वेबटिभी खबर
सिरहा । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित आठ वर्षअघि निर्माण सुरू गरिएको सिरहाको लहानस्थित मालपोत कार्यालय भवन अधुरै छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय राजविराज सप्तरीले दुई वर्षमा सम्पन्न गर्ने गरी २०७२ असार ७ मा मृत संजीवनी, गहिल जेभी राजविराजसँग सम्झौता गरेको थियो । मूल्य अभिवृद्धि करबाहेक दुई करोड ९१ लाख ८७ हजार दुई सयमा निर्माण गरिने भनिएको सो भवनको कार्यप्रगति हालसम्म करिब ६५ प्रतिशत मात्रै छ ।
भवन निर्माण आयोजना राजविराका इन्जिनियर उदय चौधरीले सडक डिभिजन कार्यालय लहान र मालपोत कार्यालय लहानबीच जग्गाको स्वामित्व विवाद, विभागबाट भवनको ‘भेरिएसन आदेश’ स्विकृतिमा ढिलाइजस्ता कारणले आठ वर्षसम्म पनि भवन निर्माण नभएको बताए ।
निर्माण ब्यवसायी सन्तोष दासले सडक डिभिजन कार्यालय र मालपोत कार्यालय लहानबीचको जग्गा विवादका कारण पूर्वनिर्धारित स्थान सार्नुपरेकाले निर्माणमा ढिलाइ भएको दावी गरे । ‘अहिले जुन ठाउँमा मलपोत कार्यालय भवन बनिरहेको छ, त्यसको दक्षिणतर्फ भवन निर्माणका लागि नक्सांकन गरिएको थियो । ठाउँ परिर्वतन भएपछि भवन निर्माणका लागि पुनः डिजाइन स्वीकृति माग्दा दुई वर्षसम्म काम अगाडि बढ्न सकेन’, इन्जिनियर चौधरीले भने, ‘एकतला निर्माणपछि दोस्रो तलामा निर्माण सामग्रीको लागत विवरण नै फरक परेपछि ‘भेरिएसन’ स्वीकृतिका लागि फेरि डेढ वर्ष कुर्नुपर्यो । त्यसपछि कोरोना महामारी, भुक्तानीमा ढिलाइजस्ता कारणले निर्माण समयमा हुनसकेन ।’
अब अन्तिम पटकका लागि आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गर्नेगरी म्याद थपको पहल भइरहेको पनि चौधरीको भनाइ छ । २०५४ सालमा स्थापना भएको लहान मालपोत कार्यालय सुरूदेखि नै निजी भवन भाडामा लिएर सञ्चालन भइरहेको छ ।
कार्यालय प्रमुख दिपेन्द्र नारायण चौधरीले समयमा भवन निर्माण नहुँदा बर्सेनी छ लाखभन्दा बढी भाडा तिर्नुपरेको र पर्याप्त स्थानको अभावमा दैनिक कार्यसञ्चालनमा समेत कठिनाइ भइरहेको बताए । समस्या समाधान गरेर छिटो भवन निर्माणका लागि मौखिक तथा लिखितरूपमा ताकेता गर्दासमेत काम अगाडि बढ्न नसकेको उनको भनाइ छ ।
लहान मालपोत कार्यालयको सेवा क्षेत्रमा गोलबजार, लहान, धनगढीमाई र सुखिपुर नगरपालिका तथा नवराजपुर, भगवानपुर, बरियारपट्टी, सखुवानन्कारकट्टी र लक्ष्मीपुरपतारी गाउँपालिका गरी नौ पालिका पर्दछन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij