देखिने बताएका छन् ।

    नेपाल उद्योग परिसंघले आज यहाँ आयोजना गरेको ‘प्रेसिडेन्टस् ब्यान्क्वेट’ कार्यक्रममा उनले बिग्रिएको अर्थतन्त्र लयमा फर्काउन सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुधारका प्रयास थालेको भए पनि त्यो पर्याप्त नरहेको र कार्यान्वनमा पनि लक्षित उपलब्धी हासिल हुन नसकेको बताए ।

    अर्थतन्त्रको सुधारका लागि हाम्रा प्रयास पर्याप्त छैनन् । उनले भने, ‘यसलाई तत्काल सुधार गर्न सकिएन भने हामी गम्भीर संकटमा जान्छौँ । सरकारको पहिलो लक्ष्य आर्थिक रुपान्तरण हो । आर्थिक समृद्धि हासिल गर्नका सबैले आ-आफ्नो क्षेत्रबाट लाग्न सरकार निजीक्षेत्रलगायत सबै पक्षसँग आग्रह गर्दछ ।’

    आर्थिक विकासबाट मुलुकलाई समृद्ध हुँदै बलियो राष्ट्रको रूपमा अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको प्रधानमन्त्री दाहालले बताए ।

    निजी क्षेत्रको सहयोगमा औद्योगिकरण, उत्पादन वृद्धि, स्वदेशी वस्तु तथा सेवाहरूको गुणस्तर वृद्धि तथा निर्यात प्रवर्द्धन गर्दै अर्थतन्त्रको सवलीकरण हुने विश्वास सरकारले लिएको उनको भनाइ छ ।

    निजी क्षेत्रको सहकार्यबाटै आर्थिक समृद्धि हासिल गर्न सकिने पनि उनले स्पष्ट पारे । उनले भने, ‘निजी क्षेत्रसँगको सहकार्यबाट नै दीगो विकास हासिल गर्न सकिन्छ भन्नेमा म स्पष्ट छु । यसका लागि वर्तमान सरकार निजी क्षेत्रसँग प्रभावकारी रूपमा सहकार्य गर्दै आएको छ र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।’

    अर्थतन्त्रको सुधारका लागि सरकार गम्भीर रहेको र सबैपक्षबाट त्यसमा योगदान आवश्यक रहने उनले बताए ।

    उनले भने, ‘अर्थतन्त्रलाई हामीले नै सुधार गर्नुपर्छ । यो काम सरकार एक्लैले गर्न सक्दैन । निजी क्षेत्रलाई समेत सहकार्य गर्न आग्रह गर्दछु । सरकार निजी क्षेत्रको साथमा छ । अर्थतन्त्र सुधारका लागि सरकारले सकारात्मक हस्तक्षेप गरेको छ, गर्दछ । कत्ति पनि विचलित नभई अगाडि बढ्न म निजी क्षेत्रलाई आह्वान गर्दछु ।’

    सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत अर्थतन्त्रको सवलीकरणका लागि सुधारात्मक कदमहरूको सुरुआत गरेको पनि बताए ।

    कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले अहिले बजार माग घटेको र समग्र अर्थतन्त्रमा मन्दीको अवस्था देखिएको बताए ।

    उनले भने, ‘उच्च ब्याजदर, नगद प्रवाहमा भएको समस्या, उत्पादनमा कमी, लगानीको योजना स्थगनजस्ता समस्या अर्थतन्त्रमा छन् । समग्र बजार मागमा कमी आएको छ । सोही कारण अर्थतन्त्र मन्दीमा छ । निजी क्षेत्रको मनोबल घट्दो छ ।’

    अवैध व्यापार स्वदेशी उद्योग र सरकारका लागिसमेत खतराको कारक बनिरहेको उनको भनाइ छ ।

    उनले भने, ‘अवैध व्यापारका कारण एकातिर राज्यले राजस्व गुमाइरहेको छ भने अर्कोतिर स्वदेशी उद्योगहरू प्रभावित भइरहेका छन् । नक्कली तथा अवैध पैठारीलाई नियन्त्रण तथा निरुत्साहन गर्न आयातित मालवस्तुको प्याकेजिङमा आयातकर्ता र बजार वितरकको लेबल लगाएर मात्र बजारमा पठाउने व्यवस्था भए पनि त्यसको कार्यान्वयन हुन सकिरहेको छैन् ।’

    बजारमा देखिएको अहिलेकै अवस्था कायम रहने हो भने देशमा आर्थिक गतिहिनता गहिरिने र आर्थिक वृद्धिमा ठूलो संकचन आउने पनि उनको भनाइ छ ।

    बजार माग बढाउन तथा आर्थिक गतिविधिमा वृद्धि ल्याउन सरकार र नेपाल राष्ट्र बैंकबाट वित्तीय तथा मौद्रिक प्रोत्साहनका लागि नीतिगत हस्तक्षेप गर्न जरुरी रहेको अग्रवालले बताए ।

    अहिले उपभोक्ताको क्रयशक्ति घटेको र उपभोगमा कमि आएको उनको भनाइ छ । सुधारका लागि तत्काल प्रभावकारी कदम नचाल्ने हो भने अर्थतन्त्र केही समयभित्रै चरम मन्दीको अवस्थामा जाने पनि उनले दावी गरे ।

    आर्थिक सुधारका लागि मौद्रिक, वित्तीय र संरचनात्मक नीतिहरूमा तत्काल सुधार आवश्यक रहेको अग्रवालले उल्लेख गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij