वेबटिभी खबर
काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउन बाँकी संघीय संसदका सांसद तथा कर्मचारीलाई बुधबार लगाउने क्रममा विवाद भएको छ ।
खोप लगाउन कर्मचारीले आफ्नो परिवारका सदस्यालाई पनि ल्याएपछि विवाद भएको हो ।
सरकारले कतैबाट खोप मगाउन नसकेको अवस्थाका कारण भएका खोपमा मान्छेको हारालुछ बढेको छ ।
भएका खोप सकिने क्रममा रहेको र नयाँ आउने सुरसार नभएकाले खोप लगाउने ठाउँमा अहिले विवाद बढ्न थालेको हाे ।
‘कोरोनाको तेस्रो लहर आउँदैछ भनिएको छ,’ एक कर्मचारीले भने, ‘सरकारले कतैबाट खोप ल्याउन सकेको छैन, यस्तो अवस्थामा आफ्नो परिवारका सदस्यलाई लगाउन पाए हुन्थ्यो भन्ने सबैमा हुन्छ । विवाद हुनुकाे कारण यहि हाे ।’
तोकिएका भन्दा बाहिरका व्यक्ति पनि खोप लगाउन आएपछि विवाद भएको हो । यसअघि खोप नलाएकालाई भेरोसेल खोपको पहिलो मात्रा र यसअघि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाइसकेकाहरुलाई दोस्रो खोप लगाइएको संसद सचिवालयले जनाएको छ ।
कोभिसिल्डको दोस्रो खोप लगाउन नपाएका जेष्ठ नागरिक पनि बाँकी रहेकाले चिनेजानेका आफन्तलाई लगाउने प्रयास भएको थियो । १६ हप्ताभित्रमा दोस्रो खोप लगाउनु पर्ने भनिए पनि फागुन अन्तिम साता कोभिसिल्डको पहिलो डोज लगाएकाले अहिलेसम्म अर्काे खोप लगाउन पाएका छैनन् ।
‘लगाउन नपाएको मात्र हैन,’ ती कर्मचारीले भने, ‘जेष्ठ नागरिकले दोस्रो डोज कहिले लगाउन पाउने भन्ने नै यकिन छैन् । १६ हप्ताभित्र नपाउने त निश्चित नै नभइसक्यो । २३ फागुनमा लगाएकाको १५ हप्ता भइसक्यो । दोस्रो डोजका लागि खोप नै छैन् । न त तत्काल कतैबाट आउने टुंगो छ । यस्ताेमा घुसपैठ गर्न खाेज्नु स्वभाविक हाे ।’
कर्मचारीले आफ्नो नाममा परिवारका सदस्यलाई खोप लगाउन दवाव दिएका थिए । केही कर्मचारीका परिवारलाई पनि खोप लगाइएको थियो ।
संसद सचिवालयले भने सांसद तथा कर्मचारीलाई मात्र कोरोनाविरुद्धको खोप लगाइएको दावी गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij