दोहा । कतारमा फिफा विश्व कप फुटबलको तयारी गर्ने क्रममा पछिल्लो एक दशकमा कम्तिमा पनि छ हजार पाँच सय विदेशी श्रमिककाे मृत्यु भएको रिपाेर्ट द गार्जियनले सार्वजनिक गरेकाे छ । मृत्यु हुनेमा सबैभन्दा धेरै नेपाल, भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट गएका मजदुर रहेका छन् । रिपोर्टका अनुसार सन् २०१० मा कतार २२ औं फिफा विश्वकपको आयोजक राष्ट्रका रुपमा छनोट भएपछि त्यहाँ हालसम्म प्रत्येक साता औसत १२ जना मजदुरको मृत्यु भइरहेको छ ।
सबैभन्दा धेरै श्रमिकको मृत्यु काम गरिरहेको समयमा उचाइबाट खसेर भएको छ । कतिपयको उचाइमा झुन्डिएर काम गर्दा सास फुलेर, कतिपयको हृदयघात तथा श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको छ । रिपोर्टका अनुसार मृत्यु हुने भारतीय, नेपाली र बंगलादेशी श्रमिकको संख्या ६९ प्रतिशत रहेको छ । मृत्युपछि औपचारिकताका लागि मात्र पोस्र्टमाटम गरिने भएकाले मृत्युको कारण पत्ता लगाउन गाह्रो हुने रिपोर्टमा दाबी गरिएको छ ।
द गार्जियनले कतारको सरकारी स्रोतलाई उधृत गर्दै यी श्रमिकको मृत्यु विश्वकप फुटबलका लागि पूर्वाधार निर्माण गर्ने समयमा भएको हो उल्लेख गरेको छ । रिपोर्टमा प्रवासी श्रमिकको मृत्युको तथ्यांक योभन्दा पनि धेरै हुन सक्ने बताइएको छ । लाखौंको संख्यामा केन्या, फिलिपिन्सलगायतका लाखौं मजदुर पनि कतारमा काम गर्ने भए पनि सूची यी देशको नाम उल्लेख छैन ।
कतारमा पछिल्लो १० वर्षमा करिब २८ लाख प्रवासी मजदुरले फुटबलको ७ वटा नयाँ रंगशाला निर्माण गरेका छन् । सन् २०२२ को जुनमा सुरु हुने विश्वको सबैभन्दा प्रसिद्ध खेलका प्रेमीलाई स्वर्गको अनुभूति दिनका लागि नयाँ मेट्रो, एयरपोर्ट, मोटरवेसहित एक नयाँ सहर पनि कतारमा निर्माण गरिएको छ । कतारमा हाल करिब २० लाख प्रवासी मजदुर काम गर्छन, जसमा धेरैजसो दक्षिण र पूर्वी एशिया, अफ्रिकाका रहेका छन् । कतारले भने आधिकारिक रुपमा विश्वकपको तयारीका क्रममा जम्मा ३७ जना श्रमिकको मृत्यु भएको बताएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij