वेबटिभी खबर
चितवन । चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।
तिहारका लागि नेपालबाट पहिलोपटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । ‘आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुंगासमेत दुई क्विन्टल निर्यात गरेका छौँ’, बास्तोलाले भने, ‘चितवनबाट व्यावसायिक रुपमा फूल विदेश निर्यात भएको पहिलोपटक हो।’
उनका अनुसार तीन लाख बराबरको माला निर्यात भएको छ । अन्य देशबाट पनि सयपत्री फूलको माग आएको छ । ‘अहिले हङकङ निर्यात गरेका छौँ’, बास्तोलाले भने, ‘विस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्नेछौँ ।’
विगतका वर्षमा ४१ जिल्लामा सयपत्री फूल बिक्री गर्दै आएकोमा हाल विदेशमा पठाएको किसान अमित बास्तोलाले बताए । ‘हामीले गत वर्षदेखि बाह्र महिना नै फूल खेती गर्छौँ । माघमा उत्पादन हुने गरी १० कठ्ठामा लगाएका छौँ’, बास्तोलाले भने, ‘चितवनमा फूल खेतीको सम्भावना राम्रो छ ।’
तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गरेका छन । फूल खेतीबाट यसवर्ष बाह्र हजार माला र आठ क्विन्टल फूलको थुंगा उत्पादन हुने उनीहरुको अनुमान छ । यसबाट १५ लाख आम्दानी हुने अमितले जनाए ।
बजार भए भने अन्य बालीभन्दा फूल खेतीबाट राम्रो आम्दानी हुनेछ । ‘अन्य खेतीमा उत्पादन र लागत एउटै हुन आउँछ’, बास्तोलाले भने, ‘फूल खेतीमा ५० प्रतिशत नाफा हुन्छ ।’ उनीहरुले फूल खेती सुरु गरेको चार वर्ष भयो ।
कोरोना माहामारीपछि फूल खेती सुरु गरेका तीन दाजुभाइले जग्गा भाडामा लिएर खेती गरेका हुन । भारतको कलकत्तादेखि एक लाख बराबरको बीउ ल्याएर तीन बिघामा खेती सुरु गरेका उनीहरुले सयपत्रीका दुई जात टेनिसबल र कलकतीया फूल हङकङ निर्यात गरेका हुन ।
कात्तिक २४ गते राति काठमाडौंबाट जहाजमार्फत हङकङ लगिने सप्लायर्स कमल सुवेदीले जानकारी दिए । हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उनले बताए ।
‘म विदेशमा च्याउ निर्यात गर्दै आएको छु । सो क्रममा तिहारमा दिदीबहिनीले सयपत्री फूलको माग गरेको हुँदा लैजान लागेको हुँ’, सप्लायर्स सुवेदीले भने, ‘तिहारमा नेपाली समुदाय भएको क्षेत्र सिंगापुर, मलेसिया, दुबई र कतारबाट समेत सयपत्री फूल र मालाको माग आएको छ ।’
फूल निर्यात गर्दा खासै फाइदा नहुने भए पनि किसानको प्रोत्साहन गर्नका लागि निर्यात गरिएको उनको भनाइ छ । यहाँबाट आइसबक्समा ‘प्रिकुलिङ’ गरेर जहाजमार्फत फूल विदेश पठाउने उनले बताए ।
चितवनमा यसवर्ष तिहारको समयमा फूल खेती गर्ने किसान बढेका छन । कालिका नगरपालिकाले किसानको प्रोत्साहनका लागि बिरुवामा अनुदान समेत दिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए ।
‘यहाँको फूल हङकङ निर्यात हुनु हाम्रा लागि खुसीको कुरा हो’, नगरप्रमुख रेग्मीले भने, ‘किसानलाई प्रोत्साहन दिने कुरालाई निरन्तरता दिन्छौ ।’ नगरपालिकाले उत्पादन र आयआर्जनलाई जोडेर नीति निर्माण गरेको प्रमुख रेग्मीले बताए ।
‘गत आर्थिक वर्षदेखि फूलखेती प्रवर्द्धन गर्न बिरुवामा अनुदान दिने गरेका छौँ । एउटा बिरुवा उत्पादन गर्न साढे दुई रुपैयाँ लाग्दो रहेछ । त्यसमा ५० प्रतिशत अनुदान दिइएको छ’, नगरप्रमुख रेग्मीले भने ।
अगामी वर्षदेखि अन्य बालीलाई जस्तै फूल खेतीलाई प्रोत्साहन गर्ने उनले बताए । चितवनमा ५० बिघामा फूल खेती भएको छ । चितवनमा तिहारका लागि फूल खेती गर्ने करिब एक सय जनाको हाराहारीमा किसान छन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij