Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

  • 168
    SHARES
  • बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढ्दै

    बाग्लुङ । चिसो मौसम सकिन थालेसँगै बाग्लुङको बेलढुंगामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुंगामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो ।

    बाग्लुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित बेलढुंगा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।

    सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि बेलढुंगामा पर्यटक आगमनमा वृद्धि भएको छ । समुद्री सतहबाट दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुंगालाई पर्यटकीय गन्तव्य बनाउन गण्डकी प्रदेश र काठेखोला गाउँपालिकाले बर्सेनि लगानी गर्दै आएको छ ।

    उच्च पहाडी क्षेत्रमा रहेको हुँदा यहाँबाट धवलागिरिसहित दर्जनौँ हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ । सूर्योदय हेर्नका लागि पनि पर्यटक बेलढुंगा पुग्ने गरेका हुन ।

    बेलढुंगाा नजिकै खाना बस्न र स्थानीय कला–संस्कृतिसँग रम्न सामुदायिक घरबास (होमस्टे) रहेको हुँदा विदेशी पर्यटक पनि समय–समयमा यहाँ आउने गरेको पाइन्छ । बाग्लुङ र म्याग्दी दुवैतर्फबाट गाडी तथा पैदलयात्रामार्फत यहाँ पुग्न सकिन्छ ।

    दसैँ र तिहारको बीचमा दैनिक करिब पाँच सयको हाराहारीमा पर्यटक आएपछि गत माघ पहिलो सातासम्म बेलढुंगा सुनसान रहेको बेलढुंगा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले बताए ।

    माघयता झण्डै एक हजार दुई सय पर्यटक बेलढुंगा आएको उनको भनाइ छ । अधिकांश पर्यटक दिउँसो आएर साँझ फर्कने गरेको जनाउँदै घरबासमा बास बस्ने गरी आउने निकै कम भएको छ । आधा दशक अगाडिसम्म सुनसानजस्तै रहेको बेलढुंगा केही वर्षयता पर्यटकले भरिभराउ हुँदै गएको अध्यक्ष श्रीसले जानकारी दिए ।

    सरकारले पनि यस क्षेत्रको विकासका लागि चासो देखाएको उनी बताउँछन् । गत वर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरेको दुई लाख ५९ हजार र गण्डकी प्रदेश सरकारले २० लाख बजेट विनियोजन गरेको भन्दै यस वर्ष पनि गाउँपालिकाबाट पाँच लाख विनियोजन भएको श्रीसको भनाइ छ ।

    पोहोर साल देउराली डाँडाबाट बेलढुंगा सम्म जोड्ने दुई सय ६० मिटर पदमार्गमा स्लेटढुंगा बिच्छ्याएको र बाग्लुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल ल्याण्ड बनाएको भन्दै यस वर्ष ‘भ्यू प्वाइन्ट’ व्यवस्थापन गर्न थालिएको उनले बताए ।

    ‘पहिलेको तुलनामा अहिले बेलढुंगाको स्वरुप नै फेरिएको छ, धेरै व्यवस्थित पनि बनेको छ, प्रचारप्रसार पनि उत्तिकै भएर होला पर्यटक आगमनमा निकै उत्साह देखिएको छ, यस्तो ठाउँमा यसरी पर्यटकको ओइरो लाग्ला भन्ने हामीहरूले सोचेका थिएनौँ तर विकासले गति लिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या निकै बढेको छ, हामीलाई निकै उत्साहित बनाएको छ’, श्रीसले भने, ‘यहाँ अझै थप संरचना बनाउनुपर्ने छ, ती संरचना बने भने यस क्षेत्रको मुहार फेरिने अपेक्षा गरेका छौँ ।’

    पछिल्लो समय बिदाको दिन विभिन्न संघ संस्था तथा विद्यालयबाट विद्यार्थी घुम्न र उच्च पहाडी हावापानीसँग रम्नका लागि आउने गरेका छन । बाग्लुङ बजारबाट गाडीमा साढे एक घण्टा र म्याग्दीको बेनीबाट एक घण्टामा बेल्ढुंगा पुग्न सकिन्छ ।

    बेलढुंगा नजिकै म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम रहेको छ । यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुंगा चढ्न आउने गरेका छन । दुई वर्ष अगाडिसम्म बेलढुंगामा जोखिम मोलेर चढ्नुपथ्र्यो भने अहिले पदमार्गमार्फत सहजरूपमा टुप्पोमा पुग्न सकिन्छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij