वेबटिभी खबर
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिएका छन ।
तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण हुने ज्येष्ठ नागरिक भवनको आज शिलान्यास गर्दै राष्ट्रपति पौडेलले विकास निर्माणमा एकजुट हुन आफूले राजनीतिक दलका नेताहरुलाई भन्ने गरेको स्मरण गरे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको १५ करोड लगानीमा निर्माण हुन लागेको १८ कोठे भवनको राष्ट्रपति पौडेलले शिलान्यास गरेका हुन । तनहुँको गाइघाट क्षेत्रको विगतको अवस्थाबारे चित्रण गर्दै उनले पञ्चायतका कठिन दिनहरुमा आफूहरु त्यहाँ संगठन निर्माण गर्न जाँदा गरिबी र अभावले खानसमेत नपाइने अवस्था रहेको स्मरण गर्दै लोकतन्त्रपछि त्यस क्षेत्रले काँचुली फेरेको बताए ।
गाइघाटमाथिको एउटा वडामा मात्रै पनि करोडौको सुन्तला फल्ने गरेको र त्यसलाई बजारसम्म पुर्याउन त्यहाँ पुलको आवश्यकता रहेको उनको भनाइ छ । राष्ट्रपति पौडेलले पवित्र तपोभूमि कालीगण्डकी र त्रिशूलीको संगम देवघाटमा ज्येष्ठ नागरिक भवन बनेपछि त्यो भवन पूर्वीय दर्शन र वेदान्त चिन्तनको छलफल गर्ने स्थल बन्ने धारणा व्यक्त गरे ।
राष्ट्रपति पौडेलले प्रतिगामीहरुको स्वर्ग अतितमा हुने र लोकतन्त्रवादी तथा समाजवादीहरूको स्वर्ग भविष्यतिर हुने समेत उल्लेख गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij