Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

‘ऋतुविचार’ मा हेमन्तविचारको चर्चा

‘ऋतुविचार’ मा हेमन्तविचारको चर्चा

  • 5.1K
    SHARES
  • ‘ऋतुविचार’ मा हेमन्तविचारको चर्चा

    विषयप्रवेश 

    खण्डकाव्यकार लेखनाथ पौड्याल (वि.सं.१९२२-२०४१) द्वारा लिखित ‘ऋतुविचार’ खण्डकाव्य ऋतु परिवर्तनको आधारमा प्रकृतिको चित्रण गर्दै सामाजिकतातर्फको चासो नै यसको मुख्य विषय हो । संक्षेपमा भन्नुपर्दा ६ वटै ऋतुहरूको आगमन-प्रत्यागमनसँगै देखापर्ने सामाजिक स्थिति मानिसको मानवीय स्वभाव र क्रियाकलापको समेत झलक दिन काव्य सफल भएको छ । प्रकृतिका वाह्य तथा आन्तरिक तत्त्वको खुलासा गराउने यो ऋतुकाव्य ६ वटा ऋतुहरूको चित्रण खिच्दछ । यस काव्य प्रकृति चित्रणमा वसन्तबाट सुरुभइ शिशिरविचारमा पुगेर पूरा भएको छ । यस आलेखमा ‘ऋतुविचार’ खण्डकाव्यमा समाविष्ट ‘हेमन्तविचार’ को विश्लेषण गरिएको छ । 

    खण्डकाव्यको परिचय

    खण्डकाव्य शब्द नेपाली भाषाको तत्सम स्रोतको व्युत्पन्न शब्द हो । यो शब्द संस्कृतमा काव्यस्य खण्डम् अर्थात् काव्यको खण्ड भन्ने अर्थमा षष्ठी तत्पुरूष समासद्वारा निर्मित भएको पाइन्छ भने नेपाली भाषामा कर्मधारय समासद्वारा खण्डचाहिँ काव्य भन्ने अर्थमा रहेको देखिन्छ । पूर्वीय लक्षणग्रन्थ भित्र महाकाव्य वाहेक खण्डकाव्यको पनि समृद्ध परम्पराको समुल्लेख भएको पाइन्छ (रिसाल,२०५८:१५१) । पूर्वीय काव्य चिन्तन परम्परामा महाकाव्य, खण्डकाव्य, कोषकाव्य, चम्पूकाव्य, एकावलिकाव्य र प्राकृतकाव्य जस्ता काव्यको भेदोल्लेख पाइन्छ । त्यही भेद मध्येको खण्डकाव्य शब्द नै नेपालीमा प्रचलित भएर आएको पाइन्छ ।

    खण्डकाव्यलाई चिनाउनेक्रममा महादेव अवस्थीले भनेका छन्- कविता विधाको फुटकर कविताभन्दा लामो र महाकाव्य भन्दा छोटो मझौलो किसिमको व्याप्ति वा आकार प्रकार, मझौला आयामकै आख्यानात्मक वा आख्यान विकल्पी प्रबन्धात्मक संरचना भएको एक उपविधागत रूप नै खण्डकाव्य हो (अवस्थी,२०६१:८४) । महादेव अवस्थीको यस भनाइबाट खण्डकाव्य मध्यम खालको कविता विधाको रूप भन्ने बुझिन्छ । 

    त्यस्तै पूर्वीय विद्वान वामनले खण्डकाव्यमा प्रयुक्त काव्य शब्दले कविको कर्म भन्ने बुझिने बताएका छन् । काव्य भनेको कविको कर्म हो । पहिले काव्य शब्दले व्यापक अर्थ समेट्ने गरेको पाइन्छ । काव्य शब्द साहित्य शब्दको पर्यायका रूपमा रहेको देखिन्छ । जसअन्तर्गत कविता, नाटक, कथा जस्ता सम्पूूर्ण विधा समेटिएको पाइन्छ ।  

    समय क्रमसँगै काव्य शब्दको पनि अर्थ संकुचन हुँदै गयो र काव्य शब्द पद्यात्मक कविता विधामा मात्र समेटियो । कवि शब्द 'कवृ' धातुबाट बनेको हो । कवि शब्दमा यत् प्रत्यय लागेर काव्य शब्दको निर्माण भएको देखिन्छ भने कवि शब्दमा ता प्रत्यय लागेर कविता शब्दको निर्माण भएको पाइन्छ । दुवै शब्दको निर्माण संस्कृतको कवि शब्दबाट भएको हो । वस्तुतः कविता र खण्डकाव्य एउटै वर्गका रचना भएकाले अलग्याएर चर्चा परिचर्चा गर्नु अपूर्ण मानिन्छ । कविताका मुख्यतः पाँच भेद रहेका छन् । ती मध्ये लघुतम र लघु रूप फुटकर कविता कवितासँग सम्बन्धित देखिन्छन् । बृहत् र बृहत्तर रूप महाकाव्यसँग सम्बन्धित छन् । कविताको मध्यम रूप नै खण्डकाव्य हो । पूर्वीय काव्यशास्त्रीहरूले साहित्य चिन्तनका क्रममा खण्डकाव्यलाई प्रबन्धकाव्यअन्तर्गत राखेर हेरेका छन् । तीनले स्फुट काव्यअन्तर्गत कविता, मुक्तक आदिलाई राखेका छन् । यिनै सन्दर्भलाई हेर्दा कविताको ठूलो रूप वा महाकाव्यको एक खण्डको रूपमा नभई यो त लघु कविताभन्दा अलि विस्तार भएको प्रबन्धात्मक संरचनामा आबद्ध जीवन जगतको एकदेशीय लयात्मक भाषिक अभिव्यक्ति दिने महाकाव्यभन्दा सानो र आख्यानीकरणको सशक्तताका दृष्टिले संक्षिप्त रहेको कविताको मध्यम रूपभित्र पर्ने एउटा आफैँमा पूर्ण पूर्ण भेदका रूपमा खण्डकाव्य रहेको पाइन्छ । 

    पश्चिमी जगत्मा पनि कविता, काव्य वा साहित्यलाई खासै भिन्नाभिन्नै रूपमा हेरिएको पाइँदैन । त्यहाँ पनि पनि काव्य शब्दको प्रयोग पहिलेदेखि भएको पाइन्छ (अधिकारी,२०५६:३) । पाश्चात्य काव्यशास्त्रीहरूले मुख्य रूपमा पद्य काव्यलाई छोटो कविता र लामो कविता गरी दुई भेद गरेको पाइन्छ । छोटो कविताअन्तर्गत सूक्त र प्रगीत पर्दछन् भने लामो कविताअन्तर्गत गाथा, शोककाव्य र आख्यानात्मक कविता आउने गर्दछन् । कविताकै बृहत् रूपमा महाकाव्य पर्दछ । 

    कविताका रूप-स्वरूपका यिनै पक्षको अध्ययन गर्दा खण्डकाव्य आफ्नो आयामभित्र बहुमुखी देखिनुका साथै आफैंमा पूर्ण साहित्यिक विधाको रूपमा रहेको पाइन्छ । लघुतम र लघु कविता भन्दा विस्तृत, बृहत् र बृहत्तर कविताभन्दा संक्षिप्त आकारको हुनु नै यसको विशेषता हो । 'कवित्व एवम् आख्यानात्मक वा आख्यान निरपेक्ष रूपमा गरिने जीवन जगत्को एक अंशको अन्वितिपूर्ण कथनसँग सम्बन्धित विषयवस्तु एवम् त्यसको मझौला आयामको संरचना खण्डकाव्यका मुख्य पक्षका रूपमा देखा पर्दछन् । (त्रिपाठी,२०४६:५८) । यसर्थ कवितामा जीवन जगत्को एक घडी वा मुहुर्तको अभिव्यक्ति रहन्छ । महाकाव्यजस्तो जीवन जगत्को समग्र अनुभूति पनि रहँदैन । त्यसैले खण्डकाव्य न त महाकाव्य जस्तो सशक्त आख्यान भएको वा जीवन जगत्को समग्रता र युगीन सम्पूर्णतालाई अभिव्यक्ति गर्ने किसिमको कविताको बृहत् भेद हो न अनुभूतिमा मात्र सीमित रहेको प्रबन्धात्मक संरचना निर्माण हुन नसक्ने कविताको लघु भेद नै हो । अतः खण्डकाव्य प्रबन्धकाव्यअन्तर्गत आउने कविताको एक भेद हो जसमा जीवन जगत्को एक पक्षलाई समेटेको हुन्छ । यो कविताको मझौलो रूपभित्र पर्ने आफैँमा पूर्ण संरचनाको रूपमा रहेको देखिन्छ । 

    खण्डकाव्य सम्बन्धी पूर्वीय मान्यता

    पूर्वीय संस्कृत साहित्य चिन्तन परम्परामा सर्वप्रथम साहित्य सम्बन्धी चिन्तन भरतमुनिबाट भएको हो (उपाध्याय:२०५५,६) । पूर्वीय काव्य चिन्तन परम्परामा खण्डकाव्यको चर्चा परिचर्चा धेरथोर मात्रामा हुँदै आएको पाइन्छ । संस्कृत साहित्यशास्त्रमा भामहदेखि नै धेरथोर मात्रामा खण्डकाव्य सम्बन्धी चर्चा परिचर्चा गरिएको पाइए तापनि सैद्धान्तिक चिन्तनबारे प्रामाणिक उल्लेख चाहिँ इसाको चौधौँ शताब्दीका आचार्य विश्वनाथको साहित्य दर्पणमा मात्र भएको पाइन्छ । 

    संस्कृत साहित्य चिन्तन परम्परा सर्वप्रथम साहित्यको वर्गीकरण इसाको छैठौं शताब्दीका आचार्य भामहबाट भएको पाइन्छ । उनले काव्य वर्गीकरणको आधार छन्द, भाषा, विषय र स्वरूप विधानलाई मानेका छन् । छन्दका आधारमा गद्य र पद्य भेद देखाएका छन् भने भाषाका आधारमा संस्कृत, प्राकृत र अपभ्रंश गरी तीन भेद देखाएका छन् । विषयका आधारमा ख्यातवृत्त, कल्पित, कलाश्रित र अपभ्रंश गरी चार भेद गरेको पाइन्छ । त्यसैगरी स्वरूप विधानका आधारमा सर्गबद्ध, अनिबद्ध, कथा, आख्यायिका र अभिनेयार्थ गरी पाँच भेद मानेका छन् । यी तत्त्व खण्डकाव्य सम्बन्धी देखिए पनि उक्त वर्गीकरणलाई हेर्दा पद्य रचना र सर्गबद्धता खण्डकाव्यका तत्त्वका रूपमा देखिन्छन् । भामहको उक्त वर्गीकरण महाकाव्यलाई लिएर गरिएको हुँदा खण्डकाव्य सम्बन्धी छुट्टै चर्चा भने भामहले गरेको पाईंदैन तापनि खण्डकाव्य सम्बन्धी पूर्व सङ्केतका रूपमा भने लिन सकिन्छ । 

    भामहपछि संस्कृत साहित्य चिन्तन परम्परामा इसाको सातौं शताब्दीका मानिने आचार्य दण्डीले काव्यको भेद देखाएका छन् । उनले काव्यलाई मुख्यतः गद्य, पद्य र मिश्रका रूपमा वर्गीकरण गर्दै तिनीहरूको उपभेदसमेत उल्लेख गरेका छन् । उनले पद्य भेदअन्तर्गत चतुष्पदी र सर्गबन्ध भेद देखाउँदै सर्गबन्धका रूपमा महाकाव्यको चर्चा गरेका छन् । उनले गरेको काव्यभेद महाकाव्य सम्बन्धी भए पनि सर्गबन्ध जस्ता खण्डकाव्यीय तत्त्वलाई खण्डकाव्यको पूर्व सङ्केतका रूपमा भने लिन सकिन्छ ।

    दण्डीपछि वामनले काव्यलाई गद्य र पद्य भेद गरी दुइ वर्गमा विभाजन गर्दै प्रत्येकको अनिबद्धात्मक र बद्धात्मक भेदको चर्चा गरेका छन् । उनको उक्त वर्गीकरणमध्ये अनिबद्धात्मक भेद अन्तर्गत मुक्तक र फुटकर कवितालाई राख्न सकिने र बद्धात्मक भेदअन्तर्गत खण्डकाव्य महाकाव्यलाई राख्न सकिने भए तापनि उनले खण्डकाव्य सम्बन्धी स्पष्ट किटान गरेका छैनन् ।

    संस्कृत साहित्य चिन्तन परम्परामा वामनपछि देखापर्ने अर्का आचार्य रूद्रटको प्रबन्धकाव्य सम्बन्धी चर्चाबाट खण्डकाव्यका लागि उपलब्धी मिलेको छ । उनले उत्पाद्य र अनुत्पाद्य गरी प्रबन्धकाव्यलाई विषयस्रोतका आधारमा विभाजन गर्दै आयामगत आधारमा समेत वर्गीकरण गर्ने प्रयास गरेका छन् । यस सन्दर्भमा महान् काव्यमा चतुर्वर्ग (धर्म, अर्थ, काम, मोक्ष) को वर्णन हुनुपर्ने र सम्पूूर्ण रसादियुक्त हुनुपर्ने बताएका छन् । त्यसैगरी लघुकाव्यमा चतुवर्ग (धर्म,अर्थ,काम, मोक्ष) मध्ये एकको निरूपण गरिएको र एक रसको अभिव्यक्ति भएको हुनुपर्ने बताएका छन् ।  उनको प्रबन्धकाव्यगत वर्गीकरणमा देखा परेको महान् र लघु शब्द खण्डकाव्यका लागि उल्लेखनीय देखिन्छ ।

    पूर्ववर्ती आचार्यहरूले महाकाव्यलाई मात्र लिएर काव्यभेद गरेको पाइन्छ । उनको प्रबन्धकाव्यलाई महान् र लघु गरी गरेको वर्गीकरणले खण्डकाव्य सम्बन्धी आधारशीला खडा गरेको देखिन्छ । उनको लघुकाव्यले बहन गर्ने अर्थ र खण्डकाव्यका बीच तात्विक भिन्नता नदेखिने हुँदा पूर्ववर्ती आचार्यहरूका लागि आधार स्तम्भ बन्न पुगेको देखिन्छ । यति हुँदाहुँदै पनि पनि उनले पनि खण्डकाव्य शब्दकै प्रयोग भने गरेको पाइँदैन । 

    नवौँ शताब्दीका ध्वन्यालोक ग्रन्थको मूल अंश लेख्ने आचार्य आनन्दवर्धन र त्यस (ध्वन्यालोक) को लोचन टीका लेख्ने आचार्य अनिनव गुप्तको साहित्य सम्बन्धी चिन्तन उल्लेखनीय छ । यसमा पद्य काव्यका दस भेद उल्लेख गरेको पाइन्छ । पद्य काव्यका मुक्तक, सन्दानितक, विशेषक, कलापक, कुलक, पर्यायबन्ध, परिकथा, खण्डकथा, सकलकथा र सर्गबन्ध गरी भेदोल्लेख पाइन्छ । यी मध्ये सुरूदेखि पाँचौसम्मका भेद लघु कविताका सन्दर्भमा उल्लेखनीय छन् भने छैठौँदेखि नवाँसम्मका भेद खण्डकाव्य निकट मानिन्छन् । त्यसैगरी दसौँ भेद महाकाव्यसँग सम्बद्ध देखिन्छ ।

    नेपाली खण्डकाव्य परम्परामा देखा परेका खण्डकाव्य यिनै चार भेद (पर्यायबन्ध, परिकथा, खण्डकथा, सकलकथा) मध्ये कुनै न कुनै एक क्षेत्रसँग सम्बन्धित रहेको पाइन्छ । पर्यायबन्धले आख्यान रहित संक्षिप्त आयामको प्रबन्धकाव्यलाई सङ्केत गर्दछ भने परिकथा र खण्डकथाले अनेक वा एकदेशीय आख्यान सम्बद्ध प्रबन्धकाव्यलाई सङ्केत गरेको पाइन्छ । सकलकथाचाहिँ पुरूषार्थ चतुष्टयको प्राप्ति पर्यन्त समग्र इतिवृत्त केन्द्रित प्रबन्धात्मक रचना मानिन्छ । समग्रमा भन्नुपर्दा चारै भेदका कतिपय सारवस्तु समेटेर खण्डकाव्यको स्वरूप तयार भएको जस्तो देखिन्छ । नेपाली खण्डकाव्य परम्परामा कतिपय खण्डकाव्य आख्यान रहित, कतिपय आख्यानयुतm, कतिपय अपेक्षाकृत स्थूल आयाम र कतिपय अनेक घटनायुक्त पाइने हुँदा आनन्दवर्धनको उक्त वर्गीकरण सान्दर्भिक देखिन आउँछ । यद्यपि खण्डकाव्य शब्दको प्रयोगचाहिँ आनन्दवर्धन र अभिनव गुप्त कसैबाट पनि भएको पाइँदैन । 

    पूर्वीय संस्कृत साहित्य चिन्तन परम्परामा इसाको चौधौँ शताब्दीका आचार्य विश्वनाथको महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ । उनले आफ्नो लक्षणग्रन्थ साहित्य दर्पणमा खण्डकाव्य शब्दको स्पष्ट प्रयोग गर्नुका साथै परिभाषा गरेका छन् । उनले काव्यको वर्गीकरण गर्ने क्रममा काव्यलाई श्रव्य र दृश्य गरी दुई भागमा विभाजन गरेको पाइन्छ । ती मध्ये श्रव्यकाव्यका गद्य र पद्य गरी दुई उपभेद देखाइएका छन् । पद्यमा पनि स्फुट र प्रबन्धकाव्यको चर्चा गर्दै स्फुट काव्यका व्यतिरेकमा प्रबन्धकाव्यको चर्चा गरिएको छ । प्रबन्धकाव्यका पनि अनेक उपभेदअन्तर्गत काव्य, कोषकाव्य, खण्डकाव्य र महाकाव्य जस्ता उपभेद देखाएका छन् । 

    विश्वनाथले संस्कृत, प्राकृत वा अपभ्रंश जुनसुकै भाषामा लेखिएको सर्गबद्ध वा सर्गविहिन पद्य रचनालाई काव्य मानेका छन् । उनले खण्डकाव्यलाई काव्यको एकदेशीय प्रबन्धात्मक काव्य अर्थात् काव्यको खण्डात्मक स्वरूप मानेको पाइन्छ । महाकाव्य सर्गबद्ध हुन्छ भने खण्डकाव्य सर्गबद्ध वा सर्गरहित हुन्छ । पञ्चसन्धिको समग्रता स्वीकार गरिंदैन । जीवन जगत्को समग्रता नभई एकदेशीय वा एकपक्षीय अभिव्यक्ति हुनुपर्ने कुरामा खण्डकाव्यले जोड दिन्छ ।

    यसरी निष्कर्षमाभन्दा पूर्वीय संस्कृत साहित्य चिन्तन परम्परामा भामहदेखि लिएर विश्वनाथसम्म आइपुग्दा प्रथमतः खण्डकाव्य शब्दकै श्रीगणेश गरी परिभाषित गर्ने कार्य आचार्य विश्वनाथबाट भएको देखिन्छ । उनको परिभाषा नवीन र स्पष्ट पाइन्छ । यस परिप्रेक्ष्यमा के भन्न सकिन्छ भने उनको परिभाषा आउनु पूर्वका पूर्ववर्ती आचार्यका विचार र काव्य रचनालाई आधार स्तम्भ मान्न सकिन्छ । इसाको चौधौँ शताब्दीमा आएर शाब्दिक रूपमा नै खण्डकाव्यलाई परिभाषित गर्ने कार्य भए पनि महाकाव्य र नाटकजस्ता विधाको तुलनामा यस विधाको चिन्तन पछि आएर मात्र भएको पाइन्छ । यसको कारण महाकाव्यको परिभाषामा नै विद्वान्हरू रमाए वा महाकाव्यको परिभाषा गरेपछि खण्डकाव्यको परिभाषा गर्नु औचित्य नठानिएको हुनसक्छ तापनि अहिले खण्डकाव्य विधाले आफ्नो छुट्टै अस्तित्त्व बहन गरेको पाइन्छ ।   

    पाश्चात्य काव्यशास्त्रीहरूका दृष्टिमा खण्डकाव्य

    पाश्चात्य काव्यशास्त्रीय चिन्तन परम्परामा प्रामाणिक रूपमा पहिलो काव्य सम्बन्धी सैद्धान्तिक चर्चा गर्ने व्यक्तिको रूपमा अरिस्टोटल इ.पू. चौथो शताब्दीलाई मान्नुपर्ने देखिन्छ । उनले साहित्यको चर्चा गर्ने क्रममा मूलतः नाटक र महाकाव्य सम्बन्धी सैद्धान्तिक मान्यता काव्यशास्त्रमा राखेको पाइन्छ तर खण्डकाव्यका कतिपय सन्दर्भ उठाइए पनि खासै चर्चा गरिएको पाइँदैन । उनले महाकाव्यको सैद्धान्तिक चर्चाका क्रममा अन्य कवितात्मक रूपअन्तर्गत गीत, देवसूक्त ,व्याङ्ग्यात्मक काव्य, रौद्रस्तोत्र र प्यारोडी आदिको उदाहरण प्रस्तुत गरेका छन् । उनका महाकाव्य वाहेक अन्य कवितात्मक रूप सम्बन्धी चिन्तनलाई खण्डकाव्यका सापेक्षतामा हेर्न सकिन्छ । उनका सैद्धान्तिक काव्य मान्यतालाई हेर्दा समाख्यानात्मक काव्यअन्तर्गत कविता विधाको मझौलो आकारमा आबद्ध व्याङ्ग्यात्मक वा वीरतात्मक प्रस्तुतिपरक उदात्त ,क्षुद्र वा यथार्थ अभिव्यक्ति भएको काव्य नै खण्डकाव्य हो भन्ने बुझिन आउँछ । 

    अरिस्टोटल पछिको मध्ययुगीन युरोप साहित्य शास्त्रीय चिन्तनका दृष्टिले अन्धकारमय नै रहेको पाइन्छ । यस क्रममा होरेस, किन्टलियन र लन्जाइन्स जस्ता विद्वान्बाट केही साहित्य सम्बन्धी चिन्तन हुदै आए पनि बीसौँ शताब्दीतिर मात्र खण्डकाव्यात्मक अवधारणा अघि बढेको देखिन्छ । यस अवधिमा विलियम हेनरी हड्सनको काव्य मान्यता स्पष्ट रूपमा अगाडि देखिन्छ । उनले कविताका विषयीगत र विषयगत वर्गीकरण देखाउने क्रममा आख्यानात्मक र नाट्यात्मक गरी विषयीगतका अनेक भेद र विषय प्रधान कविताका लिरिक, ओड, एलिजी, एपिएटल, सेटाएर र सनेट आदि अनेक उपभेदहरू देखाएका छन् । जुन खण्डकाव्यात्मक दृष्टिले कुनै कुनै अंशमा समान रहेका छन् । त्यस्तै उनले महाकाव्य र नाटकमा पनि अनेक रूपबारे सङ्केत गरेका छन् ।

    पाश्चात्य कविता परम्पराको अध्ययन पश्चात् निष्कर्षमा भन्नुपर्दा खण्डकाव्य भन्न सुहाउँदा गीतिमय गाथा, आख्यानात्मक कविता आदि देखा परेको पाइन्छ भने बीसाैँ शताब्दीमा आइपुग्दा खण्डकाव्य समकक्षी लामो कविताको प्रादूर्भाव भएको देखिन्छ । यी सबै काव्यात्मक संरचना र हेनरी आदि विद्वान्का परिभाषालाई समेटेर हेर्दा पाश्चात्य खण्डकाव्य परम्परामा लघु वा फुटकर कविताभन्दा माथिल्ला स्तरका रचना एवम् महाकाव्य जस्तो लामो रचना भन्दा तल्लो स्तरका रचनाहरू नै खण्डकाव्यात्मक रचना मानिएको कुरा स्पष्ट देखिन्छ । 

    खण्डकाव्य सम्बन्धी नेपाली साहित्य शास्त्रीय मान्यता

    नेपाली काव्य शास्त्रीय चिन्तन परम्परामा खण्डकाव्य विधाको चिन्तनलाई हेर्दा पूर्वीय संस्कृत साहित्य चिन्तन परम्परामा भन्दा सूक्ष्म र स्पष्ट अभिव्यक्ति रहेको देखिन आउँछ । समय क्रमसँगै खण्डकाव्य लेखनको क्रम बढ्दै गयो र पछिल्ला दिनमा आइपुग्दा यस विधामा चिन्तन मनन धेरै भए । तसर्थ संस्कृत साहित्य चिन्तन परम्परामा भन्दा बढी स्पष्टता नेपाली काव्यशास्त्रीय चिन्तन परम्परामा देखिन्छ ।

    नेपाली साहित्य शास्त्रीय चिन्तन परम्परामा सोमनाथ सिग्द्यालको साहित्यप्रदीपबाट नै खण्डकाव्य सम्बन्धी सैद्धान्तिक चिन्तनको सूत्रपात भएको पाइन्छ । उनको यस कृतिमा कविता वा प्रबन्धकाव्य बारे चर्चा गरिएको छ । यस क्रममा कवितका मुक्तक रूप र प्रबन्ध रूप गरी दुई रूप हुन्छन् । मुक्तकले कविता र प्रबन्धले महाकाव्य, खण्डकाव्य र कोष काव्यलाई सङ्केत गर्दछ भन्ने उनको मान्यता देखिन्छ (सिग्द्याल,२०२८:१०६) । उनले खण्डकाव्यको परिभाषा यसरी दिएका छन्– “काव्यको एक टुक्रा जस्तो छोटो कथानक लिएर बीचैबाट उठेर बीचैमा टुङ्गिएको सर्गबन्धन–सन्धिबन्धनहरू नभएको छोटो काव्यलाई खण्डकाव्य भन्दछन् ।” (सिग्द्याल, पूर्ववत्: १०९) । उनको यो परिभाषा महाकाव्यको सापेक्षतामा देखा परेको पाइन्छ किनभने कथावस्तु, सन्धि, सर्ग, आयाम आदि महाकाव्यका लक्षण हुन् । त्यसैको लघुतावाचीको रूपमा खण्डकाव्यको परिभाषा आएको पाइन्छ ।

    सोमनाथ पछि नेपाली साहित्यशास्त्रीय चिन्तनमा केशवप्रसाद उपाध्यायको महत्त्त्वपूर्ण भूमिका देखिन्छ । उनले आफ्नो साहित्य प्रकाश ग्रन्थमा भनेका छन्, 'यसमा जीवनको एक अंश विशेषको झलक प्रस्तुत गरिन्छ । यसमा एउटै सीमित कालखण्डमा वा अल्प अवधिमा घटित एउटै घटना, एउटै चरित्र र एउटै प्रभाव उपस्थित हुन्छ । यसमा एउटै रसको अभिव्यक्ति एउटै छन्दमा गरिनु अपेक्षित छ” (उपाध्याय,२०४९: १२१) । उनको यस परिभाषाले खण्डकाव्यका लागि जीवन जगत्को एकदेशीय चित्रणअन्तर्गत एउटै प्रभाव, एउटै रस वा एउटै छन्द रहन आवश्यक हुन्छ भन्ने कुरा देखिन आउँछ । 
    यसैगरी भानुभक्त पोखरेलले प्रबन्धकाव्यका तीन भेद (महाकाव्य, मध्यकाव्य र खण्डकाव्य) देखाउँदै महाकाव्य र कविताका सापेक्षतामा खण्डकाव्यबारे चर्चा गरेका छन् । उनले भनेका छन्, “महाकाव्य एउटा परिपक्व प्रौढ व्यक्ति हो भने खण्डकाव्य चुलबुले बालक हो । महाकाव्यमा जस्तो विशालता, व्यापकता र युगजीवनको सर्वाङ्गपूर्ण चित्र खण्डकाव्यमा हुँदैन । कविताहरूमा पूर्वापर सम्बन्ध, एकान्विति अथवा कथात्मकता भए पनि खण्डकाव्य एक तथ्यपरक, एक रसात्मक, द्रुतगामी सानु काव्य कृति हो” (पोखरेल,२०४०:१३४) । यसैगरी उनले जीवनको एक अंश विशेषको सानो चित्र मात्रलाई पनि खण्डकाव्यका रूपमा स्वीकार गर्दै ऋतु हिमालय आदि प्रकृतिको कवितात्मक वर्णन मात्रलाई पनि खण्डकाव्य मानेका छन् । 

    खण्डकाव्य सम्बन्धी विचार राख्ने अर्का व्यक्ति वासुदेव त्रिपाठी हुन् । उनका विचारमा–“कविता विधाको मझौलो आयाम भएको खण्डकाव्य कुनै आख्यान अँगालेर वा नअँगाली जीवन जगतकोे एक अंश वा भागलाई अन्वितिपूर्वक बद्ध वा मुक्त लयका माध्यमबाट कथन गरी संरचित गरिन्छ” (त्रिपाठी,२०४६: ५२) । उनले कविता विधाको प्रचलित पूर्वीय र पाश्चात्य कविता वर्गीकरणलाई संयोजन गर्दा देखिने कविता विधाका आयामगत विस्तारसँगै प्रचलित उपविधाको चिनारी दिंदै मौलिक रूपमा कविता विस्तारसँग सम्बन्धित यी पाँच उपभेद दर्साएकका छन्- (१) लघुतम (२) लघु (३) मध्यम (४) बृहत् (५) बृहत्तर (त्रिपाठी,२०४५: ६) । यसरी उनले खण्डकाव्यलाई कविता विधाको मझौला रूपमा चिनाएका छन् । उनको यस परिभाषाले प्राचीनतमदेखि आधुनिक खण्डकाव्य सबैको स्थान निर्धारण भएको पाइन्छ ।

    खण्डकाव्य सम्बन्धी धारणा प्रस्तुत गर्दै राष्ट्रकवि माधव घिमिरेले पच्चीस वर्षका नेपाली खण्डकाव्य नामक कृतिमा भनेका छन्, “कविताको विविध विस्तृत रूप नै काव्य हो । यहाँ एक भावले भावलाई प्रेरित गर्छ र अनेक भाव प्रवाह रूपमा बग्न थाल्दछन् । यहाँ निर्झरले खोलालाई बोलाउँछ । लघुकाव्य बन्छन्, खोलाले नदीलाई बोलाउँछ– ललित काव्य बन्छन्, नदीले सागरलाई बोलाउँछ–बृहदाकार महाकाव्य बन्छन्” (घिमिरे,२०३९: ७) । उनको यस भनाइबाट के कुरा स्पस्ट हुन्छ भने लघु काव्यनै खण्डकाव्य हो जुन निर्झर भन्दा माथिल्लो खोला जस्तो हो र नदी अनि सागर भन्दा सानो हो । अर्थात् खण्डकाव्य कविता भन्दा लामो र महाकाव्य भन्दा छोटो हुन्छ भन्ने कुरा व्यक्त भएको पाइन्छ । 
    खण्डकाव्यको काव्यशास्त्रीय चिन्तन गर्ने अर्का विद्वान् महादेव अवस्थी हुन् । उनले वासुदेव त्रिपाठीद्वारा व्यक्त कविता विधाका भेदहरूको अनुसरण गर्दै खण्डकाव्यको स्वरूप निर्धारण गरेका छन् । उनका अनुसार कविता विधाका एकातिर लघुतम र लघु रूप पर्दछन् भने अर्कातिर बृहत् र बृहत्तर रूप पर्दछन् । कविताका लघुतम/लघु र बृहत/ बृहत्तम् रूपका मध्यमा अवस्थित एक उपभेद नै खण्डकाव्य भएकाले यसलाई कविताको मध्यम रूप मानिन्छ (अवस्थी,२०६१: ८४) । खण्डकाव्य आकारप्रकार, विषयवस्तुको आयाम, भाव विस्तार र संरचना विधानका दृष्टिले यसको स्थिति मध्यम नै देखिन्छ । तसर्थ खण्डकाव्यलाई कविता विधाको मझौला रूपमा राखेर हेरिएको अवस्थीको दृष्टिकोण पनि सान्दर्भिक नै देखिन्छ । नेपाली बृहत् शब्दकोशमा कुनै एक विषयको अभिव्यक्ति दिने सर्ग भएको वा नभएको प्रबन्धात्मक लघु काव्यका रूपमा खण्डकाव्यलाई अथ्र्याइएको छ ।

    यसरी निष्कर्षमा भन्दा नेपाली काव्यशास्त्रीय चिन्तन परम्परा छोटै भएपनि खण्डकाव्य सम्बन्धी अवधारणामा पर्याप्त विकास भएको पाइन्छ । सोमनाथदेखि नेपाली बृहत् शब्दकोशसम्मको सैद्धान्तिक चिन्तनमा क्रमशः स्पष्टता देखिंदै आएको पाइन्छ । साथै सम्पूर्ण परिभाषालाई मनन गर्दा खण्डकाव्य भनेको कविताको मझौला रूप हो, जसमा जीवन जगत्को एकदेशीय अर्थात् एकपक्षीय चित्रण हुनुका साथै युगबोध, सुगठित, एकरस भावयुक्त आख्यान रहित वा सहित अन्वितिपूर्ण संरचना हुन्छ । 

    खण्डकाव्यका तत्त्व 

    साहित्यका अन्य विधाकाझैँ खण्डकाव्यको पनि केही आधारभूत तत्त्व रहेका हुन्छन् । नेपाली साहित्यशास्त्रीय चिन्तन परम्परामा वासुदेव त्रिपाठीले खण्डकाव्यका मुख्य तत्त्वहरू (१) जीवनको एक अंशको कथन गर्ने आयाम (२) भाषा शैली र (३) लमाइलाई प्रमुख आधार मानी त्यसमा निहित हुने कथावस्तु,  पात्र विधान, देशकाल वा परिवेश, मझौला आयामको कथन पद्धति र शिल्प संरचना प्रयोगवादी रचना विहीन रचनालाई कविता तत्त्वसँग सम्बन्धित अन्य पक्षलाई प्रमुख तत्त्व मानेका छन् ।

    खण्डकाव्यका प्रमुख घटक तत्त्वहरूका रूपमा कथावस्तु, पात्रविधान, देशकाल वातावरण÷परिवेश, विषयवस्तु,  केन्द्रीय कथ्य, भावविधान, लयविधान, बिम्ब, अलङ्कार, प्रतीक, व्यञ्जना विधान, सर्गयोजना, भाषाशैली र उद्देश्य आदि देखिन्छन् (गैरे,२०६०:१७६) ।  यिनै विभिन्न विद्वान्हरूका आशयलाई बुझ्दा र कविताकै विधागत तत्त्वलाई ध्यानमा राख्दा खण्डकाव्यका लागि आवश्यक तत्त्वहरू यी देखिन आउँछन् । तिनलाई यहाँ यसरी देखाउन सकिन्छ:

    शीर्षक

    कथावस्तु

    पात्र 

    परिवेश 

     रस वा भाव 

    केन्द्रीय कथ्य 

    लय 

    भाषाशैली

    कथन पद्धति

    अलङ्कार तथा प्रतीक 

    सर्ग योजना

    अलङ्कार तथा प्रतीक 
     
    उल्लिखित खण्डकाव्य तत्त्वकाबारे संक्षिप्त रूपमा रूपमा चर्चा गर्नु उपयुक्त ठानिने हुँदा  यिनै तत्त्वहरूको संक्षिप्त चर्चा तल प्रस्तुत गरिन्छ:

    शीर्षक

    संस्कृतको शीर्ष शब्दमा क प्रत्यय लागेर बनेको शीर्षक शब्दले टाउको वा शिरमा राखिने वस्तुलाई बुझाउँछ अथवा खण्डकाव्यका सन्दर्भमा हेर्ने हो भने खण्डकाव्य रचनाको शिरमा रहने नामलाई बुझाउँछ । काव्यभित्रको कुरालाई सारभूत रूपमा व्यक्त गर्ने शीर्षकको चयन मुख्यत: तीन तरिकाबाट गर्ने गरेको पाइन्छ । ती हुन्- 

    विषयवस्तु वा भावका आधारमा

    प्रमुख पात्र वा चरित्रका आधारमा

    विषयवस्तु र पात्र दुवैको मिश्रण गरेर ।

    विषयवस्तु वा भावका आधारमा 

    शीर्षक चयन गर्दा कृतिको भाव वा विचारलाई समेट्न सक्ने गरी शीर्षक चयन गर्ने गरेको पाइन्छ । नेपालीमा ऋतुविचार, आँसु आदिलाई यसैअन्तर्गत राखेर हेर्न सकिन्छ ।

    प्रमुख पात्र वा चरित्रका आधारमा 

    शीर्षक चयन गर्दा काव्यमा रहेका प्रमुख पुरूष वा स्त्री पात्रमध्ये कुनै एकलाई नामाकरण गरिएको पाइन्छ । यस आधारमा नामाकरण गरिएका खण्डकाव्यमा मुनामदन, उर्वशी आदिलाई लिन सकिन्छ ।
    विषयवस्तु र पात्र दुवैको मिश्रण गरेर 

    शीर्षकको निर्धारण गर्ने परम्परा पनि खण्डकाव्य जगत्मा देखिन्छ । यस अन्र्तगत नरसिंह अवतार, सीता हरण आदि पर्न आउने देखिन्छन् । 

    कथानक/कथावस्तु

    पत्रद्वारा गरिने कार्य र तिनै पात्रका कार्यबाट घट्ने घटनाको कथात्मक गठन गुम्फम हुनु नै खण्डकाव्यको कथावस्तु संयोजन हो (गैरे,पूर्ववत्: १७६) । कथावस्तुको सुन्दर संयोजनले काव्यको उचाई बढाउने हुँदा यसलाई खण्डकाव्यको महत्त्वपूर्ण तत्त्वको रूपमा लिनुपर्ने देखिन्छ । खण्डकाव्यमा प्रयुक्त कथावस्तुको स्रोतका रूपमा ऐतिहासिक ,पौराणिक, लोकप्रसिद्ध सामाजिक, बौद्धिक र दार्शनिक आदि विषयवस्तु समेटिएका हुन्छन् । नेपाली खण्डकाव्यलाई लिएर हेर्ने हो भने ऐतिहासिक विषयवस्तुमा अधारित खण्डकाव्यमा राजेश्वरी , राष्ट्रनिर्माता आदि खण्डकाव्य देखिएका छन् भने पौराणिक विषयवस्तुमा आधारित खण्डकाव्यअन्तर्गत उर्वशी, रावण जटायुयुद्ध आदि खण्डकाव्यलाई लिएको पाइन्छ । सामाजिक विषयवस्तुसँग सम्बन्धित खण्डकाव्यमा पापिनी आमा, मालती जस्ता काव्यकृति रहेका देखिन्छन् । यसैगरी बौद्धिक विषयवस्तु समेटिएका खण्डकाव्यअन्तर्गत आगो र पानी, उर्वशी आदि खण्डकाव्य रहेका पाइन्छन् । 

    पात्र 

    चरित्र वा पात्र खण्डकाव्यका लागि एक प्रमुख तत्त्व हो । कथानकलाई गतिशील बनाउने काम पात्रले गर्दछ । पात्र त्यो घटना हो, जसका आधारमा कुनै कल्पना यथार्थको प्रस्तुतीकरणको प्रयास गरिन्छ । कथानकलाई प्रारम्भदेखि अन्त्यसम्म लाने कार्य पात्रबाट मात्र सम्भव भएकाले कथानक र चरित्र बीच अन्योन्याश्रित सम्बन्ध रहेको पाइन्छ । पात्रहरू लिङ्गका आधारमा पुरूष र स्त्री गरी दुई किसिमका हुन्छन् र तिनीहरूको भूमिका वा विशेषता पनि प्रमुख गौण अथवा मुख्य र सहायक तथा अनुकूल र प्रतिकूल आदि विविध किसिमको रहेको हुन्छ । त्यस्तै पात्रलाई गतिशील–गतिहीन, व्यक्तिगत–वर्गगत, प्रत्यक्ष–अप्रत्यक्ष एवम् बद्ध र मुक्त आदि अनेक किसिमबाट पनि वर्गीकरण गर्न सकिन्छ । न्यून आख्यान भएका खण्डकाव्यमा भने पात्रको प्रयोग सन्दर्भ भन्दा कविको निजी वैचारिक अभिव्यक्तिको नै प्रधानता हुने देखिन्छ । 

    परिवेश

    परिवेशको अभिप्राय देशकाल र वातावरण अथवा परिस्थिति हो । देशले स्थान ,कालको समय र वातावरणले परिवेश बुझाउने हुँदा कुन ठाउँमा कुन समयमा र कुन परिस्थितिमा भन्ने जनाउनका लागि खण्डकाव्यमा देश, काल तथा वातावरणको आवश्यकता पर्दछ (न्यौपाने,२०५५–५६:४९) । परिवेशको कुनै पनि काव्यमा प्रत्यक्ष वा परोक्ष सङ्केत गरेको पाइन्छ । पात्रको क्रिया प्रतिक्रियाको क्रममा परिवेशलाई आधारभूमि बनाउँदै काव्यलाई यथार्थपरक तुल्याउने प्रयास गरिन्छ । खण्डकाव्यमा आवश्यकता र स्वाभाविकतालाई ख्याल गरी परिवेशको उपयोग गरिएको पाइन्छ । खण्डकाव्यमा महाकाव्यमा जस्तो विस्तृत परिवेश विधान गरिंदैन र स्थान, समय,र वातावरण विशेषको स्पष्ट वर्णन हुनैपर्छ भन्ने मान्यता पनि देखिदैन । साथै तत्कालीन रीतिस्थिति, धर्मसंस्कृति, चालचलन एवम् राष्ट्रिय अन्तर्राष्ट्रिय सन्दर्भको सूक्ष्म सङ्केत हुन पनि सक्छ र नहुन पनि सक्छ । आख्यान प्रवल खण्डकाव्यमा परिवेशको स्पष्ट एवं प्रभावकारी वर्णन रहन्छ भने न्यून आख्यानयुक्त खण्डकाव्यमा सूक्ष्म रूपमा मात्र परिवेश चित्रणको सङ्केत पाइन्छ । 

    रस वा भाव

    साहित्य शास्त्रीहरूले काव्यको मूल मर्म नै रसात्मकता हो भन्दै खण्डकाव्यमा एक रसको उपस्थितिलाई औंल्याएको पाइन्छ । पूर्वीय साहत्यको रसवादी चिन्तन अनुसार पनि काव्यमा रति, शोक, उत्साह आदि स्थायी भावमध्ये एउटा मुख्य भावका रूपमा रहेको हुनुपर्ने कुरा उल्लेख गरेको पाइन्छ । साहित्यले मानव जीवनलाई रसिलो वा आल्हादित बनाउने हुनाले खण्डकाव्यमा पनि एक तत्त्वकोे रूपमा रसभावलाई लिनुपर्ने हुन्छ । हुन त भावको अभिप्राय विचार पनि हुन सक्दछ तर यहाँ स्थायी भाव र सञ्चारी (अस्थायी) भावहरू नै रसास्वादनका मेरूदण्ड भएकाले तिनीहरूकै सन्दर्भसँग जोडेर भाव शब्दको प्रयोग गरिएको हो । रति आदि स्थायीभावहरूले पाठक वर्गलाई दीर्घकालसम्म रसास्वादनमा समाहित गर्छन् भने दीनता, हर्ष, श्रम आदि सञ्चारी भावहरू क्षणिक रूपमा उत्पन्न भई विलिन हुदै जान्छन् । यसरी हेर्दा खण्डकाव्यका लागि रसभाव आवश्यक देखिन्छ । नेपाली खण्डकाव्य परम्परामा हेर्दा उर्वशी (रति) , राजेश्वरी (शोक), राष्ट्रनिर्माता (उत्साह) आदि भावयुक्त खण्डकाव्यका रूपमा भेट्न सकिन्छ ।

    केन्द्रीय कथ्य

    लेखकले आफ्ना रचना मार्फत् पाठक वर्गलाई एउटा विचार सम्प्रेषण गर्ने लक्ष्य अनुरूप रचना सिर्जना गर्ने गर्दछ । त्यो मुख्य विचार नै केन्द्रीय कथ्य हो । समाज, संस्कृति, पुराण, इतिहास आदि जीवन जगत्का यावत् विषयमध्ये कुनै पनि एउटा विषयलाई आधार बनाई एकदेशीय सन्दर्भसँग जोडेर रचनाकारद्वारा जुन विचार पाठकवर्गमा भन्न खोजिएको हो, त्यो नै खण्डकाव्यको केन्द्रीय कथ्य हुन्छ । खण्डकाव्यमा जीवनको एकपक्षीय अभिव्यक्ति हुने र आदर्शवादी ,यथार्थवादी , मानवतावादी आदि जीवन दृष्टि समेत रहने देखिन्छ । यसरी विषयवस्तुको भावात्मक परिणतिलाई नै केन्द्रीय कथ्यको रूपमा लिइने हुँदा केन्द्रीय कथ्यलाई खण्डकाव्यको प्रमुख तत्त्वका रूपमा लिइएको पाइन्छ ।

    लय 

    कविता विधालाई अन्य साहित्यिक विधाबाट अलग्याउने प्रमुख तत्त्व भनेको नै लय हो । खण्डकाव्य पनि कविता विधा अन्तर्गत रहने हुनाले खण्डकाव्यको मुख्य तत्त्वका रूपमा लय विधानलाई स्वीकारिएको छ । शब्द,पदावली हुदै वाक्यपङ्ति वा पाउका स्तरमा पुगी एक साङ्गीतिक लहरका रूपमा उपस्थित भई श्रुतिमाधुर्य हुने कार्य लयले गर्छ । नेपाली खण्डकाव्य जगत्मा मुख्यतः दुई किसिमका लय रहेका पाइन्छन् । ती हुन्ः– बद्धलय र मुक्तलय ।  बद्धलयअन्तर्गत वर्णमात्रिक, मात्रिक र लोकलय पर्दछन् । वर्ण र मात्राहरूको नियमित आवृतिवाट वर्णमात्रिक छन्द हुन्छ र मात्राहरूको समान वितरणका आधारमा मात्रिक छन्दहरू निर्धारण हुन्छन् । मुक्तलयका लागि नियमितता समानुपातिकताको आवश्यकता पर्दैन त्यहाँ केवल पंक्ति–पंक्ति वा वा पाउ–पाउका वीचमा रहेको अन्तसांगीतिक ध्वनि व्यवस्थाले महत्त्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । नेपाली खण्डकाव्य परम्परामा वर्णमात्रिक छन्दमा राजेश्वरी मात्रिक छन्दमा उर्वशी लोकलयमा मुनामदन र मुक्तलयमा मायाविनी सर्सी आदि खण्डकाव्यहरू रचिएका पाइन्छन् ।

    भाषाशैली

    कविका अन्र्तमनका कुराहरू पाठक सामु पस्कने साधन भनेको नै भाषा हो । भाषालाई श्रुतिमधुरतामा परिणत गर्ने कार्य शैलीको हो । खण्डकाव्यमा कविका अन्तर्मनका भाव पाठक सामु सुमधुर तरिकाले सम्प्रेषण गर्न भाषाशैलीको आवश्यक पर्ने देखिन्छ । तसर्थ भाषाशैली खण्डकाव्यको प्रमुख तत्त्वको रूपमा देखा पर्दछ । साहित्य भनेको भाषिक कला हो । त्यसैले खण्डकाव्यमा भाषिक कला हुनु स्वभाविक देखिन्छ । खण्डकाव्यको भाषाशैली सौन्दर्यपूर्ण लयात्मक एवं श्रुतिमधुर ललित र रागात्मक हुनुका साथै विशिष्ट पदरचनाद्वारा सांगीतिक माधुर्यले अभिसिञ्चित हुनु आवश्यक छ । अथवा रमणीय अर्थ प्रतिपादन गर्न सक्ने विशिष्ट पदरचना र रसात्मक वाक्यहरू भएको मनको भाव वा कथ्य विषयलाई स्पष्ट रूपमा प्रकाश पार्न सक्ने व्यञ्जनाधर्मी सर्वोत्तम शब्दहरूको सर्वोत्तम क्रममा आधारित अभिव्यक्ति शैली नै खण्डकाव्यको वास्तविक भाषाशैली हुने गर्दछ । भाषाशैलीले भावलाई समेट्दै श्रुतिमधुरता र लयात्मकतालाई अङ्गीकार गरेको हुनुपर्ने देखिन्छ । एकपक्षलाई समेट्न नसकेमा भाषशैली अपाङ्ग बन्ने खतरा खण्डकाव्यमा देखा पर्दछ । 

    कथन पद्धति

    ख्ण्डकाव्य जीवन जगत्का कुनै विषय विशेषकै भाषिक लयात्मक कथन वा उक्ति हो । तसर्थ कथन पद्धति खण्डकाव्यको एक प्रमुख तत्त्त्व हो । स्रष्टाले ग्रहण गरेको जीवन जगत्सँगको सम्बन्धित यावत् विषयहरूलाई कलात्मक रूपमा काव्यात्मक ढाँचाअन्तर्गत प्रस्तुत गर्न अपनाइने तरिकालाई कथन पद्धति भनिन्छ । कृतिगत भाषा नै कथन पद्धतिको मुख्य आधार हुने गर्दछ । खण्डकाव्यमा तीन किसिमका कथन पद्धति हुने गर्दछ: 

    कविकथन वा कवि प्रौढोक्ति 

    आख्यानीकृत कथन वा कविनिबद्धवक्तृप्रौढोक्ति र 

    नाटकीकृत कथन

    कविकथन वा कवि प्रौढोक्ति 

    कवि स्वयम् समाख्याताका रूपमा रहेर मौनपाठक वा श्रोतालाई सम्बोधन गरी आत्मालापी ढङ्गबाट काव्यिक विषयलाई वर्णन गर्नु नै कवि कथन हो । यस कथनमा प्रथम वा तृतीय पुरूषको प्रयोग गरिन्छ । यसमा कवि स्वयम् काव्यिक विषयको समाख्याता भएकाले कविकै प्रौढ भाषिक अभिव्यक्ति रहने हुनाले संस्कृतमा यसलाई कवि प्रौढोक्ति भनिएको हो । 

    आख्यानीकृत कथन वा कविनिबद्धवक्त प्रौढोक्ति 

    कुनै पात्रका माध्यमबाट काव्यात्मक विषयवस्तुको कथन गराउनु नै आख्यानीकृत कथन हो । कविद्वारा निर्मित पात्रहरूका माध्यमबाट प्रस्तुत गराइने हुनाले यसलाई कथ्य–कथन भनिन्छ । यसलाई कविनिबद्धप्रौढोक्ति पनि भनिन्छ ।

    नाटकीकृत कथन

    कविनिबद्ध वक्ताद्वारा संवाद र विभिन्न दृश्य एवम् मनोवाद आदिको माध्यमले काव्यात्मक विषयवस्तुको कथन गराउनु नाटकीकृत कथन हो । नाटकीकृत कथनमा प्रथम र द्वितीय पुरूष बीचको संवाद हुन्छ तर कविकथन र आख्यानीकृत कथनमा भने प्रथमा तृतीय पुरूषको प्रयोग हुन्छ । खण्डकाव्यमा यी मध्ये कुनै एक पद्धतिको प्रयोग वा एक मुख्य र अन्य गौण रूपमा पनि उपस्थित भएर आउने गर्दछन् । 

    अलङ्कार तथा प्रतीक 

    साहित्य भाषिक कला हो भने कला स्वयम्मा एउटा अलङ्कार हो । अलङ्कार भनेको सामान्य अर्थ काव्यको आभूषण वा गहना हो भन्ने बुझिन्छ । पूर्वीय संस्कृत विद्वान्हरूको ‘काव्यशोभाकरान् धर्मान् अलङ्कारम् प्रचक्षते’ भन्ने मान्यताले अलङ्कारलाई काव्यको गहनाको रूपमा उभ्याउन सफल भएको पाइन्छ । आजभोलि भनिने बिम्ब एवम् प्रतीक पनि अलङ्कारकै भेद अन्तर्गत पर्दछन् । खण्डकाव्यमा कथन गरिएको मुख्य भावसँगै  सहचर छायाँजस्तो भई आउने अर्थलाई बिम्ब भनिन्छ । सादृश्यमूलक अलङ्कारहरू प्रायः बिम्बात्मक हुन्छन् । बिम्ब भनेको छायाँ हो भने कुनै अमूर्त भाव वा अव्यक्त कथ्यलाई व्यक्त गर्नका निम्ति प्रयोग गरिने मूल वस्तु प्रतीक हो । पूर्वीय साहित्य शास्त्रमा यसलाई व्यञ्जना शक्तिद्वारा झल्किने विधान मान्न सकिन्छ । भाषिक कलाका रूपमा आउने बिम्ब वा प्रतीकलाई अलङ्कारका उपमा दृष्टान्त, समासोक्ति र अतिशयोक्ति आदि अनेक उपभेदसँग अन्तर्गर्भित गरेर हेर्न सकिन्छ । यसले खण्डकाव्यको मूल्यलाई निकै बढाउँछ । तसर्थ अलङ्कार तथा प्रतीक विधानलाई खण्डकाव्यको तत्त्कोे रूपमा आवश्यक मानिन्छ । 

    सर्ग योजना

    खण्डकाव्यलाई निर्धारण गर्ने एउटा निश्चित तत्त्व आयाम पनि हो । खण्डकाव्य लघुकविताभन्दा उपल्लो स्तरको हुन्छ र महाकाव्यको आकारप्रकार भन्दा लघु कोटिको हुन्छ । जसमा जीवनको एकपक्षीय चित्रण हुने गर्दछ । यही क्रममा आउने अनुभूतिको श्रृखलालाई खण्डकाव्यमा चरणबद्ध समायोजन गर्नु नै सर्ग विधान हो भन्ने देखिन्छ । कतिपय खण्डकाव्यहरूमा एउटा अनुभूति घटना विषय वा प्रसङ्गलाई समेट्नका लागि सर्ग, थोपा, छाल, खण्ड वा कुनै निर्दिष्ट चिन्हद्वारा सङ्केत गरिन्छ र त्यसको विस्तार पनि गरिन्छ । कतिपयमा त्यस किसिमको व्यवस्था देखिदैन । खण्डकाव्यमा निश्चित रूपमा किटान गरिएको सर्ग हुनुपर्छ भन्ने सैद्धान्तिक मान्यताचाहिँ पाइँदैन । नेपाली खण्डकाव्यमा राजेश्वरी (बीस छाल), ऋतुविचार (छ सर्ग) , आगो र पानी (दुई भाग), मुनामदन (स–साना उपशीर्षक वा चिन्ह) आदि खण्डकाव्यमा सर्ग विधानको अनेकता पाइन्छ ।
     यसरी निष्कर्षमा भन्दा खण्डकाव्य निर्माणका लागि शीर्षक, आख्यान, रसभाव, केन्द्रीय कथ्य, पात्रविधान, परिवेश विधान, लयविधान, भाषाशैली, कथनपद्धति, अलङ्कार, सर्गयोजना, गुण जस्ता महत्त्त्वपूर्ण तत्त्वहरूको आवश्यकता पर्दछ । यी कुरामध्ये कुनै एकको अभावमा खण्डकाव्य अपूर्ण हुने अथवा खण्डकाव्यले उत्कृष्टता प्राप्त गर्न नसक्ने हुँदा तत्त्वको रूपमा लिनु उपयुक्त देखिन्छ । 

    ऋतुविचार खण्डकाव्यको हेमन्तविचारको विश्लेषण
     
    खण्डकाव्यकार परिचय 

    वि.स. १९४१ पुस २६ गते कास्की जिल्लाको अर्घौँअर्चले भन्ने ठाउँमा जन्मेकालेखनाथ पौड्याल नेपाली साहित्यमा कवि शिरोमणि उपाधिले सुपरिचित छन् । संस्कृतविषयमा मध्यमा (आइ.ए) तहसम्म औपचारिक शिक्षा हासिल गरेका पौड्याल विशेषगरी कवितालेखन र खण्डकाव्य क्रियाशील साहित्यिक व्यक्तित्व हुन् । अनुवादपरम्परामा विकसित भइरहेको नेपाली कवितासाहित्यलाई आधुनिक कालमाप्रवेश गराउन उनको महत्त्त्वपूर्ण योगदान रहेको देखिन्छ । उनका प्रकाशित कृतिहरू ऋतुविचार (खण्डकाव्य, १९७३–१९९०), बुद्धिविनोद (खण्डकाव्य, १९७३), सत्यकलि संवाद–खण्डकाव्य, १९७६), गीताञ्‍जली (खण्डकाव्य, १९८६), त्याग र उदयको अमर प्रकाश (खण्डकाव्य,२००२),अमर ज्योतिको सत्य स्मृति (खण्डकाव्य,२००८) तरूण–तपसी–नव्यकाव्य,२०१०), मेरो राम (खण्डकाव्य,२०११), गंगागौरी (अपूर्ण महाकाव्य २०१८–२०२२) जस्ता कवितात्मक कृतिहरू प्रकाशित छन् । खण्डकाव्यकार पौड्यालका विशेषता र प्रवृत्तिहरू पनि रहेका छन् । आध्यात्मिक तथा धार्मिक विषयवस्तुमा कलम चलाउने, शास्त्रीय छन्दमा कलम चलाउने, मानवतावादी विचारधारा, प्रकृतिचित्रणमा रमाउने,पूर्वीय दर्शनलाई आफ्नो मूल आदर्श बनाउने, विभिन्न अलङ्कार प्रयोगमा माहिर, नीतिपक्षलाई विशेष जोड, शृङ्गारिकतालाई विशेष जोड दिने खण्डकाव्यकार भएको पाइन्छ । नेपाली साहित्य र सिर्जनामा महत्त्त्वपूर्ण योगदान पु¥याएवापत् खण्डकारव्यकार पौड्याल प्रतिष्ठित पुरस्कारबाट सम्मानित भएको पनि पाइन्छ । राज्यको तर्फबाट कविशिरोमणि उपाधी (२००८), सार्वजनिक रथयात्रा तथा अभिनन्दन (२०११), हुलाक टिकट प्रकाशन (२०२३), त्रिभुवन पुरस्कार (२०२६) आदि हुन् । यसरी नेपाली साहित्यका त्रिमुर्ति (लेखनाथ पौड्याल, बालकृष्‍ण सम, लक्ष्मीप्रसाद देवकोटा) मध्येका एक हस्तीका रूपमा पौड्याललाई नेपाली साहित्यमा श्रद्धाका साथ मूल्याङ्कन गर्ने गरिन्छ । यस्ता खण्डकाव्यकार पौड्यालको वि.स. २०२२ साल फागुन ७ गते देवघाटमा निधन हुन पुग्‍यो ।   

    ऋतुविचार खण्डकाव्यको परिचय 

    लेखनाथ पौड्यालको ऋतुविचार खण्डकाव्य प्रकाशित हुनअघि माधवी पत्रिका (सन् १९०८) मा उनको ४८ पद्यको वर्षाविचार छापिएको पाइन्छ । त्यसको आठ वर्षपछि सन् १९१६ मा वर्षाविचारसँगै अरू पाँचवटा ऋतु विषयक कविताहरूलाई पनि थपेर सिङ्गो खण्डकाव्य ‘ऋतुविचार’ प्रकाशित भएको हो । त्यसपछि सन् १९३५ मा परिमार्जित, संशोधित रूपमा यसको दोस्रो संस्करण छापिएको देखिन्छ । ‘ऋतुविचार खण्डकाव्यमा लेखनाथ पौड्यालको प्रकृति चेतना र चिन्तन व्यञ्जित भएको पाइन्छ । समालोचक त्रिपाठीले यस खण्डकाव्यलाई प्रकृतिकाव्य भनेका छन् । यस काव्यमा नैतिक–आध्यात्मिकसँगै लेखनाथको सूक्ष्म प्रकृति–पर्यवेक्षण प्रकट भएको छ भन्ने विचार पाइन्छ ।  ऋतुविचार खण्डकाव्यमा कविले प्रकृतिका विविध रूपको काव्यात्मक वर्णन गरेका छन् । प्रकृतिको वर्णनसँगै प्रकृतिमा हुने परिवर्तन अनि त्यसका कारणहरूको पनि सूक्ष्मअवलोकन गरेका छन् । ऋतुहरूमाथि चिन्तन गरिएको यस खण्डकाव्यमा ऋतुचक्रसँगैमानवीय साथै मानवेत्तर जीवन पनि सञ्चालित भइरहेको हुन्छ र मान्छे जैवकेन्द्री परिवेश र परिस्थिति चक्रमा घुमिरहेको हुन्छ भन्ने भाव व्यक्त गरिएको छ । 

    ऋतुविचार खण्डकाव्यले मानवलाई मनोवैज्ञानिकतहमा प्रकृतिका नजिक ल्याउने प्रयासगरेको छ अनि ऋतुहरूमा हुँदै गरेको अस्वाभाविक परिवर्तनमा सचेत हुने र एकबद्ध हुने प्रेणात्मक कार्य गरेको छ । ऋतुविचारले प्रकृतिको हरियो विचारलाई खोज्ने प्रयास गरेको छ । यस खण्डकाव्यमा नारी अनि प्रकृतिको निकटस्थ सम्बन्धमाथि पनिनिरीक्षण गरिएको छ । नारीवादल नारी उन्मुक्तिको आवाज लिएर अघि बढिरहेको छ भने पारिस्थितिक नारीवाद (इकोफेमिनिज्म) (ले नारी अनि प्रकृतिको भावनात्मक रनिकटस्थ सम्बन्ध रहेको तथ्यलाई उद्घाटन गरेको छ । लेखनाथको ऋतुविचारमा नारीलाई प्रकृतिका निकटमा राखिएको छ । प्रकृति अनि नारीलाई एकअर्काका पर्यायकारूपमा हेरिएको छ । 

    हेमन्त विचारको विश्लेषण 

    हेमन्तऋतु हिन्दू ऋतु अनुसार ६ वटा ऋतु मध्यको एक ऋतु हो । शरदऋतुको समाप्ती पछि हेमन्तऋतु (हेमन्तर्तु) सुरू हुन्छ । हेमन्तऋतुमा मौसम चिसो हुन्छ । प्रायः हिमपात बढी जसो यसै ऋतुमा हुने भएकाले यो ऋतुको नाम हेमन्तऋतु रहेको थाहा हुन आउँछ । मंसिर महिना र पुस महिना हेमन्तऋतु भित्र पर्दछन् । यहाँ खण्डकाव्यकार पौड्यालको ‘ऋतुविचार’ खण्डकाव्यमा समाविष्ट हेमन्त विचारको प्रकृति, समाज, धार्मिक÷साँस्कृति, दर्शन, भाव÷रस, बिम्ब, अलङ्कार आदि अध्ययन गरिएको छ । 

    प्रकृतिका यावत् स्वरूपहरूको वर्णन गर्ने क्रममा नेपाली जीवनजगत, धर्म, सस्कृति, कृषिकर्म, चाडपर्व, प्रकृति एवम् जीवनजगतका विभिन्न परिस्थितिको उतार चढाव तथा आगमन प्रत्यागमनलाई यस खण्डकाव्यको मूल विषय वस्तु बनाएको पाइन्छ । प्रकृतिजगत जसरी क्षणक्षणमा परिवर्तन भइरहन्छ त्यसैगरी मानव जीवनमा पनि त्यस परिवर्तनको प्रभाव पर्दछ । प्रकृतिको रूपरङ्गमा परिवर्तन आएजस्तै जीवनचक्रमा पनि परिवर्तन आइरहन्छ भन्ने चर्चा प्रस्तुत भएको पाइन्छ । अझ ऋतुविचारमा प्रकृति एवम् जीवन र जगत्का सुक्ष्म पाना पल्टाएर लेखनाथले काव्य चैतन्य दर्शाएका छन् । नेपाली साहित्यमा अनुकरणीय व्यक्तित्व बन्न सफल भएका लेखनाथको कविता ऋतुविचारमा वान्किला र फूर्तिला भएका छन् । व्यावहारिक सत्तामा अडेस लागि पारमार्थिक सत्तालाई आव्हान गर्ने लेखनाथ ठाउँ–ठाउँमा पूर्वीय चिन्तनको तारिफ गर्नमा व्यस्त छन, यिनले प्रकृति र जीवनका सृष्टि र समाधिका चर्चा प्रस्तुत गरेका छन् (रिसाल,२०५८: १७३) । 

    कुइरामा कठै ! काग घुम्छन् अन्योलमा परी ।
    मायाले मुक्तिको मार्ग बिर्सेका विषयी– सरी ।। 
                                        हेमन्तविचार- ३२ 

    यसैगरी कविले हेमन्त विचारमा कुइरोलाई लिएर कवि विभिन्न भाव चित्र बनाउँछन् र त्यसलाई पनि आध्यात्मिक सन्देशको संम्प्रेषणमा उपयोग गर्दछन् ।

    विचार गर्दा उसको न रेखा छ न रङ्ग छ ।
    ब्रह्ममा विश्व झै खाली भ्रान्तिको त्यो तरङ्ग छ ।।

    सूर्योदय भएपछि कुइरो फाट्छ र हराएर जान्छ । त्यसको रङ्ग रेखा केही रहँदैन । यस दृश्यबाट कवि के भन्न चाहन्छन् भने जसरी ब्रह सत्य हो र विश्व भ्रम हो उसैगरी प्रकाश सत्य हो र कुइरो भ्रम हो भन्ने दार्शनिक विचार कवि व्यक्त गर्दछन् । यसबाट ‘ब्रह सत्य जगन्मिथ्या’ को दर्शन प्रतिध्वनित हुन्छ ।  

    कुइरामा कठै ! काग घुम्छन् अन्योलमा परी ।
    मायाले मुक्तिको मार्ग विर्सेका विषयी– सरी ।। 
                                        हेमन्त विचार-३२

    खण्डकाव्यकारले यहाँ हेमन्त ऋतुका कागहरूको उदाहरण दिंदै मायाले विषयवासनामा भुलेका मानिसले मुक्तिको बाटो छोड्दछ वा छाडेका छन् भनेर वर्णन गरेका छन् । हेमन्त ऋतुमा चारैतिर कुहिरो व्याप्त हुनाले कागहरू अन्योलमा पर्दछन् वा आफ्नो बाटो पहिल्याउन सक्दिैनन् जसरी माया र ममतामा भुलेका विषयीहरूले मुक्तिको मार्ग पहिल्याउन सक्दैनन् भन्ने खण्डकाव्यकारको अवधारणा रहेको छ । यो वेदान्त दर्शनको कुरा लिएर खण्डकाव्यकार प्रकृतिको वर्णन गर्न तम्सिएका छन् र सम्पूर्ण पाठकहरूलाई नैतिक उपदेश दिइरहेका छन् । यस पंक्तिमा नैतिक उपदेशभन्दा पनि वेदान्त दर्शनको स्वर टड्कारो देखिन्छ । यहाँ दार्शनिक भाव पाइन्छ । 

    हेर्दा तुषारो राम्रो छ, कुल्चँदा र समाउँदा ।
    कक्रक्क पारी तत्कालै सातो हर्दछ सर्वदा । 
                                    हेमन्तविचार-४३ 

    यस पंक्तिमा चिसो ठण्डीले मानिसहरूलाई कस्तो अवस्थामा पु¥याउँछ भन्ने चित्रण छ भने अर्कातिर गर्मीको राप र तापले पशुपक्षीमा  र मानिसमा कस्तो अवस्था सिर्जना गरिदिएको छ भन्ने चित्रण छ ।

    गेरु–रङ्ग फलाककनम्र सुन्तला कीपका रूख ।
    फुस्रा हेमन्त बाबाका चेला झैँ छन् ति संमुख ।।
                                     हेमन्तविचार-८


    सुन्तला छन् फिलिङ्गा झैँ फुस्स हुस्सू धुवाँ सरी ।
    विना आगो पनी झल्क्यो धुनीमा दिव्य माधुरी ।।
                                हेमन्तविचार-१०

    छोपेकी हिमवर्षाले पृथिवी छन् यो घरी
    कुनै कपास झैँ सेतै फुलेकी बुढिया सरी ।
                              हेमन्तविचार-११

    बेलुका सुतदा अर्कै रंगमा सब सृष्टि छ । 
    बिहान उठ्दा अर्कै सेताम्मे हिम–वृष्टि छ । 
                              हेमन्तविचार-३७ 

    ‘ऋतुविचार’ खण्डकाव्यको हेमन्तविचारमा चित्रित प्रकृतिलाई हेर्दा खण्डकाव्यकार लेखनाथले प्रकृतिको चित्रणभन्दा तन्मय चित्रणमै आफूलाई ज्यादा केन्द्रित गरेको देखिन्छ । खण्डकाव्यकारले प्रकृतिलाई मानवीकरण गर्ने प्रयास गरेका छन् । मानव र प्रकृतिका बीचमा देखापर्ने साधर्मीहरूको मात्रै चित्रण गरेका छन् भन्न सकिन्छ । प्रकृति चित्रणका विविध प्रविधि, शैली र तौरतरिका भए पनि प्रकृति चित्रणका दृष्टिले आधुनिक नेपाली खण्डकाव्यको इतिहासमा पहिलो र स्तरीय मान्यता पाएको छ । 

    मेघ–नाघ छँदैछैन पन्छाई–।–वि भीषण । 
    रात्रि–शूर्पणखाले त्यो जगायी हिम–रावण ।।
                                  हेमन्तविचार-६४

    खण्डकाव्यकार पौड्यालले हेमन्तविचारमा शब्दालङ्का र अर्थालङ्कार ज्यादा प्रयोग गरेको पाइन्छ । समाविष्ट सबै श्लोक तथा पंक्तिमा अन्त्यानुप्रासको पूर्ण पालना हुनुले काव्यलाई पूर्ण रूपले भाषिक सजावट प्राप्त भएको मान्न सकिन्छ । अधिकांश मात्रामा रूपक, उपमा, दृष्टान्त, उत्प्रेक्षा, श्लेषजस्ता अलङ्कारको प्रयोग गर्दै खण्डकाव्यकारले आफ्ना भावनालाई सुन्दर रूपमा प्रस्तुत गरेका छन् । श्लेष अलङ्कारको प्रयोगले आफ्ना आलङ्कारिक प्रयोगको क्षमतालाई परिचित गराएको पाइन्छ । अलङ्कारको प्रयोग सहज, स्वभाविक, रूपमा भएकोले खण्डकाव्यकारको भावनालाई तीव्र र सुन्दर पार्न विशेष भूमिका लेखेको देखिन्छ । 

    कन्था विकासका भद्दा थाङ्नामा मस्त भैकन् ।
    हालका कविजी जस्तै लागे गरीव खुम्चिन ।। 
                                    हेमन्तविचार-८०

    खण्डकाव्यकारले आफ्ना काव्यमा सबै पात्रलाई नामोल्लेख गरेर भए पनि सम्मान  दिनुपर्छ र सबैको एकत्वमा पूर्णता आउँछ भने झैँ माथि उल्लेखित पंक्तिमा लेखका छन् । त्यसैले होकी  एक–एक  पात्रमा र एक–एक चरित्रमा काव्यकृत्रि लेख्ने कविहरूलाई गरिबीको स्थिति चित्रण गर्ने सन्दर्भमा व्यङ्ग गरेको देखिन्छ । 

    निष्कर्ष 
    प्रकृतिको अनेकतामा एकता छ र एकतामा अनेकता देख्ने लेखनाथ पौड्यालद्वारा लिखित ‘ऋतुविचार’ खण्डकाव्यअन्तर्गत हेमन्तविचारमा प्रकृतिको उपसना गरिएको छ । प्राकृतिक विराटताको संक्षिप्त चिनारी छ । पंक्ति-पंक्तिमा शब्द माधुर्यको अनौठो तारतम्य मिलाइएको छ । सोही कारण प्रत्येक पंक्ति हृदयस्पर्शी र मधुरताले झल्किएका छन् । यस विचारमा विशुद्ध प्रकृतिको चित्रण नगरी व्यवहारवाहिनी प्रकृतिलाई उतारिएको छ । यस विचारमा देखापर्ने प्राकृतिक, सामाजिक र दार्शनिकताले ‘ऋतुविचार’ लाई विशिष्ट काव्यका रूपमा गनिन सहयोग पुर्याएको छ । आध्यात्मिक बुद्धिवादका खण्डकाव्यकार लेखनाथको हेमन्तविचारमा लेखनाथीय प्रतिभामा पेलिएर खारिएको आध्यात्मिक दर्शन सुकोमल ढङ्गले व्यक्त गरिएको छ । दर्शन एक रूखो विषय भए पनि लेखनाथको सरस भाव पुञ्जभित्र घोलिएर सहज वोध बन्न पुगेको छ । लेखनाथको भाव संक्षिप्त रूपमा अभिव्यक्त भएको छ । यसर्थ भावधाराको सहज बोधदे गर्दा पनि पनि पाठकहरूको हृदयमा लेखनाथीय दर्शन भाव सरसताको साथमा अङ्कित रहन्छ । हेमन्तविचारमा पौड्यालको अध्यात्मिक चेतना पनि ठाउँ–ठाउँमा प्रकट भएको छ । यसमा उनले खास गरी वेदान्त, साङ्ख्य र योगजस्ता पूर्वीय अध्यात्म दर्शनका मान्यताहरूको उपयोग गरेको पाइन्छ । वेदान्तदर्शनकै विषयी, माया र मुक्तमार्गसम्बन्धी दृष्टिको घतलाग्दो काव्यात्मक अभिव्यक्ति हेमन्तविचारभित्र गरिएको छ । यी सम्पूर्ण दार्शनिक सन्दर्भहरूले लेखनाथ पौड्यालको अन्तर्विकासशील अध्यात्मचेतनाको छनक दिएका छन्, र उनको कवितात्मक विषयवस्तुमा त्यसको उल्लेख्य स्थान छ भन्ने सङ्केत पनि कविले गरेको पाइन्छ । शब्दाअलङ्कार र अर्थालङ्कारको र त्यसका शाखा अलङ्कारको प्रयोगले खण्डकाव्य लयात्मक बनेको छ ।   

    सन्दर्भ सामग्री

    अधिकारी, हेमाङ्गराज (२०५६). पूर्वीय समालोचनाको सिद्धान्त (छै.सं.), ललितपुर:साझा 
    प्रकाशन । 

    अवस्थी, महादेव (२०६१). लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यकारिता, प्रकाशित 
    विद्यावारिधि शोधग्रन्थ, त्रि.वि. कीर्तिपुर । 

    आचार्य, कृष्णप्रसाद (२०६४). शोधविधि, सिर्जना र संस्कृत काव्यशास्त्र, कीर्तिपुर: क्षितिज
    प्रकाशन । 

    उपाध्याय, केशवप्रसाद (२०४९). साहित्य प्रकाशन (पाँ.सं.),ललितपुर: साझा प्रकाशन ।

    गैरे, ईश्वरी प्रसाद, (२०६०). आधुनिक नेपाली खण्डकाव्य र महाकाव्य, काठमाडौं: न्यू हिरा 
    बुक्स इन्टरप्राइजेज । 

    घिमिरे, माधव (२०३९). पच्चीस वर्षका नेपाली खण्डकाव्य (सम्पा.), काठमाडौं : ने.रा.प्र.प्र. । 

    ढुङ्गाना, लावण्यप्रसाद र दाहाल, घनश्याम (२०५७). खण्डकाव्य सिद्धान्त र नेपाली 
    खण्डकाव्य, काठमाडौँ: भुँडीपुराण प्रकाशन ।

    निरौला, फणिन्द्र र लेख प्रसाद (२०६५). नेपाली कविता नाटक र साहित्यको इतिहास,
    काठमाडौं: प्रधान बुक्स हाउस ।

    निरौला, लेखप्रसाद (२०६६). राष्ट्रकवि घिमिरेको खण्डकाव्यकारिता, काठमाडौं:
    सनराइज पब्लिकेसन्स प्रा. लि. । 

    न्यौपाने, टंकप्रसाद (२०४९). सात्यिको रूपरेखा (दो.सं.), काठमाडौं: साझा प्रकाशन ।

     पोखरेल, बालकृष्ण र अन्य (२०५५). नेपाली बृहत् शब्दकोश (सम्पा.), काठमाडौं: साझा
    प्रकाशन । 

    पोखरेल, भानुभक्त, (२०४०). सिद्धान्त र साहित्य, विराटनगर: मूलचन्द्रशर्मा श्याम पुस्तक 
    भण्डार ।

    रिसाल, राममणि (२०५८). नेपाली काव्य र कवि, (पाँ.सं.), ललितपुर साझा प्रकाशन । 

    वामन, (२०३३), काव्यालङ्कारसूत्राणि, वाराणसी: चौखम्बा संस्कृत संस्थान ।

    शर्मा, भागवत र अन्य (२०५३). मधुरिमा (सम्पा.), वेलझुण्डी दाङ ।

     शर्मा, मोहनराज र लुइटेल खगेन्द्र प्रसाद (२०६३). पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त
    (दो.सं.), काठमाडौं: विद्यार्थी पुस्तक भण्डार । 

    त्रिपाठी, वासुदेव (२०४५). सिद्धिचरणका प्रतिनिधि कविता, काठमाडौं: साझा प्रकाशन ।

    त्रिपाठी, वासुदेव र अन्य (२०४६). नेपाली कविता भाग-४, ललितपुर: साझा प्रकाशन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij