वेबटिभी खबर
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-१६ महिला च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपाल बंगलादेशसँग २-० गोलअन्तरले पराजित भएको हो ।
बंगलादेशको जितमा सौरभी प्रीतिले गोल गरिन् । उनले खेलको २५औँ मिनेटमा पहिलो गोल गरिन् । त्यस्तै खेलका ३१औँ मिनेटमा प्रीतिले नै पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरिन् ।
नेपालकी गोलकिपर झरना डुम्राकोटीले बंगलादेशकी खेलाडी अल्पी अख्तेरलाई पेनाल्टी बक्सभित्र लडाएपछि बंगलादेशले पेनाल्टीको अवसर पाएको थियो ।
प्रतियोगितामा आयोजक नेपालसहित बंगलादेश, भुटान र भारत सहभागी छन् । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि भिड्नेछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij