Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

छठ पर्व विधिवत् रुपमा सुरु

छठ पर्व विधिवत् रुपमा सुरु

  • 176
    SHARES
  • छठ पर्व विधिवत् रुपमा सुरु

    सिरहा । तराई मधेसमा निकै महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ ।

    निष्ठापूर्वक धुमधामसँग मनाइने छठका लागि पूजाको सामग्री किन्ने श्रद्धालुको भीडले सिरहा जिल्लाको बजारमा रौनकता थपिएको छ ।

    जिल्लाको माडर, बरयारपट्टि, ठाडी नाका नजिक रहेको भारतीय बजारका साथै सिरहा बजार, कल्याणपुर, भगवानपुर, सुखिपुर, लहान, धनगढी, गोलबजार, चोहर्वा, मिर्चैयालगायत स्थानीय बजारमा पूजाको सामग्री किनमेल गर्नेको घुइँचो लागेको छ ।

    आर्थिक मन्दीले व्यपार बन्द भइरहेको बेला तिहार र छठ पर्वमा भइरहेको व्यापारले आशाको दियो बलेको लहानका व्यापारी रञ्जित साहले बताइन् ।

    उनले जिल्लाका मुख्य बजार क्षेत्रका पसलहरु बन्द भइरहेको अवस्थामा दसैँभन्दा पनि तिहार र छठमा राम्रो व्यापार भइरहेको जानकारी दिइन् । जिल्लाका व्यापारीलाई प्रोत्साहन दिनका लागि सीमा क्षेत्रमा हुने तस्करी रोक्नुपर्ने उनको भनाइ थियो ।

    श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि पूजाका सामग्रीमा डोम समुदायले बनाएका ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपाडीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ वर्तालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायका सामग्री किन्न बजारमा घुइँचो लागेको हो।

    तराई मधेसमा उल्लासका साथ मनाइने यो पर्वमा परिवारका सबै सदस्यलाई नयाँ कपडा लाउने र मीठो परिकार खाने गरिन्छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि तराई मधेसमा धुमधामसँग मनाइने छठ पर्व पछिल्ला दिनहरुमा देशैभरि मनाउन थालिएको छ ।

    छठ मनाउन यतिबेला तराईका गाउँसहरमा रहेका पोखरी, नदी, तलाउ जस्ता जलाशयको सरसफाइ गर्ने, सिङ्गार्ने, क्रम सुरु भइसकेको छ ।

    छठको पहिलो दिनलाई अरबा–अरबाइन भनिन्छ । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो जस्ता खाद्यान्न परित्याग गरी आजदेखि सात्विक भोजन गरी व्रत बस्ने परम्परा छ । यो पर्व आज नेहाय खाय (नुहाएर खाने) विधिबाट सुरु भएको छ । भोलि खरना (खिर खाने) र पर्सि आइतबार अस्ताउँदो सूर्यलाई र सोमबार उदाउँदो सूर्यलाई अघ्र्य दिई विधिवत् रूपमा सम्पन्न हुनेछ ।

  • सम्बन्धित विषय:

  • # छठ पर्व

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij