Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

गोठमै मितेरी साइनो लगाउँदा...

गोठमै मितेरी साइनो लगाउँदा...

  • 256
    SHARES
  • गोठमै मितेरी साइनो लगाउँदा...

    बेनी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिएका छन् ।

    जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका-५ मल्कबाङको भेडीगोठमा काम गर्न आएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आएका तुलाचनसँग मीत लगाएका हुन् ।

    कास्कीको भुजुङखोलामा अरुको घरमा काम गरेर जीविका चलाउँदै आएका घले करिब आठ महिनाअघिमात्रै म्याग्दीको हिमाली क्षेत्रमा रहेको भेडीगोठमा उक्लिएका थिए ।

    भेडीगोठमा खाना पकाउने र भेडाका पाठापाठीको स्याहारसुसार गर्ने घलेले आफ्नो दौँतरी उमेरका तुलाचनलाई गोठमा भेट्टाएपछि मितेरी साइनोमा जोडिएको बताए ।

    उनले भने, ‘यहाँ आउँदा कोही आफन्त थिएनन्, गोठालाको साथी नै गोठाला बन्ने न हो । आफ्नै दामलीलाई गोठमै भेट्टाएँ, आजभोलि मितज्यूसँग राम्रै दोस्ती बढेको छ ।’

    घले र तुलाचनको भेट भने एक महिनाअघि हिमाली क्षेत्रबाट गोठ बेँसीमा झरे पनि मल्कबाङ गाउँ नजिकैको फाँटमा भएको थियो ।

    अहिले मल्कबाङको काफलडाँडाको फाँटमा घलेले काम गर्ने भेडीगोठ र तुलाचनको भैँसीगोठ एकैठाउँमा छन् । गोठबाट पानी ल्याउन खालीखोला जाँदादेखि गोठमा चाहिने दाउराघाँसमा उहाँहरूले सहकार्य गर्छन् ।

    घलेले काम गर्ने भेडीगोठमा नियमितरूपमा चार-पाँच जना भइरहने भएकाले तुलाचनसमेत बिहान-बेलुका भेडीगोठमै गफगाफमा भेटिन्छन् ।

    वर्षौँदेखि घुम्ती गोठ राखेर भैँसीपालन गर्दै आएका तुलाचनले बुढ्यौलीमा गोठतिर एक्लोपन बढेको समयमा आफ्नै उमेरका व्यक्तिलाई मितका रूपमा नजिकको साथी बनाउन पाउँदा खुसी लागेको बताए ।

    ‘हामीलाई गोठले नै साथी बनायो । उहाँ कताको म कताको, गोठ नभइदिएको भए भेट हुनु कहाँको ?’ तुलाचनले भने । तुलाचनको गोठमा नौवटा भैँसी छन् ।

    दुईजना मितेरी साइनेमा जोडिएपछि एकअर्का गोठको परिकारसमेत सटही गर्नेमात्रै नभएर आलोपालो लगाएर गोठमा खानासमेत खाने गरेका छन् ।

    भैँसीगोठबाट तुलाचनले नियमितरूपमा दूध लगेर भेडीगोठ पुग्नुहुन्छ भने भेडीगोठका भान्सेका रूपमा काम गर्ने घलेले पनि आफ्नो भान्साको परिकार आफ्नो मित तुलाचनलाई चखाउने गर्छन् ।

    बुढ्यौली लागेका दुवै जनामा गोठमा गाँसिएको मित्रता र हार्दिकता लोभलाग्दो रहेको भेडीगोठका सञ्चालक हिमबहादुर छन्त्याल बताउँछन् ।

    नाता सम्बन्ध नभए पनि भावनात्मक सम्बन्ध बढ्दै गएपछि मित लगाउने चलन नेपाली समाजमा पुरानै हो । तर पछिल्लो समय संस्कृतिमाथि आएको बाह्य प्रभाबका कारण मित/मीतिनी’ साइनो हराउँदै गएको छ ।

  • सम्बन्धित विषय:

  • # गोठ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij