भोजपुर । भोजपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गरिएको छ । निर्माण कार्य पूरा भएसँगै जिल्ला समन्वय समितिलाई चाबी हस्तान्तरण गरिएको छ ।
सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाका इन्जिनियर शिवकुमार शाहले जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईलाई बुधबार रंगशालाको चाबी हस्तान्तरण गरेका हुन ।
रंगशालाको चाबी बुझ्दै प्रमुख राईले भने, ‘खेल मैदान नहुँदा खेलाडीमा निराशा छाएको थियो, अब रंगशाला बनेको छ, यसको संरक्षण र सम्बर्दधन गर्दे ठूला प्रतियोगितासमेत सञ्चालन गर्न सकिन्छ ।’ रंगशालाको संरक्षणका लागि कार्यालयले सम्बन्धित निकायसँग समन्वय गर्ने बताए ।
तत्कालीन जिल्ला विकास समितिले रंगशाला निर्माणका लागि २०६४ सालमा जग्गा खरिद गरेको थियो । सहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले हेर्ने गरी प्रदेश सरकारको १४ करोड लगानीमा रंगशाला निर्माण भएको हो ।
रंगशालाको निर्माणको जिम्मा रायमाझी मार्सेली निर्माण जेभीले पाएको थियो । सुविधा सम्पन्न रंगशाला बनेपछि स्वामित्व कसले लिएर सञ्चालन गर्ने भन्ने समस्या पनि समाधान भएकाले अब खेलकुद प्रतियोगिता सञ्चालन गर्न पाइने भोजपुर जिल्ला फुटबल संघका महासचिव तुफान किरातले बताए ।
महासचिव किरातले भने, ‘प्रदेश सरकारको लगानीमा बनेको रंगशाला प्रयोगमा ल्याउने विषयमा टुंगो लाग्न सकेको थिएन, सम्बन्धित कार्यालयले निर्माण पश्चात समन्वय समितिलाई स्वामित्व हस्तान्तरण गरेको छ, प्रतियोगिता सञ्चालनका लागि अब सहज भयो ।’
करिब पाँच हजार दर्शक अट्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले भोजपुरवासी तथा खेलाडीमा उत्साह जगाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए ।
उनले निर्माण कार्य सकिएर चाबीसमेत हस्तान्तरण भएकाले सानो मैदानमा खेलकुद प्रतियोगिता गराउनुपर्ने बाध्यताको समेत अन्त्य भएको जनाए । सुविधा सम्पन्न रंगशालाको अभावमा सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा प्रतियोगिता सञ्चालन गर्नुपर्ने बाध्यता रहँदै आएको थियो ।
नेपाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सफल अल्ट्रा धाविका मीरा राई, ब्याडमिन्टन खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायत विभिन्न खेलका खेलाडी भोजपुरबाट उत्पादन भएका थिए ।