वेबटिभी खबर
संखुवासभा । पूर्वी जिल्ला संखुवासभामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । भौगोलिक विकटताका कारण दुर्गम गाउँका विद्यालयमा पाठ्यपुस्तक समयमा नपुग्ने समस्या हटाउन पुस्तक व्यवसायीले पाठ्यपुस्तक उपलब्ध गराएका हुन् ।
यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने संखुवासभामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो ।
नयाँ शैक्षिक सत्र सुरु नहुँदै संखुवासभाका ग्रामीण क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको बिक्रेताले जनाएका छन् ।
संखुवासभा सदरमुकाम खाँदबारीका पुस्तक पसल व्यवसायीले सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण थालेको हो ।
सामूहिक लगानीमा बिक्री कक्ष सञ्चालन गरी पाठ्यपुस्तक उपलब्ध गराउन थालेको व्यवसायी कृष्ण भण्डारीले बताए । हालसम्म ६० प्रतिशत बढी पाठ्यपुस्तक खरिद गरेर लगिसकेको व्यवसायी भण्डारीले बताए । अन्य स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका भण्डारीको भनाइ छ ।
संखुवासभामा प्रतिकक्षा दुई हजार पाँच सयका दरले पुस्तक आवश्यक पर्छ । सरकारले जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो ।
विद्यालय सञ्चालन हुनुपहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको छ । यस वर्ष जिल्लामा वैशाख १ गतेभित्रमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij