वेबटिभी खबर
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकास्थित एक मन्दिरमा केही दाताले आफ्ना पितृको संझनामा लाखौँ रकम बराबरको भौतिक संरचना निर्माणमा गराएका छन् ।
मुसिकोट नगरपालिका-८ अन्तर्गत वामी मैदानमा रहेको खड्क निशान देवीको मन्दिर (वामी कोत) मा स्थानीय दाताबाट निःशुल्क रूपमा प्रवेशद्वार निर्माणका साथै मन्दिरमा घण्टी र खुँडा उपलब्ध गराएका हुन् ।
रोजगारीको सिलसिलामा विदेश गई हाल जापानमा व्यवसाय गर्दै आएका मुसिकोट नगरपालिका-८ निवासी कृष्ण सापकोटा र सुदीप सापकोटाले आफ्ना स्व.बुबा हरिलाल सापकोटा र आमा बुद्धीकला सापकोटाको स्मृितमा प्रदान गरिएको २२ लाख रूपैयाँ बाट कोतमा जाने मन्दिरको प्रवेशद्वार निर्माण गरिएको थियो ।
सापकोटाले धर्म र संस्कृतिको सम्वद्र्धन र जगेर्नाका लागि पनि केही गर्नुपर्छ भनेर पितृको सम्झनामा उक्त प्रवेशद्वार निर्माण गरेको बताए ।
त्यसैगरी हाल जापानमै होटल व्यवसाय सञ्चालन गर्दै आएका वडा नं ८ दाल्का निवासी कृष्णप्रसाद सापकोटा, घनश्याम सापकोटा, गोपालप्रसाद सापकोटा, भीमलाल सापकोटा र राम सापकोटाले करिब चार लाख बराबरको लागतमा खुँडा निर्माण गरेका छन् ।
उनीहरूले आफ्ना स्व बुबा मोतिलाल सापकोटा र स्व.आमा तनकला सापकोटाको स्मृतिमा परिवारका तर्फबाट संयुक्तरुपमा मन्दिर परिसरमा खुँडा स्थापना गरिदिएका हुन् ।
उनीहरूको सहयोगमा निर्माण गरिएको खुँडा मन्दिर परिसरमा राखिएको छ । उक्त खुँडा हेर्न दशैँको अवसरमा श्रद्धालुको निकै घुइँचो लागेको छ । उक्त खुँडाको तौल एक क्विण्टलभन्दा बढी रहेको सहयोगदाता घनश्याम सापकोटाले जानकारी दिए ।
यसैगरी स्व.मणिरत्न घिमिरेको स्मृतिमा उनकी धर्मपत्नी डिलादेवी घिमिरेको परिवारले एक सय तीन किलो बराबरको घण्टी उपलब्ध गराएका छन् ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीमसेन केसीले आगामी दिनमा यस्तै मनकारी दाताको सहयोगमा कोतलाई प्रतिष्ठानकै रुपमा अगाडि बढाइने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij