Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित

उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित

  • 160
    SHARES
  • उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित

    सर्लाही । उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो ।

    मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गरे । प्रति किलो ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका-४, का किसान राम विश्वास महतोले बताए ।

    ‘धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो’, उनले भने, ‘अहिले सबै लगानी डुब्यो ।’ बागमती र बरहथवाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ ।

    यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई यामसम्म उन्नत जातको मकै रोप्ने गरेका छन् ।  प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गरे ।

    उनले गत मङ्सिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताए । उनका अनुसार घोगा ठूलो लागे पनि दाना लागेको छैन ।

    महँगो बीउसँगै विशेष किसिमले  मलखाद हालेर  लगानी गरेको मकै नफलेपछि किसान छागाँबाट खसेजस्तै भएका छन् । किसानलाई गुणस्तरहीन मकैको बीउ बिक्री गरेर ठगी गरेको बरहथवा-५ कि  ललिता साहको आरोप छ । मकैमा दाना नलागे पछि आफूहरु संकटमा परेको उनले गुनासो गरे ।

    उन्नत जातको मकै खेतीका लागि प्रतिकट्ठा तीन हजारदेखि तीन हजार पाँच सयसम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन् ।

    जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी छ । उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी नुजिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन् ।

    मङ्सिरका पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा  समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिए ।

    बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ । नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समयअगावै मकै रोपेका कारण समस्या भएको दाबी गरे ।

    मकैको परागसेचनको समयमा धेरै चिसो भएको उनले दाबी छ । ‘किसानले मकै रोप्न हतार गर्नुभयो’, उनले भने, ‘कम्पनीले मकै रोप्ने समय जानकारी गराउँदा अटेर गर्नुभएको देखियो ।’

    मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिकतिरै रोपिएको उनको दाबी छ । दाना नलागेका किसानको विवरण संकलन गरेर भारतस्थित कम्पनीमा  जानकारी गराइएको उनले बताए ।

    किसानलाई कसरी राहत पुर्याउन सकिन्छ भनेर आफूहरुले अनुगमन गरिरहेको उनले बताए । नगरपालिकास्थित कृषि शाखाले क्षतिको विवरण संकलन गरिरेहेको छ ।

    किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरुले  विवरण संकलन सुरु गरेको र एक दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेशकुमार झाले जानकारी  दिए ।

    अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि छ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो ।

    जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, शंकरपुर, राजघाट, हजरिया, मुर्तियालगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ ।

    जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिको छभने यहाँ ५ दशमलव ३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताए ।

  • सम्बन्धित विषय:

  • # मकै

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij