वेबटिभी खबर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले कोरोनाको तेस्रो लहरको जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहन निर्देशन दिए का छन् ।
शुक्रबार स्वास्थ्य मन्त्रालय पुगेर जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले केही देशमा कोरोनाको तेस्रो लहरको संकेत देखापरेको भन्दै नेपालमा पनि सम्भावित तेस्रो लहरको जोखिम न्युनीकरणका लागि तयारी अवस्थामा रहन सरोकारवाला निकायलाई निर्देशन दिए ।
मन्त्री श्रेष्ठले कोरोनाको लहरले बालबालिकामा जोखिम देखिन सक्ने भएकाले त्यसको पूर्व तयारी गर्नुपर्ने बताए । ‘म काम र परिणामा विश्वास गर्छु । अहिले नागरिकलाई कोरोना खोप दिनुपर्ने ठूलो जिम्मेवारी हाम्रोसामु छ । यसका लागि सरकार गम्भीर भएर अघि बढेको छ,’ मन्त्री श्रेष्ठले भने ।
उनले कोभिड संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ताको लागि पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी दिएपछि उनले शुक्रबार स्वास्थ्य मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् ।
मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयसँगै वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समेत जिम्मेवारी पाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij