वेबटिभी खबर
चितवन । माडीको अयोध्यापुरी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिमा आश्रित ५० घरधुरीलाई ग्यास चुलो वितरण गरिएको छ ।
माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले आज एक कार्यक्रमबीच चुलो र ग्यास हस्तान्तरण गरेकी हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको आर्थिक सहयोगमा वनमा आश्रित विपन्न परिवारलाई चुलो हस्तान्तरण गरिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
वनमा आश्रितलाई वनसँगको परनिर्भरता हटाउनका लागि ग्यास र चुलो हस्तान्तरण गरिएको हो । उनले भनिन्, ‘वनसँगको परनिर्भरता हटाउन, वन जाने समय बचत गराउन र वनमा जाँदा हुने मानवीय क्षति कम गर्नका लागि यो कार्यक्रम गरिएको हो ।’
माडी नगरपालिका वडा नम्बर ८ र ९ मा बसोबास गर्ने उनीहरूलाई सामग्री हस्तान्तरण गरिएको उनले जानकारी दिइन् । चुलो हस्तान्तरण समारोहमा प्रमुख महतोले वनसँगको परनिर्भरताले वन्यजन्तु र मानव बीचको द्वन्द्व बढाउने हुँदा यसको अन्त्य गर्दै जानुपर्ने उनले बताइन् ।
वनमा आवतजावत हुँदा मानवीय क्षतिसमेत हुने हुँदा नगरपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।
कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा प्रमुख रचना शाह, अयोध्यापुरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शिवजी गायक लगायतले संरक्षणमा स्थानीय सहभागिता आवश्यक रहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij