Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

'चुच्चे नक्सा' भएको मात्रै पाठ्यपुस्तक किन्न निर्देशन 

'चुच्चे नक्सा' भएको मात्रै पाठ्यपुस्तक किन्न निर्देशन 

  • 1.2K
    SHARES
  • 'चुच्चे नक्सा' भएको मात्रै पाठ्यपुस्तक किन्न निर्देशन 

    काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि छापेका किताबमध्ये ७० प्रतिशत बिक्री गरेको छ । जारी निषेधाज्ञाबीच सरकारले पाठ्यपुस्तक उत्पादन र वितरणलाई अत्यावश्यक सेवामा राखेपछि लिमिटेडले छापेको किताब विभिन्न प्रदेश र जिल्लामा विक्रेतामार्फत ढुवानी गराएको हो । 

    पहिले तय भएको मुख्यप्रति (सिआरसी) का आधारमा छापिइ सकेका पाठ्यपुस्तकमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ राजनीतिक नक्सा समावेश नभएकामा सम्बन्धित पृष्ठमा नक्साको अलग्गै पृष्ठ छापेर विद्यालयमा पठाउने काम पनि केन्द्रले गरिरहेको छ ।

    हाल नयाँ नक्सासहित पाठ्यपुस्तक छापिरहेको केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले बताए । विद्यालय तहका पाठ्यपुस्तक विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने सरकारको दायित्व हो । कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रका प्रेसले उत्पादन गर्दै आएका छन् भने सो तहभन्दा माथिका लाागि जनक शिक्षाले उत्पादन गर्दै आएको छ ।

    सरकारी स्वामित्वमा रहेको लिमिटेडले वितरणका लागि मुलुकका आफ्ना प्रादेशिक र अन्य कार्यालयमा गरी एक हजार एक सय विक्रेता नियुक्त गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ नक्सा समावेश गर्न निर्देशन दिएपछि यही १५ असारमा पाठ्यक्रम विकास केन्द्रले जनक शिक्षा लिमिटेडलाई त्यसबारे पत्राचार गरेको थियो ।

    पाठ्यक्रम विकास केन्द्रले आग्रह नगरेसम्म  उत्पादनकर्ता निकायले पाठ्यपुस्तकमा परिमार्जन गर्न पाउँदैन । नयाँ (चुच्चे नक्सा) अनुसार नेपालको क्षेत्रफल बढेर एक लाख ४७ हजार ५ सय १६ कायम भएको छ । संसद्बाट संविधान संशोधन भएपछि नेपालका नयाँ राजनीतिक नक्सा ७ जेठ ०७७ मा भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सार्वजकि गरेको थियो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्दले समयमा नयाँ नक्साबारे पाठ्यसामग्रीमा परिमार्जनका लागि समयमा औपचारिक पत्राचार नगर्दा बजारमा गइसकेका पाठ्यपुस्तकमा पुरानै नक्सा समावेश भएको गुनासो आएको थियो ।

    पाठ्यक्रम विकास केन्द्रले यही १३ असारमा  ‘पाठ्यपुस्तकको प्रयोगसम्बन्धी अत्यन्त जरुरी सूचना’ जारी गरी विद्यालयमा प्रयोग हुने पाठ्यपुस्तक तथा पाठ्यसामग्रीका सम्बन्धमा पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको गत २८ जेठको निर्णयानुसार यस शैक्षिक सत्रका लागि विक्रीमा रहेका स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्रीमा अनिवार्यरुपमा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा समावेश हुनुपर्ने सूचना बिक्रेता, शिक्षक र अभिभावकमा पनि दिएको थियो । 

    गत वर्षमा नै छपाइ भएका पाठ्यपुस्तक तथा सामग्रीमा सम्बन्धित पेजमा परिमार्जन गरी नयाँ पेज समावेश गर्न पनि उक्त सूचनामा आग्रग गरिएको थियो । अनुगमन समितिले यही असार १२ मा बजार अनुगमन गर्दा पुरानै नक्सा भएका धेरै पुस्तक देखिएको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीको भनाइ छ । 

    पाठ्यक्रम विकास केन्द्रले अब पुस्तक खरिद गर्दा हेरेर मात्रै खरिद गर्न विद्यालय, शिक्षक र विद्यार्थीलाई आग्रह गरेको छ । कक्षा ४ देखि १० सम्मका सामाजिक विषयमा नेपालको नक्सासम्बन्धी पाठ रहेको छ । कक्षा १, २, ३ र ६ मा नयाँ पाठ्यपुस्तक लागू भएकाले ती पुस्तकमा स्वतः नयाँ नक्सा समावेश गरिएको जनाइएको छ ।

    लिमिटेडका प्रवक्ता चित्रकुमार आचार्यकाअनुसार यस शैक्षिक सत्रका लागि सरकारले दिएको एक करोड ८४ लाख थान पाठ्यपुस्तक उत्पादन हुनुपर्ने लक्ष्य रहेकामा हालसम्म एक करोड ३० लाख थान बिक्री वितरण भइसकेको छ । कर्णाली प्रदेशका केही जिल्लाबाहेक अन्य जिल्लाबाट पाठ्यपुस्तक अभाव भएको गुनासो नआएको केन्द्रले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij