वेबटिभी खबर
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आज ४९औँ दीक्षान्त समारोह मनाएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहमा ७६ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।
यद्यपि दीक्षित विद्यार्थीहरूले त्रिविको सबै संकायको पाठ्यक्रम ‘आउट–डेटेड’ भइसकेकाले त्यसलाई समयानुकूल बनाउनुपर्ने खाँचो रहेको औंल्याएका छन् ।
हेटौंडा निवासी डा.आर्यन मानन्धरले महाराजगञ्ज मेडिकल कलेजमा अध्ययन गरे । सल्यान जिल्ला अस्पतालमा कार्यरत मानन्धर दीक्षान्त समारोहका लागि काठमाडौं आइपुगेका हुन् ।
डा.मानन्धरले मेडिकलको कोर्ष पुरानै रहेको बताउँदै यसलाई अब चाँडै समयानुकूल बनाइएन भने मेडिकल शिक्षा नै कमजोर हुने बताए ।
मोडेल नेपाल कलेजबाट बिबिए गरेकी धुलिखेलकी इस्मा श्रेष्ठ स्नातकोत्तरको अध्ययनका लागि विदेश जाने तयारीमा छिन् ।
नेपालको व्यवस्थापन संकायमा कोर्षमा प्रयोगात्मक नभएको र कोर्ष पनि पुरानै रहेकाले बजारमा बिक्नै गाह्रो हुने गरेको उनले बताइन् ।
उनले भनिन्, ‘अहिले आवश्यकताअनुसारको शिक्षा छैन । बजारमा प्रतिस्पर्धा गर्ने खालको पाठ्यक्रम ल्याउनुपर्ने खाँचो छ । ‘थ्योरी’मात्रै पढेर काम पाइँदैन अनि विदेश जानुपर्ने बाध्यता हुन्छ ।’
त्यस्तै, रानीवनकी अरुणा गौलीले त्रिविबाट विजनेस एडमिनिस्ट्रेसन पढ्नि । गौलीले अबको योजना विदेश गएर पढ्ने रहेको छ ।
उनले भनिन्, ‘नेपालमा पढाइ खासै राम्रो र प्रतिस्पर्धा गर्ने खालको छैन । बाहिर धेरै ‘एड्भान्स’ भइसक्यो । हाम्रो बजारलाई चाहिएको शिक्षा नै छैन । त्रिविअन्तर्गतको सबै संकायको कोर्ष फेर्नुपर्ने आवश्यकता खट्किसक्यो तर त्यसलाई परिवर्तन गरिएको छैन ।’
उनले, स्नातक पूरा गर्न पाँच वर्ष नै लाग्ने बताउँदै पास हुन पनि एक वर्ष बर्बाद गर्नुपर्ने अवस्थाप्रति शिक्षा क्षेत्र सचेत हुनुपर्ने उल्लेख गरिन् ।
यद्यपि हेटौंडाका आर्यन मानन्धरले आगामी योजना सुनाउँदै भने, ‘अब लोकसेवा दिने विचार गरेको छु । अहिले भने कर्णाली जिल्लामा बसेर केही समय चिकित्सा सेवा गर्ने इच्छा छ ।’
देशमा स्वास्थ्य सेवाको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै मानन्धरले भने, ‘चिकित्सकलाई नेपालमा काम गरेअनुसारका तलब छैन । त्रिविले धेरै समय लगाएर सेमेस्टर सकाउँदा विद्यार्थी पढेर निस्किन नै धेरै समय लाग्छ ।’
त्यस्तै, चितवन मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गरेका महोत्तरी जिल्ला जलेश्वरका प्रतीककुमार चौधरीले उच्च शिक्षाका लागि अमेरिका जाने योजना सुनाए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij