वेबटिभी खबर
खोटाङ । दशैँतिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट एक करोड ७५ लाख बढीको खसी काठमाडौं निर्यात भएको छ ।
खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले ८७५ खसी काठमाडौं पुर्याएका छन् ।
एउटा खसीको सरदर मूल्य २० हजार मान्दा १ करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिए ।
खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर-घरमा पुगेका थिए । दशैँतिहारका अवसरमा घरैमा खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले रु पाँच-छ लाखसम्म हात पारेका छन् ।
कतिपय किसानले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन् । किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठवटा ट्रक र दुईवटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए । उनीहरूले खसीलाई धाप्लाङघाटसम्म हिँडाएर पुर्याएका थिए ।
कतिपय खसी यही कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाडौं पुर्याएको पशु सेवा शाखा प्रमुख बञ्जराले जानकारी दिए ।
कतिपय किसानले आफैँ उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन् । दश स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दशैँतिहारका अवसरमा करोडौँं मूल्य बराबरको खसी निर्यात भएको बाख्रापालन व्यवसायी संघ खोटाङले जनाएको छ ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानको संख्या बढ्दै गएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij