वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले पार्टीका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका कारण मुलुकमा शान्ति प्रक्रिया र संविधान निर्माण भएको बताएका छन् ।
कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले मंगलबार आयोजना गरेको ‘गिरिजाप्रसाद कोइरालाः प्रजातन्त्रका लागि संघर्ष’ विषयक भर्चुअल अन्तक्रियामा निधिले यस्तो बताएका हुन् ।
निधिले गिरिजाबाबुको कुशल नेतृत्वको कारण मुलुकमा शान्ति प्रक्रिया सम्पन्न भई संविधान निर्माण भएको बताए । उपसभापति निधिले संगठन विस्तारका लागि उनले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे ।
कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले गिरिजाबाबुले गरेको संगठनबाट अहिलेसम्म पार्टी सञ्चालन भएको बताइन् । प्रतिनिधिबाट संविधान निर्माण गर्ने गिरिजाबाबुको सपना सुशील कोइरालाले पूरा गरेको उल्लेख गरिन् ।
फाउण्डेशनका सदस्य-सचिव अतुल कोइरालाले सरकार र पार्टीमा गिरिजाबाबुजस्तो नेताको अभाव खड्किएको बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij