वेबटिभी खबर
कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ ।
महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताए । ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही भागमा नहर निर्माण बाँकी छ’, इञ्जिनियर गुप्ताले भने, ‘अबको दुई/तीन महिनामा काम पूरा हुन्छ ।’
आयोजनाले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको मूलनहर निर्माणका लागि हालै करिब दुई अर्बको लागतमा पाँच वटा ठेक्का सम्झौता गरिसकेको गुप्ताको भनाइ छ । ‘कैलालीको मालाखेतीसम्म नहर निर्माणका लागि ठेक्का सम्झौता भएर अहिले ठेकेदारले काम सुरु गर्दैछन्’, इञ्जिनियर गुप्ताले भने, ‘त्यसका लागि आवश्यक तयारीमा जुटेका छौँ ।’
उनका अनुसार भारतीय पक्षले नियमित पानी दिनका लागि संयुक्त उद्घाटन लगायतका प्रक्रियामा गृहकार्य अघि बढाएको खबर प्राप्त भएको छ । सोहीअनुसार आफूहरुले समन्वय गरिरहेको उनले जानकारी दिए ।
महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको छ । आयोजनाका अन्तर्गत हाल २२ वटा शाखा नहर निर्माणका चरणमा छन । जसमध्ये २० र २१ नम्बर शाखा नहरमा मुआब्जाको विषयले अल्झन रहेको आयोजनाले जनाएको छ ।
‘शाखा नहरमा पर्ने जग्गाको कबिर ६०/७० प्रतिशत मुआब्जा रकम दिइसकेका छौँ’, इञ्जिनियर गुप्ताले भने, ‘मुआब्जा दिन रकम अभाव भएपछि मन्त्रालयमा माग गरेका छौँ ।’ कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij