वेबटिभी खबर
म्याग्दी । बेनी–बागलुङ सडकमा चितुवालगायत जंगली जनावर गुडिरहेका सवारी साधनमा ठोक्किएर पछिल्लो एकसातायता दुईवटा दुर्घटना भएका छन् ।
म्याग्दीमा जंगली जनावरले दुःख दिएका दर्जनौं घटना छन् । विगत दुई वर्षयता जंगली जनावरको आतंक बढ्दै गएपछि पशुचौपायाका साथै मानिसलाई समेत खतरा उत्पन्न भएको स्थानीय बताउँछन् ।
वन्यजन्तुले खेतीबाली र बाख्रा खान थालेपछि ग्रामीण क्षेत्रका बासिन्दा समस्यामा परेका छन् । सडक छेउछाउमा चितुवा देखिन थालेपछि दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।
जंगल नजिकका गाउँमा चितुवा, बँदेल, बाघ, मृग, भालुलगायत जनावरले दुःख दिने क्रम बढेको मालिका–१ का तिलमाया पुनले बताइन । चितुवाले खोरबाटै बाख्रा लगेपछि व्यावसायिक बाख्रापालन गर्दै आएका कृषक समस्या छन् ।
‘मान्छेलाई नै आक्रमण गर्न खोज्छन् । अन्नबाली नष्ट गर्नुका साथै स्थानीयमा डर पैदा गरेका छन्,’ जंगली जनावरको आतंकबारे जलेश्वरका इन्द्र बरुवालले भने । उनले दैनिकजसो बाँदरको उपद्रो नियन्त्रणका लागि सरोकारवाला निकायलाई सहयोगका लागि अनुरोध गरिरहेको बताए ।
जति धपाए पनि बाँदर फेरी बस्ती आसपासमा आउने गरेका छन् । समूहमा हिँड्ने र बालीनालीलाई एकैछिनमा सखाप पार्ने हुँदा किसान बाँदरबाट आक्रान्त बनेका हुन ।
जलेश्वर र गलेश्वर क्षेत्रमा देखिएका बाँदरको चरित्र र आनीबानीबारे अनुसन्धान गर्न स्थानीयबासीले जनप्रतिनिधिलाई समेत अनुरोध गरेका छन् । पहिले जंगलमै भुल्ने बाँदर बस्तीतिर सरेपछि सर्तकता अपनाउनुपर्ने अवस्था आएको छ ।
बँदेलले रातारात आलु खेती नष्ट गर्ने क्रम बढेको आलु किसान बताउँछन् । हुलकाहुल आउने बँदेलले एक रातमा ठूलो क्षेत्रको आलु खेती नष्ट गरेका मालिका–१ का किसान टेकबहादुर पुनले बताए । ‘बाँदर र बँदेलले खेतीबाली नष्ट गरेर धेरै क्षति पु¥याइरहेका छन्,’ उनले भने, ‘अझ चितुवाले बाख्रासमेत मार्ने क्रम बढ्दा धेरै कृषकले नोक्सानी व्यहोर्नुपरेको छ ।’
बाँदर थपाउन खोज्दा उल्टै आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित छन् । बालबालिकालाई आक्रमण गर्ने चिन्ता बढेको स्थानीय बताउँछन् ।
‘जंगल क्षेत्रमा आहारा कम पाइन थालेकाले पनि हुन सक्छ जंगली जनावरको बिगबिगी गाउँ तथा बस्तीमा बढेको छ,’ डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले भने । । यहाँका जंगल आसपासका क्षेत्रमा बस्ती विस्तार हुँदा चितुवाको बासस्थान सुरक्षित नहुनु, चितुवाको आहार प्रजातिमा उल्लेखनीय कमी आउनु, प्राकृतिक आनिवानीमा परिवर्तनलगायत कारणले चितुवालगायत जंगली जनावर आक्रामक बन्दै गएका उनले बताए ।
वनजंगलमा लागेको डढेलोका कारण अहिले बासस्थान खलबलिएको अवस्थामा मानव र चितुवाको जम्काभेट हुनसक्ने सापकोटाले बताउँछन् । म्याग्दीमा चितुवाको संख्या बढेकाले आहाराको खोजीमा मानव बस्ती र सडक छेउछाउमा देखिन थालेका स्थानीयले बताएका छन् ।
ग्रामीण क्षेत्रमा लगाइएका हिउँदे र बर्खे बाली जंगली जनावरबाट जोगाउन स्थानीय रातभर जाग्राम बस्न थालेका छन् । जंगली जनावर मार्न नपाइने र धपाउनसमेत नसकिने भएपछि कृषकलाई सास्ती भएको कृषक बताउँछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij