वेबटिभी खबर
काठमाडौं । चाडवाडका समयमा काठमाडौं उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ नारासहित थालिएको सुरक्षा निगरानीका क्रममा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट गस्ती गर्ने तयारी गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।
उनले भने, ‘वडादसैँ, तिहार, नेपाल सम्वत र छठका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रुपमा अभियान थाल्दै छन् ।’
यस्तै बैंक, वित्तीय संस्था तथा नगद र गरगहनाको कारोबार हुने स्थानमा सादा पोशाकमा सुरक्षाकर्मी खटाइने तथा यात्रुलाई सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाका विभिन्न १५ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गरिने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बताए ।
उक्त कार्यका लागि पाँच हजार आठ सय ३३ प्रहरी तथा एक हजार आठ सय ट्राफिक प्रहरी परिचालिन गरिने उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij