वेबटिभी खबर
सुदूरपश्चिम । पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार तीन दिनमा चार सय ६४ व्यक्तिको एन्टिजेन परीक्षण गरिएको थियो । तीन दिनयता प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट एक हजार चारसय ४४ व्यक्ति नेपाल भित्रिएका छन् ।
कोरोना संक्रमित आठ व्यक्तिको नमुना संकलन गरी थप परीक्षणका लागि क्षेत्रीय प्रयोगशालामार्फत केन्द्रमा पठाइएको थियो ।
गौरीफन्टा सीमा नाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउद कोरोना भाइरसका संक्रमित फेरि भेटिन थालेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गर्न सुझाव दिए ।
उनले भने, ‘सीमानाकामा एन्टिजेन परीक्षण गर्दा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ । हेल्थ डेस्कमा नमुना परीक्षणका लागि आवश्यक स्वास्थ्यकर्मी, एन्टिजेनको कीट ,मास्क ग्लब्सलगायतका सामग्री पर्याप्त छन् ।’
उनले संक्रमितलाई होम आइसोलेशनमा बस्न र सिकिस्त भएको अवस्थामा अस्पताल जान सल्लाह दियएको र सम्बन्धित पालिकासँग समन्वय गरिरहेको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij