वेबटिभी खबर
चितवन । चितवनको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले आकर्षक मूल्य पाउन थालेको छ । उचित मूल्य पाउन थालेपछि किसान उत्साहित भएका छन ।
सुन्तला पर्याप्त उत्पादन हुने यस क्षेत्रका किसानले सुरुआतमै अगौटेबाट राम्रो आम्दानी लिन सफल भएका छन । इच्छाकामना गाउँपालिका-५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले उचित मूल्य पाएको बताए ।
उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो ९० सम्म परेको जनाए । बोहराले भने, ‘कम उत्पादन भए पनि मूल्य राम्रै पाएका छौँ ।’ बोहोराले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन ।
वैदेशिक रोजगारमा गएर राम्रो नभएपछि तीन महिनामा नेपाल फर्किएका उनी सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताउँछन । बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्दै जाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनले जानकारी दिए ।
बोहोराले भने, ‘अहिले सुन्तलाको मूल्यबाट सन्तुष्ट छु । अन्य साथीहरु पनि सन्तुष्ट हुनुहुन्छ ।’ अझै सुन्तलाको मूल्य बढ्नेमा उनी विश्वस्त छन । विगत वर्षहरुमा यति बेला प्रतिकिलो ७० हाराहारीमा सुन्तला बिक्री हुने गरेको थियो ।
सुन्तलाले उचित मूल्य पाउँदा इच्छाकामना गाउँपालिकाका किसान हर्षित छन । इच्छाकामना-३ माझगाउँका सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन ।
उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष राम्रो आम्दानी लिन सकिने बताए । गुरुङले भने, ‘अहिले होलसेल मूल्य नै प्रतिकिलो ९० देखि १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।’
बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटवढ हुनसक्ने भन्दै उनले बजारको व्यवस्था गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने जनाए ।
गुरुङले भने, ‘अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले मूल्य पाउन सकेको हो । २४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताए ।
उनले वार्षिक चारदेखि पाँच लाखसम्मको सुन्ताल बेच्दै आएका छन । इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाब नभएको बताए ।
शाखा प्रमुख त्रिपाठीले भने, ‘बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ ।’ केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उनले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको जानकारी दिए ।
यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका-२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij