वेबटिभी खबर
सर्लाही । सर्लाहीका उखु किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदानबापतको २० करोड रूपैयाँभन्दा बढी भुक्तानी पाएका छैनन् ।
जिल्लाका १७ हजार ३० किसानले चिनी उद्योगलाई उखु बिक्री गरेबापत प्रतिक्विन्टल ७० रुपैयाँका दरले पाउनुपर्ने २९ करोड २५ लाख ५२ हजार सात सय ४९ मध्ये हालसम्म २० करोड २५ लाख ५२ हजार सात सय ४९ निकासा हुन बाँकी रहेको नेपाल उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले जानकारी दिए ।
मैनालीका अनुसार प्रतिक्विन्टल अनुदानबापत ७० का दरले पाउनुपर्ने २९ करोड २५ लाख ५२ हजार सात सय ४९ मध्ये प्रतिक्विन्टल अनुदानबापतको ४९ का दरले रु २० करोड २५ लाख ५२ हजार सात सय ४९ भुक्तानी हुन बाँकी रहेको हो ।
सर्लाहीमा रहेका इन्दुशंकर चिनी उद्योग, महालक्ष्मी चिनी उद्योग र अन्नपूर्ण चिनी उद्योग गरी तीनवटा चिनी मिलमा गत वर्ष उखु बेचेका १७ हजार ३० किसानले प्रतिक्विन्टल अनुदानबापतको २१ रुपैयाँका दरले नौ करोड ११ लाख २६ हजार छ सय ३८ मात्रै हालसम्म प्राप्त गरेका छन् ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर मन्त्रालयबाट प्राप्त सो रकम जिल्लाका उखु उत्पादक किसानलाई ३० प्रतिशतका दरले वितरण गर्ने निर्णय गरेपछि कोष तथा लेखानियन्त्रकको कार्यालयले अनुदानबापतको नौ करोड ११ लाख २६ हजार छ सय ३८ भुक्तानी गरेको कार्यालय प्रमुख एवं कोष नियन्त्रक निर्मल न्यौपानेले बताए । उनले किसानका लागि अनुदानबापत करिब २० करोड १४ लाख २६ हजार एक सय ११ आउन बाँकी रहेको जनाए ।
यता राज्यले दिनुपर्ने अनुदानबापतको गत वर्षको रकम यथाशीघ्र भुक्तानी हुनुपर्ने र यस वर्षको उखुको मूल्य प्रति क्विण्टल सात सय ५० कायम हुनुपर्ने माग राख्दै जिल्लाका उखु उत्पादक किसान गत शनिबारदेखि सडक आन्दोलनमा होमिएका छन् ।
अनुदानबापतको रकम खातामा नआउँदासम्म र चालु वर्षका लागि उखुको समर्थन मूल्य प्रति क्विण्टल सात सय ५० नतोकिँदासम्म आन्दोलन जारी रहने महासंघका अध्यक्ष मैनालीले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij