बागलुङ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताएका छन ।
नेपाली कांग्रेस बाग्लुङले आज आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसमा पहिला जस्तो गुनासो नभएको भन्दै छिटफुट गुनासोलाई सम्बोधन गर्दै जाने उल्लेख गरे । सभापति देउवाले नेपालको संविधान कार्यान्वयनकै चरणमा रहेको भन्दै आलोचना गर्न नहुने धारणा राखे ।
‘नेपालको संविधानको कार्यान्वयन र संघीयताको विषयमा छिटफुट गुनासालाई हामीले स्वभाविक मानेका छौँ’, सभापति देउवाले भने, ‘वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ त्यसमा कुनै शंका गर्न पर्दैन । नेपालको संविधान उत्कृष्ट संविधान हो, यसको कार्यान्वयनमा आएका केही समस्या हामी समाधान गरेर अगाडि बढ्छौँ ।’
देउवाले नेपाली कांग्रेस पुनः संगठित र थप मजुबद हुँदै जिल्ला सम्मेलन आयोजना गर्नु सुखद् पक्ष रहेको बताए । नेपाली कांग्रेसले वडादेखि जिल्ला सम्मेलनमार्फत कांग्रेस थप मजबुद हुने बताउँदै जिल्ला सम्मेलन आयोजना गर्ने बाग्लुङ कांग्रेसलाई धन्यवाद दिए ।
उनले पछिल्लो समय बाग्लुङमा मात्रै नभएर देशभर कांग्रेसप्रतिको जनलहर बढिरहेको दाबी गरे । नेपाली कांग्रेस विकास र समृद्धिको पक्षमा सदैव रहने बताउँदै राजनीतिक प्रतिशोधका आधारमा कसैलाई गाली गर्न नहुने जनाए ।
देउवाले बाग्लुङमा नेपाली कांग्रेसले स्थानीय तह र प्रदेश सभामा पाएको सिटको खुलेर प्रशंसा गरेका थिए । सो अवसरमा सभापति देउवाले सहिद परिवार तथा ज्येष्ठ नागरिकलाई सम्मान गरेका थिए । जिल्ला सम्मेलनमा दुई हजार नेता तथा कार्यकर्ता सहभागी थिए ।