Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पर्यटककाे रोजाइमा खरले छाएका घर

पर्यटककाे रोजाइमा खरले छाएका घर

  • 179
    SHARES
  • पर्यटककाे रोजाइमा खरले छाएका घर

    मुग्लिन । चितवनको पहाडी भेगमा पनि पछिल्लो समय खरको छानो भएका परम्परागत घर कमै भेटिन्छन् । विसं २०७२ पछिको भूकम्पले क्षति पुगेपछि प्रायःजसोको घरमा जस्तापाताको छानो प्रयोग भएका छन् ।

    इच्छाकामना-२ मायाटारका टीका गुरुङको खरको छानोले छाएको पुरानो घरलाई भने भूकम्पले क्षति पुर्याएनन् । उनले अहिले उक्त  घर भत्काएर नयाँ बनाउने सोच बनाएका थिए ।

    पछिल्लो समय उक्त घर पर्यटकको रोजाइमा परेपछि भने सो घर मर्मतसम्भार गर्नतर्फ लागेका छन् । फिस्लिङ-शक्तिखोर सडक विस्तारसँगै पर्यटक बढेको मायाटारमा उक्त घर नै पर्यटकको रोजाइमा परेपछि उनले मर्मतसम्भार गरेर पुरानै अवस्था राख्ने सोच बनाएका हुन् ।

    घरधनी गुरुङले भने, ‘भत्काएर नयाँ घर बनाउने सोचामा थिएँ तर सडक विस्तारसँगै केही वर्षयता मायाटारमा पर्यटकको आवागमन बढेपछि सय वर्ष पुरानो  खरको छानोको घरमा फोटो खिचाउन र बस्न पर्यटकको रोजाइमा परेको छ,यसलाई मर्मतसम्भार गरेर संरक्षण गर्ने योजना बनाएको छु ।’ यहाँ आउने पर्यटक यस घरमा फोटो खिचाएर मात्र फर्किने गरेको उनको भनाइ छ ।

    स्थानीयका अनुसार खरले छाएको यो घर शताब्दी पुरानो हो । फिस्लिङ-शक्तिखोरको  कालोपत्रे सडकको उत्तरतर्फको डिलमा रहेको यही घरलाई पृष्ठभूमिमा पारेर तस्बिर खिचाउनेको भीड लाग्छ ।

    एकपटक पुगेकाले इच्छाकामना गाउँपालिकाको वडा नं-२ मा पर्ने मायाटार भन्नसाथ यही घर सम्झिन्छन् । घरले मौलिकता दिएको छ । पुरानो घरमा पुरानै शैलीको मौरीका घार पनि छन् ।

    यहाँ पर्यटकको चहलपहल हुन थालेकोे धेरै भएको छैन । स्थानीय भीमबहादुर प्रजाका अनुसार कुनै समय गोरखा, धादिङलगायतका जिल्लाबाट हेटौँडा, वीरगञ्ज हुँदै भारतसम्म जाने पैदलमार्ग यही बाटो पथ्र्यो । तर सडकमार्गको विकास क्रमसँगै मान्छे हिँड्न छाडेपछि  मायाटार अनकन्टार बनेको थियो ।

    केही वर्षयता फिस्लिङ- शक्तिखोर ग्रामीण सडक निर्माण भएपछि माायाटारमा चहलपहल बढ्न थालेको हो ।

    उनले भने, ‘यो ठाउँमा यतिको चहलपहल होला भन्ने लागेको थिएन, यो सबै सडक बाटोकै कारण भएको हो, कुनै दिन त यो आँगनभरि गाडी र बाइक हुन्छन् । घुम्न आउनेलाई मात्रै सहज नभई यहाँका स्थानीयले उत्पादन गरेका कृषिजन्य वस्तुले बजार पाएको छ, पहिले यस्तो ठाउँमा को आउँछ र भन्ने लाग्थ्यो । तर, बाटो पिच भएपछि त धेरै मान्छेहरु आउन थालेका छन् ।’

    वडाध्यक्ष पञ्चबहादुर चेपाङ पनि फिस्लिङ-शक्तिखोर सडक स्तरोन्नति भएसँगै पर्यटकको आवागमन बढ्नुका साथै स्थानियको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको बताउँछन् ।

    अध्यक्ष चेपाङले भने, ‘सडक स्तरोन्नति भएसँगै यहाँ स्वदेशी तथा विदेशी पर्यटकको आवागमन बढेको त छनै स्थानीयले उतपादनको गरेको कृषिजन्य उत्पादन बजारसम्म लैजान सहज भएको छ ।’

    काठमाडौंबाट हेटौँडातर्फ जाने केही यात्रुले शक्तिखोर-फिस्लिङ सडक प्रयोग गर्ने गरेका  छन्  ।

    यस कारण पनि  यो बाटोमा धेरै सवारीसाधन गुड्न थालेका छन् । यो बाटो पृथ्वीराजमार्गको फिस्लिङ, मौवाखोला र हुग्दीखोलाबाट चितवनको  पुरानो सदरमुकाम हुँदै उपरदाङगढी, शक्तिखोर हुँदै टाँडीस्थित पूर्व-पश्चिम राजमार्ग पुग्न सकिन्छ ।

  • सम्बन्धित विषय:

  • # पर्यटक

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij