वेबटिभी खबर
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
हाल कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिममा मौसम सामान्यतया सफा रहेको जल तथा मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेश र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।
उनका अनुसार आज कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
अहिले काठमाडौंको वायुको तापक्रम ११ डिग्री सेन्डिग्रेड रहेको तथा पारदर्शीता तीन हजार पाँच सय किलोमिटर रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । यसैगरी काठमाडौंमा आज बिहान ६ बजेको न्यूनतम तापक्रम १० डिग्री सेन्डिग्रेड थियो ।
आज अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेन्डिग्रेडको बीचमा रहने मौसमविद् नगरकोटीले बताइन् । मौसमविद् नगरकोटीले भनिन्, ‘काठमाडौंमा आज मौसम धुम्म भए पनि आंशिक बदली रहने छ । वर्षाको भने सम्भावना छैन ।’
आज राति कोशी, मधेश र बाग्मती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij