वेबटिभी खबर
म्याग्दी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनका दश दाजुभाइले मंगलबार म्याग्दीको एक विद्यालयलाई करिब दश रोपनी जग्गा दान गरेका छन् ।
शेरचनका दश जना दाजुभाइले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका-४ मा रहेको ओखरबोट माविलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गरेका हुन् ।
नेपाल सरकारको मापदण्डअनुसार ४४ लाख ७७ हजार मूल्य कायम भएको जग्गा निःशुल्क उपलब्ध गराउनुभएका शेरचन परिवारले थप तीन लाख ३५ हजार सात सय ७७ राजस्व र पाँच हजार लेखापढी व्यवसायीको शुल्क पनि आफैँले बेहोरेको ओखरबोट माविका प्रअ नवीन कार्कीले जानकारी दिए ।
उनले भने, ‘मालपोत कार्यालय म्याग्दीबाट औपचारिकरुपमा विद्यालयको नाममा जग्गा प्राप्त भएको छ । बुधबार विद्यालयमा शेरचन परिवारलाई गाउँलेको तर्फबाट अभिनन्दन गर्ने कार्यक्रम छ ।’
हाल विद्यालय रहेको ठाउँ पहिरोको जोखिममा परेपछि स्थानान्तरणका लागि शेरचन परिवारले जग्गा दान गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुनले बताए ।
विद्यालयका संस्थापक स्व.उमादेवी शेरचनका श्रीमान् बडीबहादुर शेरचनका छोरा, छोरी तथा बुहारीहरुले सो जग्गा दान गरेका हुन् ।
वि.सं २००८ मा स्थापना भएको यस विद्यालयमा दुई सय ११ विद्यार्थी छन् । विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ ।जग्गादाता शेरचन परिवारको पुर्ख्रौली थलो ओखरबोट हो ।
उनीहरु हाल देशका विभिन्न ठाउँमा पेसा, व्यवसाय र सामाजिक क्षेत्रमा क्रियाशील छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij