वेबटिभी खबर
दमौली । तनहुँ व्यास नगरपालिका-३ निवासी डा. विनय शाह दसैं मनाउन पुर्ख्यौली गाउँ गोरखा गाउँ फर्किएका छन् । फूलपातीकै दिन उनी सपरिवार आफ्नो जन्मस्थानमा आएका छन् ।
उनले भने, ‘हामी प्रत्येक वर्षको फूलपातीमा दसैं मनाउन गाउँ जान्छौ, गाउँमा नै दशैँ मनाउन रमाइलो छ । टीका सकिएपछि मात्रै पुनः दमौली फर्किन्छौ ।’ डा.शाहको परिवार दशैँ मनाउन गाउँ जान थालेको धेरै वर्ष बितिसकेको छ ।
अन्य ठाउँमा रहेका आफन्तहरु पनि दशैँ मनाउन गाउँ फर्किने गरेपछि गाउँ रमाइलो हुने गरेको उनको भनाइ छ । उनले भने, ‘दशैँका बेला सबै आफन्तहरु गाउँमा भेट हुन्छौ, यसले गर्दा रमाइलो वातावरण बनाउँछ ।’
दमौलीमा पत्रकारितामा सक्रिय मिलन तामाङ फूलपातीको दिन आफ्नो जन्मस्थान धादिङ नै जाए । उनले भने, ‘दसैं गाउँमा रमाइलो हुन्छ, दसैं सकाएर पुनः काममा फर्किन्छु ।’
दशैँका कारण यतिबेला दमौली बजार सुनसान बनेको छ । बजार क्षेत्रका मानिसहरू दशैँमनाउन गाउँ फर्किएपछि बजार क्षेत्र सुनसान बनेको हो । दमौलीमा पसल सञ्चालन गर्दै आएका व्यापारी, कर्मचारी, विद्यार्थी लगायत सर्वसाधारण दशैँ मनाउन गाउँ हिँडेपछि यतिबेला दमौली बजार सुनसान छ ।
अन्य समयमा यातायातको चाप रहने यहाँ दसैंंको समयमा निकै कम मात्रामा मात्र सवारी साधन सञ्चालन भएको छ । यहाँका धेरैजसो पसलहरु बन्द भएका छन् ।
मुख्य व्यापारिक केन्द्रहरु दुलेगौंडा, खैरेनीटार, आँबुखैरेनी, डुम्रे, भीमाद लगायतका ठाउँलाई समेत दसैंले प्रभाव पारेको छ ।
सर्वसाधारण दसैंंका लागि किनमेल गरेर दसैंं मनाउन ब्यस्त छन् । शुक्रबारसम्म बजारका पसलहरुमा राम्रो व्यापार भएपनि शनिबार फूलपातीदेखि व्यापार घटेको व्यवसायी मोहन बरालीले बताए ।
उनले भने, ‘शुक्रबारसम्म बजारमा किनमेल गर्ने सर्वसाधारणको अत्याधिक घुइँचो थियो, शनिबारदेखि व्यापार व्यवसाय घटेको छ ।’
जिल्लाका ग्रामीण भेगहरुमा भने दशैँको उल्लासमय वातावरण रहेको छ । विदेशमा रहेका र शहरमा रहेका सर्वसाधारण गाउँ छिरेपछि ग्रामीण भेगमा दसैंको छुट्टै उल्लास रहेको स्थानीयवासी बताउँछन् ।
अन्य समयमा आ-आफ्नो काममा व्यस्त रहने आफन्तहरुको भेटघाटले ग्रामीण भेगहरुमा छुट्टै रौनकता थप्ने भिमाद नगरपालिका-९ का शिवकुमार आलेले बताए ।
उनले भने, ‘वर्षौसम्म पनि भेटघाट नहुने आफन्तजन, साथीभाई चाडपर्वको बेला गाउँमा भेट हुन्छन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij