वेबटिभी खबर
सर्लाही । दशैँको उल्लासमा रमाउनु पर्ने बेला सर्लाहीका किसान भने उखुको भुक्तानी नपाएको भन्दै सडकमा उत्रन बाध्य भएका छन् ।
सरकारले किसानलाई अनुदान वापत दिनुपर्ने रकम नदिएपछि उनीहरु विरोधमा सडक आन्दोलनमा उत्रिन लागेका हुन् ।
किसान सम्बद्ध सात वटा संगठनको संयुक्त आयोजनामा शुक्रबार पूर्व पश्चिम राजमार्गको हरिवनमा सडक आन्दोलनको आह्वान गरेका हुन् । शुक्रबार बिहान ११ बजेदेखि आफ्नो पीडा पोख्न सडकमा उत्रिन लागेको किसानहरुले जनाएका छन् । सरकारले समयमै भुक्तानी नदिँदा दशैँका बेला किसानहरू सडक जाम गर्ने अप्रिय निर्णयमा पुग्ने अवस्था सृजना भएकाे हाे ।

किसानहरूले अनुदान वापत प्रति क्विन्टल ७० रुपैयाँका दरले पाउनु पर्ने रकम दशैँ अघि नै भुक्तानी दिन माग गर्दै प्रधानमन्त्रीलाई मागपत्र बुझाएका थिए । उक्त मागपत्रमा सुनवाइ नभएपछि किसानले सडक आन्दोलन गर्न थालेका हुन् । किसानले बुझाएको मागपत्रमा दशैँ अघि भुक्तानी नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका थिए ।
उखु किसानको आन्दोलन कडा हुने गरेको छ । उखु खेती गर्ने किसान निकै धेरे भएकाले यो आन्दोलनलाई दबाउन कठिन हुने गरेको विगत छ । किसान आन्दोलनका कारण कर्फ्यु समेत लगाउनु परेको इतिहास रहेकाले कुनै क्षति हुनु अघि नै माग पुरा गर्न किसानहरूले अनुरोध गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij