वेबटिभी खबर
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीमा देखिएका समस्या समाधान गर्न कठोर कदम चाल्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित 'सहकारीमा दोश्रो तहको नियामक आवश्यकता र औचित्य' विषयक छलफल कार्यक्रममा मन्त्री अधिकारीले केही सहकारीको कमजोरीका नाममा सहकारी नै गलत हो भन्ने मान्यतालाई स्वीकार गर्न नसकिने स्पष्ट पारे ।
उनले सहकारीको नियमन सुपरीवेक्षण गर्न शक्तिशाली निकाय गठन गर्नुपर्ने बताए । तीनखम्बे अर्थनीतिको महत्वपूर्ण हिस्सा ओगटेको सहकारी क्षेत्र केही व्यक्तिको बदमासीका कारण बदनाम हुन पुगेको भन्दै यसको नियमन सुपरीवेक्षण गर्न शक्तिशाली निकाय गठन गर्नुपर्ने बताएका हुन ।
उनले सहकारी सम्बन्धी एकीकृत ऐन बनाउने तयारी भइरहेको जानकारी पनि दिए । नेपाल जस्तो सानो मुलुकमा धेरै संख्यामा सहकारीको जरुरी छ वा छैन भन्ने प्रश्न देखिएको उल्लेख गर्दै उनले भएकालाई पनि मर्ज गर्नुपर्ने बारेमा पनि छलफल हुनु जरुरी रहेकाे बताए ।
मन्त्री अधिकारीले संस्था वा व्यक्ति अनुशासित हुन नसक्दा सहकारीमा समस्या देखिएको धारणा राखे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij