Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

रामलीला मञ्चनले नेपालगञ्जको रौनकता बढ्यो

रामलीला मञ्चनले नेपालगञ्जको रौनकता बढ्यो

  • 134
    SHARES
  • रामलीला मञ्चनले नेपालगञ्जको रौनकता बढ्यो

    बाँके । नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलीला मञ्चनले यहाँको रौनकता बढाएको छ ।

    विजयादशमीका अवसरमा नेपालगञ्जको रामलीला मैदानमा घटस्थापनाको दिनदेखि एक सय ५६औँ संस्करणअन्तर्गत नाटक मञ्चन सुरु भएको हो ।

    नेपालगञ्जको रामलीला मैदानमा रातिको समयमा मानिसहरुको निकै चहलपहल बढेको छ । सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ देखि १२ बजेसम्म रामलीला मञ्चन भइरहेको भगवान् श्रीरामको भूमिकामा रहनुभएका भारत वृन्दावनका कलाकार राधारमण शर्माले बताए ।

    शर्मासहित २५ जना भारतीय कलाकारको समूहले रामायणमा आधारित रामलीला मञ्चन गरिरहेका छन । भगवान् श्रीराम र सीताको जीवनलाई वृन्दावनबाट आएका भारतीय कलारकाले घटस्थापनाको दिनदेखि सुरु भएको रामलीला मञ्चन एकादशी अर्थात् दसैँको भोलिपल्टसम्म यसैगरी प्रस्तुत गर्ने गर्छन् ।

    नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलीलालाई यहाँका स्थानीय अवधी समुदायले डेढ सय वर्षदेखि संरक्षण गरिरहेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताए ।

    यो वर्ष विगतका वर्षहरूमा जस्तै धुमधामसँग रामलीला महामहोत्सव सञ्चालन गरेका छौँ’, अध्यक्ष कनोडियाले भने, ‘भारतको वृन्दावनबाट कलाकार ल्याएर रामलीला मञ्चन गरिएको छ ।’

    एक सय ५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको एक सय ५३ र एक सय ५४औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो ।

    नेपालगञ्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्यरातसम्म सहभागी हुने गर्दछन् । धनुषयज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।

    यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको कनोडियाको भनाइ छ । सञ्चालक समितिका अध्यक्ष कानोडियाका अनुसार, रामगोपाल टण्डन, भाइलाल हल्वाईलगायतले नेपालगञ्जमा रामलीला महोत्सवको सुरुआत गरेका थिए ।

    नेपालगञ्जको परम्परालाई जोगाइराख्नका लागि सहयोग संकलन गरेर रामलीला महोत्सव गर्दै आएको प्रचारमन्त्री आदित्य गुप्ताले बताए ।

    १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । भारतको उत्तर प्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेका छन ।

    रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाले बताए ।

    उनले नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने सोच बनाएको छ । एउटा आयोजनामा कम्तीमा १५ लाख खर्च हुने सञ्चालक समितिको भनाइ छ ।

    देशकै पहिलो सामाजिक तथा नागरिक संस्थाका रुपमा पहिचान बनाएको रामलीलाले ऐतिहासिक विरासत थामिरहेको अवधी संस्कृतिका जानकार विष्णुलाल कुमालले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij