वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका स्थायी समिति सदस्य गोकुल बास्कोटाले विपक्षी गठबन्धनका नेताहरू यथोचित एजेन्डाबिनै सडकमा निस्किएको आरोप लगाएका छन् ।
हिजो लोकतन्त्रका लागि सडक संघर्ष गरेका नेताहरू वर्तमान अवस्थामा सर्वोच्च अदालतबाट सरकार बनाउने निर्दलीय बाटोमा लागिपरेको बास्कोटोको दाबी छ ।
‘विपक्षी सडकमा तर किन ? हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुनर्स्थापनाका लागि सडकमा हो ?,’ पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले ट्वीटमा लेखेका छन् ।
आफ्नै दलको प्रधानमन्त्रीलाई विश्वासको मत नदिने हो भने एमालेकै टिकटमा सांसद बनेकाहरूले विपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा उठाउनु पनि विधिसंगत नरहेको बास्कोटाले बताएका छन् ।
‘संविधानको धारा ७६ को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको सम्बन्धै रहेन । त्यसो हो भने विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तनतर्फ लाग्यो,’ बास्कोटाले भनेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij