Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सुन्तला ढुवानी गर्न कठिनाइ

सुन्तला ढुवानी गर्न कठिनाइ

  • 220
    SHARES
  • सुन्तला ढुवानी गर्न कठिनाइ

    पर्वत । गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ ।

    यहाँ एउटै गाउँमा लाखौँ रूपैँयाको सुन्तला उत्पादन भए पनि बजारमा पुर्याउन सकिएको छैन । बाँसखर्क जोड्ने वारीबेनी-बगर-बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न समस्या भएको छ ।

    ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानी गर्न समस्या भएको स्थानीय जगतबहादुर खत्रीले जानकारी दिए ।

    उनले भने, ‘जीपमा थोरै सुन्तला टिपेर बेनी-मालढुङ्गा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता छ । यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।’

    अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ । तर जीर्ण सडकका कारण ठुला ट्रक र टिपर गाउँसम्म पुग्न सक्दैनन् ।

    जीप मुस्किलले गाउँसम्म पुग्ने  कृषक खत्रीले गुनासो गरे । ठूला ट्रक तथा कन्टेनरबाट एकैपटक ढुवानी गर्न पाए सहज हुने सुन्तला खरिद गर्न बगानमा आएका कालीमाटीका एक व्यवसायीले बताए ।

    दश किलोमिटरको दूरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको उनले बताए । जलजला गाउँपालिका-२ वारीबेनीदेखि वडा नं १ बाँसखर्क जोड्ने सडक कालोपत्र गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) स्वीकृत भइसकेको छ ।

    तर बजेट विनियोजन नहुँदा स्तरोन्नति हुन सकेको छैन । दश  किलोमिटर लामो उक्त सडकमा २२ करोड खर्च हुने अनुमान गरिएको छ ।

    बर्सेनि सुन्तला ढुवानी गर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ । सडक निर्माण भएमा यहाँ उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रवर्द्धन गर्न सकिने छ ।

    पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले चालु आवमा बाँसखर्क जोड्ने कुनै पनि सडकका लागि बजेट विनियोजन नभएको बताए ।

    मिलनचोक-माझफाँट-बाँसखर्क सडकका लागि एक करोड विनियोजन भए पनि त्यसले जम्मा एक किलोमिटर मात्र कालोपत्र गर्न सकिने उनले बताए ।

  • सम्बन्धित विषय:

  • # सुन्तला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij