वेबटिभी खबर
बाग्लुङ । पर्यटन याम सुरु भएसँगै बाग्लुङका घरबास (होमस्टे) मा पर्यटक बढ्न थालेका छन । दसैँ तिहारको समयमा भरिभराउ भएका घरबास जाडोयाम सुरु भएपछि पाहुना कम भएका थिए ।
माघ दोस्रो सातादेखि पुनः घरबासमा पर्यटक आउन थालेका हुन । बाग्लुङमा आधिकारिक रुपमा दर्ता भएका २८ सामुदायिक तथा व्यक्तिगत घरबास छन् भने केही दर्ता विनानै सञ्चालनमा छन ।
जिल्लाको बाग्लुङ नगरपालिका–१० भुकण्डेमा सबैभन्दा बढी घरबास भएको पाइन्छ । कुण्डेमा १५ वटा सामुदायिक घरबास रहेका छन । काठेखोल, बरेङ, ढोरपाटन, लगायतका ठाउँमा पनि घरबास सञ्चालनमा छन।
पछिल्लो समय सबैभन्दा बढी चल्ने मध्येमा भकुण्डेस्थित अतिथि सत्कार सामुदायिक घरबास र काठेखोला गाउँपालिका–३ बेलढुंगामा रहेको बेलढुंगा सामुदायिक घरबास पर्छन् ।
भकुण्डेबाट पूर्वदेखि पश्चिमसम्म अनगिन्ती हिमशृृङ्खलाको अवलोकनसँगै उच्च पहाडी क्षेत्रको दृश्यावलोकन गर्न सकिने र बेलढुंगाबाट हिमालीसँगै पहाडी जिल्लाका धेरै ठाउँ देख्न सकिने हुँदा पर्यटक घुम्न आउने गर्छन् ।
पर्यटकीय क्षेत्र भएकै ठाउँमा घरबास सञ्चालनमा रहेको हुँदा पर्यटकलाई खान, बस्नको लागि सहज भएको छ भने स्थानीयवासीलाई आयआर्जनको माध्यम बनेको छ । बाग्लुङ नगरपालिका–१० भकुण्डेका घरबास सञ्चालक याम थापाले आन्तरिकसँगै बाह्य पर्यटक आउन थालेको बताए ।
आन्तरिक पर्यटक एक दिन आउने र बास बसेर जाने गरेको भन्दै विदेशी पाहुना केही दिन बस्ने उनको भनाइ छ । भकुण्डेमा रहेको बराह ताल र भ्युटावरमा चढेर रमाउनका लागि प्रत्येक साता दुई दिन पर्यटकको बढी चहलपहल हुनेछ ।
पर्यटक आउन थालेपछि घरबास संचालकहरुको आय आर्जनसमेत राम्रो बन्दै गएको उनले बताए । थापाका अनुसार महिनामा करिब पाँच सय पर्यटक घरबासमा बास बस्ने गरी आउने गरेका छन ।
घरबास सञ्चालक थापाले भने, ‘अहिले पर्यटक आउन थालेका छन्, बर्खामा सुनसान जस्तै भएको थियो, दसैँ तिहारका बेला धेरै आए, जाडो भएर होला बीचमा निकै कम भएको थियो, विदेशी पर्यटक पनि आइरहेका छन्, अमेरिकन र कोरियन पर्यटक बढी आउँछन्, घरबासलाई व्यवस्थित बनाउँदै गएका छौँ, त्यसले गर्दा पनि मान्छेहरु एक रात भए पनि बस्नका लागि यहाँ आउनुहुन्छ, उहाँहरुलाई जति सक्दो सन्तुष्ट बनाएर पठाउने कोशिस गरिरहेका छौँ ।’
बेलढुंगा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले घुम्न आउने पर्यटकको सङ्ख्या बढेपछि बास बस्न आउने पाहुना पनि विस्तारै बढ्न थालेको बताए । बाह्रैमहिना नियमित पर्यटक नआउँदा घरबास सञ्चालनमा समस्या भएको सुनाउँदै पर्यटकीय याम सुरु भएपछि घरबासमा सबै पाहुना आउने उनको भनाइ छ ।
घरबासलाई पाहुनाको चाहना र माग अनुसार व्यवस्थित बनाएको सुनाउँदै धेरै जस्तो पर्यटकले बजारको जस्तो सुविधा खोज्ने गरेको श्रीस बताउँछन् । बेलढुंगामा महिनामा झण्डै एक हजार पाँच सय पर्यटक आउने भए पनि कम मात्रै घरबासमा आउँछन् ।
‘घरबास सञ्चालनमा नआउँदा धेरै पर्यटकलाई समस्या थियो, घुम्दाघुम्दै रात पर्यो भने बजार फर्किन समस्या हुन्थ्यो, गाउँका गोठमा बास बस्नुपर्ने स्थिति थियो, तर अहिले पर्यटकको त्यो समस्यालाई हामीहरुले समाधान गरेका छौँ’, अध्यक्ष श्रीसले भने, ‘बेला–बेला बाहिरबाट पनि पर्यटकहरु आउँछन्, अपेक्षा अनुसार पाहुना आउन सकेका छैनन् तर समग्रमा अहिले आइराखेको सङ्ख्या राम्रो हो, पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्न पनि लागिपरेका छौँ, पछिपछि धेरै आउने अपेक्षा राखेका छौँ ।’
अतिथि सत्कार घरबास भकुण्डेकी उपाध्यक्ष इन्द्रा थापा हरेक हप्ता शुक्रबार र शनिबार पाहुनाले घरबास भरिभराउ हुने बताए । अन्य समयमा पनि निरन्तर पर्यटक आइराखेको भन्दै यहाँका घरबास सञ्चालकले लगानीसमेत गरिरहेको उनको भनाइ छ । खासगरी बाग्लुङ बजारबाट धेरै पाहुना आउने हुँदा घरबास सञ्चालनमा समस्या नभएको थापाले बताए ।
उपाध्यक्ष थापाले भने, ‘पाहुना आउन थालेपछि लगानी गरिरहेका छौँ, छुट्टै घर बनायौँ, अन्य व्यवस्थापन पनि गरिरहेका छौँ, धेरैले बजारको जस्तो सुविधा खोज्छन्, गाउँमा ठिकै खालको सुविधा छ, धेरैले नेट खोज्ने हुँदा नेटको पनि व्यवस्था मिलाएका छौँ, हामीहरुले स्थानीय उत्पादन कोदोको सेलरोटी, ढिँडो, सिन्कीको अचार, लोकल कुखुरा, कालो सुङ्गुरको मासु पाहुनालाई उपलब्ध गराउने गरेका छौँ, यहाँ ठूलो टिम आयो भने १५ वटा घरबास छन्, सबैलाई मिलाएर राख्छौँ, यहाँ आउने कोही पनि पाहुनाले बास नपाएर समस्यामा पर्ने अवस्था छैन ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij