Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पोखरा विमानस्थलका बारेमा चीनसँग उच्चस्तरीय छलफल हुन्छ : पर्यटमन्त्री किराती

पोखरा विमानस्थलका बारेमा चीनसँग उच्चस्तरीय छलफल हुन्छ : पर्यटमन्त्री किराती

  • 188
    SHARES
  • पोखरा विमानस्थलका बारेमा चीनसँग उच्चस्तरीय छलफल हुन्छ : पर्यटमन्त्री किराती

    कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित गर्नेबारेमा मित्रराष्ट्र चीनसँग उच्चस्तरीय छलफल हुने बताएका छन ।

    पोखरामा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को आजदेखि सुरु भएको चीन भ्रमणका क्रममा चिनियाँ पक्षसँग पोखरा विमानस्थलमा चीनका विभिन्न शहरबाट नियमित उडान गर्ने विषयमा छलफल हुने बताएका हुन ।

    मन्त्री किरातीले चीन र भूटानबाट पोखरा विमानस्थलमा भएको चार्टर उडानले व्यावसायिक सञ्चालनको सन्देश विश्वभर गएको बताउँदै पोखरामा नियमित उडान गर्न भारतसँग पनि छलफल भइरहेको जानकारी दिए ।

    ‘पोखरामा दुई वटा चार्टर विमान उडाएका छौँ, यसबाट पोखरा विमानस्थलमा व्यावसायिक उडान सञ्चालनको सन्देश गएको छ’, मन्त्री किरातीले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमणमा यसका बारेमा गम्भीरतापूर्वक छलफल हुन्छ । चीनका विभिन्न शहरबाट काठमाडौं आउने जहाजलाई पोखरा डाइभर्ट गर्ने विषयमा छलफल भइरहेको छ ।’

    मन्त्री किरातीले पोखरा र भैरहवा विमानस्थललाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने योजना रहेको जानकारी दिए । उनले आफ्नो सात महिनाको कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएको उल्लेख गरे ।

    वायुसेवा निगमका क्षेत्रमा जहाज खरिद गर्ने, पशुपतिमा निःशुल्क शवदाहको व्यवस्था र नागरिक उड्डयनका क्षेत्रमा नेपालको आकासलाई कालोसूचीबाट हटाउने अन्तिम कोशिस लगायतका मध्यमस्तरको परिणाम दिने काम भएको मन्त्री किरातीले बताए ।

    मन्त्रालयले नयाँ पर्यटन ऐनका लागि मस्यौदा समिति बनाएको र जनताबाट सुझाव माग गरिएको उनले जानकारी दिए । संस्कृति ऐन निर्माणका लागि समिति गठन गरिएको र सो समितिको दिशानिर्देशअनुसार पहिलो पटक कानुन निर्माण गरिने मन्त्री किरातीको भनाइ थियो ।

    मन्त्री किरातीले दुर्गम क्षेत्रमा सेवा दिने गरी स्टल रुटको साना आकारका तीनबाट जहाज गरिद गर्न लागिएको बताए ।

    ‘अहिले पनि २२ विमानस्थल खाली छन् । तीनको व्यावसायिक सञ्चालनका लागि साना जहाज चाहिन्छ । तीन वटा जहाज किनेपछि हामीसँग छ जहाज हुन्छन्’, मन्त्री किरातीले भने, ‘यसबाट खाली रहेका विमानस्थल सञ्चालन गर्न सकिन्छ । विमानस्थल सञ्चालन भएका नागरिकले सेवा पाउँछन् ।’

    सरकारले अन्तर्राष्ट्रियस्तरमा उडान भर्ने गरी ‘न्यारो बडी’ जहाज खरिदको योजना गरिरहेको पनि मन्त्री किरातीले जानकारी दिए ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij