टोकियो । जापानमा दुई सैन्य हेलिकप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएको जापानी अधिकारीहरुले बताएका छन् ।
जापानको आत्मरक्षा बलका प्रवक्ताले शनिबार रातिको घटनाको पुष्टि गर्दै एक जनाको उद्धार गरिए पनि पछि उनको मृत्यु भएको बताए ।
‘उद्धारकर्मीहरूले समुद्रमा विमानको भाग भएको मानिएको कुरा भेट्टाएका छन् र हामीले दुई वटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको विश्वास गरेका छौँ,’ रक्षामन्त्री मिनोरु किहाराले पत्रकारहरूसँग भने, ‘अहिले यसको कारण थाहा भएको छैन तर सबैभन्दा पहिला हामी मानिसहरूको उद्धारका लागि प्रयास गर्नेछौँ ।’
धेरै घन्टापछि उद्धार गरिएका चालक दलका सदस्यको मृत्यु भएको थियो । ‘मन्त्रालयले एक अर्काको नजिकका स्थानहरूमा उडान रेकर्डरको खोजी गरेको छ र दुवै हेलिकप्टर ठोक्किएको हुनसक्ने धेरै सम्भावना छ,’ मन्त्री किहाराले भने ।
हेलिकप्टर प्रशान्त महासागरमा इजु टापु समूह नजिकै रातिको समयमा पनडुब्बीहरूको सामना गर्ने प्रशिक्षणका क्रममा दुर्घटना भएको जस्तो देखिएको अधिकारीहरूले बताएका छन् ।
सामुद्रिक आत्मरक्षा बलका प्रमुख रयो सकाईले पत्रकारहरूसँग भने, ‘उडान रेकर्डरको विश्लेषण भइरहेको छ, अधिकारीहरूले अभ्यासमा संलग्न रहेको तर दुर्घटनामा सहभागी नभएको तेस्रो हेलिकप्टरका चालक दलका सदस्यहरूको अन्तरवार्ता लिइरहेका छन् ।’
वरपरका जल क्षेत्रमा कुनै अन्य विमान वा जहाज नभएकाले घटनामा कुनै अन्य देशको संलग्नताको सम्भावना नभएको बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij