Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

विधिपूर्वक मनाइयो विवाह पञ्चमी

विधिपूर्वक मनाइयो विवाह पञ्चमी

  • 160
    SHARES
  • विधिपूर्वक मनाइयो विवाह पञ्चमी

    काठमाडौं ।  प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व यस वर्ष पनि देशभर भगवान राम र सीताको पूजा आराधनासहित विवाह गरिदिएर मनाइएको छ ।

    त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आइतबार देशभर राम–सीताको पूजा आराधना गरी यो पर्व मनाइएको हो ।

    AKS_Dhanusa-bibahpanchamee2.jpg

    मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक गरिएको छ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।

    त्रेतायुगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पारेका थिए ।

    शिवधनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो । रामायणअनुसार जनकपुरधामको रंगमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहने गरेको विश्वास गरिन्छ ।

    सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी भए ।

    janakpur.jpg

    महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिएको छ ।पौराणिक मान्यता अनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला

    सिंहासनमा राखी रंगभूमिमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।

    रंगभूमिमा स्वयंवरविधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । यस अवसरमा निस्केको भगवान्को डोला शोभायात्रामा राज्यका विभिन्न स्थानलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनसमेत सहभागी भएका छन् ।

    bibahpanchami-4.jpg

    रंगभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ ।

    पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशक अघिदेखि रंगभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ ।

    श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी सीता र रामको पूजाअर्चना गरेका छन् । यस अवसरमा भजनकीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना हुँदै आएको छ ।

    देवताको मानवीयकरणको भावनासँग सम्बद्ध विवाह महोत्सवमा सरिक भएपछि मनोवाञ्छित फल र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।

    bibahpanchamee1.jpg

    उक्त महोत्सव पहिले एक महिनासम्म भव्यरूपमा मनाउने गरिएकामा हाल चार दिनमात्र मनाइन्छ । यसैगरी देशभरका राम सीता मन्दिरमा पनि विशेष पूजा आराधना र महोत्सव गरी आज विवाह पञ्चमी पर्व मनाइएको छ ।

    आज विवाह गर्न साइत नचाहिने मान्यता रहेकाले धेरै जोडीले लगनगाँठो कसेका छन् ।

    यस अवसरमा पशुपतिनाथस्थित राम मन्दिर, बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ आरुबारीको श्रीरामचन्द्र मन्दिर, टेकुस्थित राम मन्दिरलगायत देशभरका राम मन्दिरमा पनि पूजा आराधना गर्ने भक्तजनको भीड लागेको थियो ।

    bibahpanchami .jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij