वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आफूपक्षीय नेताहरूसँग छलफल गर्दै छन् । शुक्रबार दिउँसो २ बसुन्धरास्थित दियालो फुडल्याण्डमा पौडेलपक्षीय केन्द्रीय सदस्यहरूको बैठक बस्न लागेको हो । सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएपछि पौडेलले पनि बैठक बोलाएका हुन् ।
उनीहरुको सक्रियतापछि पौडेल पक्षमा पनि १४ औं महाधिवेशनको नेतृत्वको विषय टुंगो लगाउन बैठक राख्न पौडेललाई नेताहरूले दबाव दिएका थिए । पौडेल पक्षका आधा दर्जन नेताले सभापतिको आकांक्षी देखिएका छन् । वरिष्ठ नेता पौडेलसहित महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापतिमा उठ्ने बताइरहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij