वेबटिभी खबर
वीरगञ्ज । वीरगञ्ज महानगर क्षेत्रमा सुक्खायामका कारण चापाकल सुक्न थालेपछि खानेपानीको चर्को अभाव देखिएको छ ।
घर–घरमा गाडिएको चापाकल सुकेर खानेपानीको अभाव भएसँगै नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जमा नयाँ धारा जडानका लागि सर्वसाधारण आउने क्रम बढेको छ ।अहिले कार्यालयमा दैनिक सयौँको सङ्ख्यामा नयाँ धारा जडानको लागि निवेदन लिएर आउने गरेका छन् ।
खानेपानी संस्थान शाखा कार्यालयका वितरण प्रमुख सञ्जीवकुमार यादवले गत वर्षदेखि वीरगञ्ज बजार क्षेत्रका अधिकांश चापाकल सुकेसँगै सर्वसाधारण खानेपानीको लाइन जडान गर्न आउन थालेका बताए ।
‘विगतमा घरमा गाडिएको चापाकलमा पर्याप्त पानी आउँदासम्म खानेपानीको धारा जडानमा स्थानीयवासीको खासै रुचि देखाउँदैन्थे । गत वर्षको हिउँदेयामदेखि चापाकल सुकेर पानीको संकट महसुस गरेपछि अहिले खानेपानी संस्थानमा धारा जोड्नेको घुइँचो नै लाग्ने गरेको छ’, वितरण प्रमुख यादवले भने ।
वितरण प्रमुख यादवले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा मात्रै दुई हजार चार सयभन्दा धेरै नयाँ धारा जडान भएको जानकारी दिए । ‘गत आवको अन्त्यसम्म महानगर क्षेत्रमा आठ हजार चार सय घरधुरी मात्रै ग्राहक थिए’, वितरण प्रमुख यादवले भने, ‘खानेपानीकोे चर्को संकट हुन थालेपछि अहिले कूल ग्राहक सङ्ख्या १० हजार आठ सयभन्दा धेरै पुगिसकेको छ।’
वडा कार्यालयको सिफारिसमा संस्थानले छ हजार तीन सय ७० लिएर नयाँ धारा जडान कार्य अघि बढाउँदै आइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij